काठमाडौँ । केही दिनयता सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा ‘व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना’ शीर्षकसहितका पोस्ट भाइरल भइरहेका छन् । वैशाख ३१ गते बुधबारदेखि फैलिएका यस्ता पोस्टमा नेपाल सरकारले सामाजिक सञ्जालसम्बन्धी नयाँ सञ्चार नीति लागु गरेको भन्दै ‘११ बुँदे चेतावनी’ दिइएको छ ।
पोस्टमा ‘अबदेखि ह्वाट्सएपको भ्वाइस तथा भिडियो कलहरू रेकर्ड गरिने’,‘सामाजिक सञ्जालहरू सरकारको निगरानी प्रणालीसँग जोडिने’, ‘आपत्तिजनक सन्देश पठाउनेहरूलाई बिना चेतावनी पक्राउ गरिने’ जस्ता दाबीहरू समावेश छन् । तर, टेकपाना फ्याक्ट-चेकले यस्तो पोस्ट पूर्ण रूपमा भ्रामक रहेको र नेपाल सरकारले कुनै पनि सूचना जारी नगरेको पत्ता लगाएको छ ।
दाबी
जेठ १ गते ‘जोक्स नेपाल’ नामको फेसबुक पेजले मध्यान्ह १२:४० मा **व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना* शीर्षकसहित विभिन्न ११ बुँदे नियमहरू पोस्ट गरेको देखियो । उक्त पोस्टमा नेपाल सरकारले ‘भोलिदेखि सामाजिक सञ्जाल सम्बन्धी नयाँ सञ्चार नीति लागु गरिने’ भनेर दाबी गरिएको छ ।
उक्त पोस्टमा अबदेखि सबै ह्वाट्सएप भ्वाइस र भिडिओ कल रेकर्ड गरिने, ती रेकर्डहरू सरकारद्वारा सुरक्षित रूपमा सङ्कलन गरिने, फेसबुक–ट्वीटर–इन्स्टाग्राम लगायत सम्पूर्ण सामाजिक सञ्जालहरूमा तीव्र निगरानी गरिने र प्रयोगकर्ताका उपकरणहरू सूचना तथा सञ्चार मन्त्रालयको निगरानी प्रणालीसँग जोडिने लगायतका नियमहरू उल्लेख गरिएको छ । १० लाख लाइक र ११ लाख फलोअर भएको ‘जोक्स नेपाल’ ले यो पोस्टमा यो सामग्री तयार पार्दासम्म ९०५ लाइक, २०४ कमेन्ट आएका छन् भने १०८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल लिंक र अर्काइभ लिंक
यसपछि हामीले ‘व्हाट्सएप तथा अन्य विद्युतीय सञ्जाल’ किवर्ड राखेर फेसुबकमा सर्च गर्दा यस्तै अन्य थुप्रै पोस्ट भेटिए । केही प्रयोगकर्ताले नेपाली न्युज पोर्टल अनलाइन खबरले तयार गरेको सामाजिक सञ्जाल नियमन विधेयक शीर्षकको ग्राफिक्ससहित स्टाटस शेयर गरेको देखिन्छ । हेर्नुहोस् पोस्टहरू:
यी सबै पोस्टहरू एउटै शैलीमा शेयर भइरहेका छन् । धेरैजसो पोस्टमा प्रयोगकर्ताले शेयर गरेको भन्दा पनि पोस्टलाई कपि-पेस्ट गरेका छन् । अधिकांश प्रयोगकर्ताले ती पोस्टलाई वास्तविक मानेर सरकारप्रति आक्रोश पोख्दै कमेन्ट तथा शेयर गरेको पनि भेटियो ।
अनुसन्धान
