काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्पललाई भारतमा आईफोन उत्पादन रोक्न र अमेरिकामै उत्पादन बढाउन आग्रह गरेका छन् । एप्पलले भारतमा उत्पादित आईफोनहरू अमेरिका आयात गरेर अमेरिकी बजारको माग पूरा गर्ने योजना ल्याएपछि ट्रम्पले यस्तो अनुरोध गरेका हुन् ।
कतारको दोहामा आयोजित एक सम्मेलनमा बोल्दै ट्रम्पले आफूले कुकलाई भेटेर भारतमा उत्पादन नगर्न, बरु अमेरिकामै उत्पादन बढाउन भनेको बताए ।
“मैले भनेँ- टिम, तिमी मेरो साथी हौ, मैले तिमीलाई सधैँ राम्रो व्यवहार गरेँ । तिमी ५०० अर्ब डलर लगानी गर्दैछौ । तर अहिले तिमीले भारतभरि उत्पादन गरिरहेको सुनिएको छ । म चाहन्न तिमी भारतमा बनाऊ । तिमी भारतको लागि बनाउन चाहन्छौ भने अलग कुरा हो, तर भारत विश्वमै सबैभन्दा बढी भन्सार कर लगाउने देश हो,” ट्रम्पले भने ।
विश्वका अधिकांश देशहरूसँग व्यापारमा चर्को शुल्क लगाउने नीति लिएका ट्रम्पले एप्पलले अब अमेरिकामा उत्पादन बढाउने बताएका छन् । यद्यपि उनले यसको समयसीमा वा कुनै विशेष जानकारी दिएनन् । यस विषयमा एप्पलले पनि तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि एप्पलले आगामी चार वर्षमा ५०० अर्ब डलर लगानी गरी अमेरिकाभित्रै विभिन्न स्थानमा उत्पादन केन्द्र खोल्ने, २० हजारभन्दा बढी कर्मचारी भर्ना गर्ने र उत्पादन तालिम केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेको थियो ।
ट्रम्पको यो टिप्पणी भारतले एप्पलका चिपहरू उत्पादन गर्न ४३ करोड ५० लाख डलरको फक्सकन परियोजनालाई स्वीकृति दिएको एक दिनपछि आएको हो । कम्पनीले चीनमाथिको निर्भरता कम गर्न भारतमा उत्पादन बढाउने र वैकल्पिक उत्पादन युनिटहरू सिर्जना गर्ने महत्त्वाकांक्षी योजना बनाएको छ ।
ब्लुमबर्गको अप्रिल महिनाको रिपोर्ट अनुसार हाल एप्पलले भारतमा कुल आईफोन उत्पादनको २० प्रतिशत बनाइसकेको छ । फाइनान्सियल टाइम्सले हालै एक समाचारमा एप्पलले सन् २०२६ सम्म अमेरिकामा बेचिने सबै आईफोन भारतबाट आयात गर्ने योजना बनाएको लेखेको थियो ।