close

मोबाइल हराए के गर्ने ? यसो भन्छ नेपाल टेलिकम

टेकपाना टेकपाना

बैशाख ३१, २०८२ ७:४६

मोबाइल हराए के गर्ने ? यसो भन्छ नेपाल टेलिकम

काठमाडौँ । मोबाइल फोन आजको डिजिटल जीवनशैलीको अभिन्न हिस्सा बनेको छ । व्यक्तिगत सम्पर्क, बैंकिङ पहुँच, सामाजिक सञ्जाल, तस्बिर तथा अन्य निजी विवरण सबै एउटै सानो डिभाइसमा समेटिएका छन् । यति महत्त्वपूर्ण डिभाइस हराए स्वभावैले प्रयोगकर्ता आत्तिने गर्छन् । तर, यस्तो अवस्थामा सजग भएर आवश्यक कदम चाल्न सकेमा ठुलो क्षति हुनबाट बच्न सकिन्छ ।

मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामबारे जानकारी दिँदै मंगलबार एक सूचनामार्फत सजग हुन आग्रह गरेको छ । सूचना अनुसार मोबाइल हराउँदा सबैभन्दा पहिला सिम कार्ड ब्लक गर्नुपर्छ ।

सिम ब्लक नगरेसम्म हराएको मोबाइलमा रहेको सिम प्रयोग गरेर अरूले तपाईंको व्यक्तिगत सूचना, बैंकिङ डेटा वा सामाजिक सञ्जाल दुरुपयोग गर्न सक्छन् । यस्तो जोखिमबाट जोगिनका लागि टेलिकमले सिम ब्लक गर्ने तरिका सिकाएको छ:

  • सबैभन्दा पहिले नेपाल टेलिकमको कुनै पनि नम्बरबाट १४१५ डायल गर्नुहोस् । 

  • त्यसपछि फोनमा आउने निर्देशनहरू ध्यानपूर्वक सुनी सोही अनुसार अगाडि बढ्नुहोस् । 

  • प्रक्रिया अनुसार हराएको मोबाइल नम्बर र त्यससँग सम्बन्धित सेक्युरिटी कोड (SCODE) इन्ट्री गर्नुहोस् । यसरी हराएको फोनमा रहेको सिम ब्लक गर्न सकिन्छ ।

यदि तपाईंले आफ्नो सेक्युरिटी कोड पहिले नै सुरक्षित राख्नुभएको छ भने सिम ब्लक गर्ने प्रक्रिया छिटो र सजिलो हुन्छ । तर, सेक्युरिटी कोड नभएमा वा सम्झन नसकेमा थप प्रमाणसहित टेलिकम ग्राहक सेवा केन्द्रमा जानुपर्ने हुन सक्छ ।

मोबाइल फेला परे वा नपरे गर्ने ?

यदि हराएको मोबाइल तपाईंले फेला पार्नुभयो भने नेपाल टेलिकमलाई सम्पर्क गरेर सिम पुनः सक्रिय गराउन सकिन्छ । सिम पुनः सक्रिय गर्दा तपाईंसँग पहिलेको प्रमाण वा SCODE हुनुपर्छ । मोबाइल फेला परेको खण्डमा फेरि १४१५ डायल गरेर निर्देशन पालना गर्दै सिम पुन सक्रिय (रिएक्टिभेट) गर्न सकिन्छ ।

यदि मोबाइल फेला पार्न सक्नुभएन भने नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन टेलिकमले अनुरोध गरेको छ । प्रहरीको सहायता लिँदा मोबाइल खोजी प्रक्रिया सजिलो हुनुका साथै आफ्नो सुरक्षाको लागि पनि उपयोगी हुन्छ । अर्कोतर्फ, आवश्यक कागजातसहित नजिककै नेपाल टेलिकम कार्यालयमा उपस्थित भई सोही नम्बरको सिम निकाल्न सकिनेछ ।

मोबाइलको सेक्युरिटी कोड के हो र कसरी प्राप्त गर्ने ?

सेक्युरिटी कोड (SCODE) भनेको तपाईंको सिमकार्ड र त्यससँग सम्बन्धित सेवाहरूको सुरक्षा सुनिश्चित गर्न प्रयोग गरिने गोप्य कोड हो । सिम ब्लक गर्न, पुनः सक्रिय गर्न वा ब्यालेन्स ट्रान्सफर गर्न यसै कोडको प्रयोग गरिन्छ ।

सेक्युरिटी कोड प्राप्त गर्ने तरिका:

  • आफ्नो मोबाइलबाट SCODE लेखी 1415 मा एसएमएस पठाउनुहोस् । 

  • कहिलेकाहीँ छोटो नम्बरमा एसएमएस नजान नसक्ने अवस्थामा 9771415 मा एसएमएस गर्नुहोस् । 

  • प्राप्त भएको SCODE नम्बरलाई सुरक्षित ठाउँमा टिपेर राख्नुहोस् र कसैसँग पनि शेयर नगर्नुहोस्- यसको दुरूपयोग हुन सक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ ८:३४