टेकपाना फ्याक्ट-चेक डेस्कले सामाजिक सञ्जालमा भाइरल पोस्टको सत्यता पत्ता लगाउन अनुसन्धान थाल्यो । सबैभन्दा पहिले यो पोस्ट कसरी फैलिरहेको छ भन्ने बुझ्न कहाँ-कहाँ कसरी शेयर भइरहेको छ भन्ने खौज्यौँ । यसका लागि फेसबुकमा ‘व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना’ भनेर सर्च गर्यौँ । टेकपाना अनुसन्धानमा वैशाख ३१ गते बिहान ११:३० मा ‘दिपशिखा शर्मा’ नामको अकाउन्टबाट साइबर ब्युरोको सूचना सहित पोस्ट शेयर भएको देखियो । हेर्नुहोस् ओरिजिनल लिंक र अर्काइभ लिंक ।
ब्युरोको सूचना र उनको पोस्टमा खास तालमेल भने देखिँदैन । सबैभन्दा पहिलो कुरा यो सूचना ब्युरोले २८ चैत, २०८१ मा सार्वजनिक गरेको थियो । ब्युरोले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट हुने ठगीको विषयलाई लिएर आमनागरिकलाई सचेत रहनका लागि उक्त सूचना जारी गरेको थियो ।
झट्ट हेर्दा सूचनालाई सरकारले जारी गरेको सामाजिक सञ्जाल सम्बन्धी कानुनको सूचना जस्तै गरी ११ बुँदे सूचना शेयर गरिएको छ । प्रयोगकर्ताहरूले पनि सूचना नै नहेरी उक्त पोस्ट शेयर गरेको देखिन्छ । हेर्नुहोस् ब्युरोको ओरिजिनल पोस्ट ।
यस्तै केही प्रयोगकर्ताले भने अनलाइन खबरको ग्राफिक्ससहित पोस्ट शेयर गरेका छन् । वास्तवमा शेयर गरिएको अनलाइन खबरको ग्राफिक्स १५ माघ, २०८१ मा ‘सामाजिक सञ्जाल नियमन विधेयक: कुन कसुरमा कस्तो सजाय प्रस्ताव?’ भन्ने शीर्षकमा प्रकाशित भएको समाचारमा प्रयोग भएको ग्राफिक्स हो । उक्त ग्राफिक्समा सामाजिक सञ्जाल नियमनका लागि प्रस्ताव गरिएका बुँदा उल्लेख छन् ।
यस्तै सरकारले कुनै पनि नीति लागु गर्नुपूर्व सूचना जारी गर्छ । यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रहरी मातहतका कुनै पनि निकायले सूचना जारी गरेको भेटिएन । यस्तै नेपाल फ्याक्ट चेकले समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका यी पोस्ट भ्रामक रहेको पुष्टि गरेको छ ।
भ्वाइस वा भिडिओ कल रेकर्डको सन्दर्भमा ह्वाट्सएप एक इन्क्रिप्टेड मेसेजिङ एप हो, जसकारण ह्वाट्सएपमा भए गरेका कुनै पनि कलहरू रेकर्ड हुँदैन । ह्वाट्सएपले आफ्नो नीतिमार्फत पनि प्रयोगकर्ताबिच भएका कुनै पनि कुराकानीमा कम्पनी आफ्नै पनि पहुँच नहुने उल्लेख गरेको छ । ह्वाट्सएपको नीति अनुसार यसले प्रयोगकर्ताको नम्बर र अकाउन्ट खोल्नका लागि आवश्यक आधारभूत विवरण मात्र प्रयोग गर्छ । मेसेजको हकमा भने डेलिभर नभएको, फर्वार्ड गरिएका मिडिया फाइल मात्र ह्वाट्सएपको सर्भरमा स्टोर हुन्छ । त्यो पनि इन्क्रिप्टेड हुन्छ । यसको अर्थ, जुन जानकारीमा कम्पनीको आफ्नै पहुँच हुँदैन त्यसमा सरकारले पहुँच पाउन सक्दैन ।
