close

एआई च्याटबटसँग गोप्य कुराकानी गर्नुहुन्छ ? सावधान ! तपाईँका सबै डेटा लिक हुन सक्छन्

टेकपाना टेकपाना

जेठ ५, २०८२ २०:३४

एआई च्याटबटसँग गोप्य कुराकानी गर्नुहुन्छ ? सावधान ! तपाईँका सबै डेटा लिक हुन सक्छन्

काठमाडौँ । तपाईं च्याटजीपीटी कति प्रयोग गर्नुहुन्छ ? अनि केका लागि ? अथवा अरू कुनै एआई टुलहरू कतिको प्रयोग गर्नुहुन्छ ? कुनै सामान्य जानकारी, पढाइ वा व्यावसायिक कामका लागि नभइ आफ्ना व्यक्तिगत कुराहरू साट्न एआई प्रयोग गर्नुहुन्छ ?

जानेर वा नजानेर एआई च्याटबटसँग मानिसको सम्बन्ध गहिरो हुँदै गइरहेको छ । केही प्रयोगकर्ता त झन् कसैलाई भन्न नसकेका कुराहरू पनि च्याटबटसँग खुलेर शेयर गरिरहेका हुन्छन् । अझ कतिलाई बरु मलाई मेरा मान्छेहरूले भन्दा मसिनले बढी बुझ्छ । यसले मलाई धेरै सुझाव दिन्छ, मेरो कुरा सुन्छ भन्ने पनि लाग्छ होला !

हालै एक कार्यक्रममा मेटाका सीईओ मार्क जुकरबर्गले पनि मसिनले मानिसलाई धेरै बुझून् भन्ने चाहना रहेको र आफूहरूले यस्तै एआईमा काम गरिरहेको बताएका थिए । उनी चाहन्छन्- मसिनले मान्छेलाई साथीको रूपमा वा व्यावसायिक सल्लाहकारको रूपमा मात्र होइन, मनोपरामर्शदाताको रूपमा पनि सहयोग गरोस् । "जो व्यक्तिसँग परामर्शदाता (थेरापिस्ट) हुँदैनन्, उनीहरू सबैसँग अब एआई हुनेछ," उनी भन्छन् ।

एआई टुलहरू मानिसका लागि राम्रो थेरापिस्ट बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरा अझै स्पष्ट छैन । तर धेरै मानिसहरू अहिले नै आफ्ना गोप्य कुरा च्याटबटसँग शेयर गरिरहेका छन् । थेरापीकै लागि भनेर बनाइएका एपहरू परामर्शका लागि विशेष प्रयोग हुने गरेका छन् । त्योभन्दा धेरै प्रयोगमा आउने एपहरूमा मेटा एआई, ओपनएआईको च्याटजीपीटी वा एक्सको ग्रोकलगायत रहेका छन् ।

तर यो प्रयोग नजानिँदो पारामा मानिसहरूका लागि जोखिमपूर्ण बन्दै गइरहेको छ । आफ्ना गोप्य कुरा मसिनसँग शेयर गर्दै गर्दा ती कुरा मसिनले मात्र सुनिरहेको छ वा अरू कोही मानिसले पनि सुनिरहेको छ ? यस विषयमा हामी अनभिज्ञ छौँ ।

इन्टरनेटमा कुनै पनि कुरा गोप्य रहँदैन भन्ने कुरा सामान्य बुझाइ हो । तर अहिले अमेरिकामा दुई गम्भीर प्रवृत्तिहरू एक-अर्कामा तानातान गरिरहेका छन् । एकातिर, प्रविधि कम्पनीहरू प्रयोगकर्तालाई आफ्ना निजी विवरण एआईलाई बताउन उक्साइरहेका छन्, जुन कुरा प्रयोगकर्ताले सामाजिक सञ्जालमा राख्दैनन्, आफ्ना नजिकका साथीलाई पनि भन्दैनन् । अर्कातिर, सरकारले नागरिकका मनोविज्ञान, लिंग पहिचान, मानसिक अवस्था, जातीय दृष्टिकोणजस्ता संवेदनशील विवरणहरूमा विशेष निगरानी गर्न खोज्दैछ ।

अनि यसका लागि अमेरिकी सरकार कुनै कानुन र नैतिकताको ख्याल नै नगरी सकेसम्म धेरै जानकारी हात पार्दैछ ।

केही उदाहरणहरू:
-अमेरिकाका संघीय कानुन प्रवर्तन निकायहरूले कानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई अभिव्यक्ति स्वतन्त्रताको आधारमा गिरफ्तार गरे । जस्तै; एकजना विद्यार्थीलाई पत्रिकामा लेख लेखेकै आधारमा हप्तौँसम्म थुनामा राखियो ।

