close

२०० मेगापिक्सेल क्यामेरा सहित आउँदै अ‍नर ४०० र ४०० प्रो, कम्पनीले वेबसाइटमै देखायो विशेषता

टेकपाना टेकपाना

जेठ १, २०८२ ११:१२

२०० मेगापिक्सेल क्यामेरा सहित आउँदै अ‍नर ४०० र ४०० प्रो, कम्पनीले वेबसाइटमै देखायो विशेषता

काठमाडौँ । अनर ब्राण्डका दुई नयाँ फाइभजी स्मार्टफोन अनर ४०० र अनर ४०० प्रो आगामी मे २२ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछन् । कम्पनीले यी स्मार्टफोन सार्वजनिक हुनुअघि नै आफ्नो वेबसाइटमा लिस्टिङ गर्दै केही विवरण खुलाएको छ ।

अनर ४०० प्रो मा १/१.४ इन्चको सेन्सरसहित २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । यसमा ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा (थ्री एक्स गुणा अप्टिकल जुम र ओआईएस सहित) र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा (११२ डिग्री फिल्ड अफ भ्यू) समेत छ । सेल्फीका लागि ५० मेगापिक्सेल क्यामेरा दिइएको छ । 

यस फोनमा ५,००० निट्ससम्मको पिक ब्राइटनेस, १२८०x२८०० रेजोलुसन, १२० हर्ज रिफ्रेस रेट र मिनिमम १.५ निट ब्राइटनेससहितको स्क्रिन छ । त्यस्तै स्न्यापड्रागन ८ जेन थ्री चिपसेट, १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज दिइएको छ । ६,००० एमएएच ब्याट्री भएको फोनमा १०० वाट वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङ सपोर्ट छ । 

फोनले आईपी६८ र आईपी६९ रेटिङ पाएको छ । यसमा एनएफसी, डुअल स्पिकर, आईआर ब्लास्टर जस्ता सुविधा पाउन सकिन्छ । फोनको तौल २०५ ग्राम र मोटाइ ८.१ मिलिमिटर छ । यो मिडनाइट ब्ल्याक, लुनार ग्रे र टाइडल ब्लु कलरमा उपलब्ध हुनेछ । 

अर्कोतर्फ अनर ४०० पनि प्रो मोडेलकै जस्तो क्यामेरा सेटअप छ । तर यसमा टेलिफोटो क्यामेरा छैन । स्न्यापड्रागन सेभेन जेन थ्री चिपसेटमा चल्ने फोनमा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको छ । स्क्रिनको अधिकतम ​ब्राइटनेस प्रो मोडेलकै समान छ, तर रेजोलुसन अलिकति फरक (१२६४x२७३६) छ । 

अनर ४०० मा पनि ६,००० एमएएच ब्याट्री छ । तर यसमा ८० वाट वायर्ड चार्जिङ मात्र दिइएको छ । यसको तौल १८४ ग्राम र मोटाइ ७.३ मिलिमिटर छ । ब्ल्याक, गोल्ड र सिल्भर कलरमा उपलब्ध हुने यो मोडेल आईपी६६ रेटिङसहित आउनेछ, जसमा कम्पनीले फाइभ-स्टार ड्रप रेसिस्टेन्स पनि राखेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८२ ११:२८