काठमाडौँ । सङ्घीय अस्पतालका लागि खरिद गरिएको सफ्टवेयर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले संघीय अस्पतालका लागि खरिद गरिएको इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सफ्टवेयर र ‘मेरो अस्पताल’ एप हालसम्म प्रयोगमा नआएको उल्लेख गर्दै जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने ठहर गरेको छ ।
सन् २०७७/७८ मा सो सफ्टवेयर निर्माणबापत आपूर्तकलाई ४९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको थियो । तर, खरिद गरिएका सफ्टवेयरहरू अहिलेसम्म कार्यान्वयनमा नआएको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३ मा ‘आवश्यकताको पहिचान बेगर कुनै वस्तु वा सेवा खरिद गर्न नपाइने’ उल्लेख छ । तर लेखापरीक्षणका क्रममा मन्त्रालयका विभिन्न महाशाखामा १५ प्रकारका सफ्टवेयर खरिद तथा अनुदानमा प्राप्त भएको देखिए पनि तीमध्ये धेरैजसोको प्रभावकारी प्रयोगबारे स्पष्ट विवरण नपाइएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
“...यसरी आवश्यकताको पहिचान बेगर सफ्टवेयर खरिद गरी रकम भुक्तानी गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्दछ,” महालेखाले भनेको छ ।