यस्तै सरकारले प्रयोगकर्ताको डेटा मागेको खण्डमा पनि कम्पनीले सरकारसँग भएको सम्झौताको आधारमा मात्रै डेटा उपलब्ध गराउने भनेर नीतिमा उल्लेख छ । यद्यपि यसमा पनि कुनै अडियो वा भिडिओ कलको रेकर्ड नै उपलब्ध गराउने भन्ने सम्बन्धमा केही उल्लेख छैन ।
यस्तै टेकपानाको अनुसन्धानमा यस्ता पोस्टमार्फत् झूटा सुरक्षा संकेत (जस्तै: तीन ओटा नीलो टिक, रातो टिक आदि) को वर्णन गर्दै प्रयोगकर्ताहरूलाई त्रास फैलाउने प्रयास गरिएको पाइएको छ । ह्वाट्सएपमा कुनै पनि मेसेज सिन भएको थाहा पाउने तीन ओटा विधिमात्र छन् । पहिलो ग्रे टिकले मेसेज गइसकेको जनाउँछ । दुई ओटा ग्रे टिकले मेसेज डेलिभर भइसकेको जनाउँछ भने दुई नीलो टिकले मेसेज पाउने व्यक्तिले मेसेज पढ्यो भनेर जनाउँछ । यी बाहेक ह्वाट्सएपको मेसेज सिन भए/नभएको, सरकारले हेरे/नहेरेको वा कारबाही गरे/नगरेकोसँग सम्बन्धित कुनै पनि टिकको व्यवस्था गरिएको पाइएन ।
दाबी
नेपाल सरकारले ह्वाट्सएपको अडियो र भिडिओ कल रेकर्ड गर्ने ।
दाबीकर्ता
‘दिपशिखा शर्मा’, ‘गोपाल पाल्पाली आचार्य’, ‘बिष्णु जंग पाण्डे’, ‘जोक्स नेपाल’ लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
नेपाल सरकारले ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका अडियो/भिडिओ कल रेकर्ड गर्ने, सामाजिक सञ्जालमा सरकारको निगरानी रहने लगायतका प्रचार भइरहेको पोस्टमा कुनै पनि सत्यता छैन । इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचरका कारण ह्वाट्सएप अर्थात् कम्पनी आफैँले पनि प्रयोगकर्ताको कुनै गतिविधि रेकर्ड गर्न सक्दैन । ह्वाट्सएपको नीति अनुसार विश्वमा कुनै पनि देशमा प्रयोगकर्ताको अडियो, भिडिओ कल रेकर्ड गर्ने व्यवस्था छैन ।
निष्कर्ष
‘दिपशिखा शर्मा’, ‘गोपाल पाल्पाली आचार्य’, ‘बिष्णु जङ्ग पाण्डे’, ‘जोक्स नेपाल’ पेज लगायतले फेसबुकमा शेयर गरेको पोस्टमा कुनै सत्यता छैन । सरकारले ह्वाट्सएप तथा अन्य सामाजिक सञ्जालका अडियो तथा भिडिओ कल रेकर्ड गर्ने भन्ने कुनै पनि प्रकारको निर्णय लिएको छैन । सामाजिक सञ्जालमा शेयर भएका पोस्टमा नेपाल सरकार र नेपाल प्रहरीको लोगो, साथै ‘अनलाइन खबर’ को पुरानो ग्राफिक्स प्रयोग गरी पोस्टलाई विश्वसनीय देखाउने प्रयास गरिएको छ । तर यी सबै सामग्री आधिकारिक स्रोतबाट प्रमाणित छैनन् । सावधानीपूर्वक हेर्दा यी पोस्ट समाजमा त्रास फैलाउने नियतले उत्पादन तथा शेयर भइरहेका छन् । विश्वको कुनै पनि देशमा आजसम्म ह्वाट्सएप कल वा भिडिओ कल रेकर्ड भएको भन्ने छैन । ह्वाट्सएप आफैँले पनि प्रयोगकर्ताको डेटामा आफूहरूको पहुँच नहुने स्पष्ट गरेका कारण नेपाल सरकारले ह्वाट्सएपको कल वा भिडिओ कल रेकर्ड गर्ने दाबी भ्रामक हो ।