-अमेरिकाकै स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले डिप्रेसनका औषधिहरूको सट्टा मानिसहरूलाई पुनर्स्थापना शिविरमा पठाउन सुझाव दिएका छन् । उनले अटिजम भएका व्यक्तिहरूको अभिलेख सङ्कलन गर्ने संघीय डेटाबेस बनाउने योजना समेत घोषणा गरेका छन् । यो डेटाबेस मेडिकल फाइल र वेयरेबल डिभाइसहरूको डेटा प्रयोग गरेर तयार गरिने बताइएको छ । हालैको स्वास्थ्य तथा मानव सेवा विभागको एक रिपोर्टले अटिजमलाई जेन्डर डायसफोराको कारणले हुने गरेको संकेत दिएको छ, जुन ट्रान्सजेन्डर समुदायविरुद्धको ठुलो हमला हो ।

-अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (Department of Government Efficiency) ले विभिन्न सरकारी एजेन्सीमा छरिएका डेटाहरूलाई केन्द्रीकृत रूपमा सङ्कलन गरेर निगरानीको लागि प्रयोग गर्ने योजना बनाइरहेको खबर समेत बाहिरिएको छ । विभागका प्रमुख एलन मस्कले सुरुवाती दिनहरूमा सरकारी कर्मचारीहरूको विवरण खोजेर संकलन गर्ने काम गरेका थिए ।

यस्ता विविध कुराहरूले अमेरिकी नागरिकहरूलाई आफ्ना मानसिक र स्वास्थ्यसम्बन्धी कुराहरू एआई च्याटबटसँग शेयर गर्न झन् बढी प्रेरित गरिरहेको द भर्जमा प्रकाशित लेखमा उल्लेख छ । तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने, अत्यधिक प्रयोगमा रहने च्याटबटहरू अमेरिकी सरकारसँग नजिकबाट काम गरिरहेका छन् ।

एलन मस्क त सरकारी कर्मचारी नै हुन् । जुकरबर्ग र ओपनएआईका साम आल्टम्यान पनि ट्रम्पको कृपामा रहन अनेक प्रयास गरिरहेको विश्लेषकहरू बताउँछन् । यी कम्पनीहरू सामान्य रूपमा मात्र लबिङ गर्दै छैनन्, तिनीहरूले ट्रम्पको विचारअनुकूल नीति बनाउँदै, सार्वजनिक रूपमा समर्थन जनाउँदै छन् ।

इन्टरनेटमा निगरानी कुनै नयाँ कुरा होइन, तर अब स्थिति भयावह बन्न थालेको छ । कम्पनीहरूले च्याटबटहरूमार्फत संवादकै शैलीमा संवेदनशील जानकारी झिक्ने खालको संरचना तयार गरिरहेका छन् । जब यस्तो जानकारी लीक हुन्छ, त्यो व्यक्तिको व्यक्तिगत जीवनमा ठुलो असर पार्न सक्छ । च्याटबटहरू गुगल सर्चजत्तिको पनि सुरक्षित नभएको विश्लेषकहरू बताउँछन् । अर्कोतिर, यो मेसेजिङ एपहरूजस्तो इन्क्रिप्टेड पनि हुँदैन । तपाईंले च्याटबटसँग गर्नुभएको हरेक कुरामा कम्पनीको सोझो पहुँच हुन्छ ।

अमेरिकी सरकारले यो निगरानीलाई "बालबालिकाको सुरक्षा" वा "आतंकवाद नियन्त्रण" जस्ता नारामा ढाक्न सक्ने सम्भावना पनि छ । तर वास्तविकता भने प्रस्ट छ- यो प्रक्रिया लोकतान्त्रिक अधिकार र व्यक्ति स्वतन्त्रताको उल्लङ्घन हो । विशेष जोखिममा परेका व्यक्तिहरूमा लिङ्ग पहिचानसम्बन्धी स्वास्थ्य सेवामा काम गर्ने डाक्टर, विश्वविद्यालयका कर्मचारी, सामाजिक मुद्दामा सक्रिय व्यक्ति लगायत रहेका छन् ।

यदि यस्तो होइन र कम्पनीहरू आफूलाई प्रयोगकर्ताको गोपनीयताप्रति सचेत भनेर चिनाउन चाहन्छन् भने उनीहरूले सबै संवेदनशील च्याटहरू इन्क्रिप्टेड राख्ने, कम्पनीको समेत पहुँच नहुने गरी काम गर्न सक्छन् ।

पछिल्लो समय नेपालमा पनि एआई च्याटबटको प्रयोग बढ्दै गइरहेको छ । नेपाल सरकार एआई नीति बनाउने तरखरमा छ । यस्तोमा नेपालमा पनि कुनै न कुनै प्रकारको नीति आउन सक्छ । जसले हाम्रो गोपनीयताको सुरक्षा प्रत्याभूत गर्दैन । भाग्यवश यस्तो नीति नआए पनि, एआई टुल जहाँको भए पनि हाम्रो डेटा सम्बन्धित कम्पनीको पहुँचमा हुन सक्छ भन्ने कुरालाई नकार्न सकिँदैन । यी सबै डेटा कुनै पनि बेला, कुनै पनि प्रयोजनका लागि प्रयोग हुन सक्छन् ।

आजको दिनमा एआई तपाईंको सहयात्री त बन्न सक्छ, तर यसले तपाईंका संवेदनशील डेटाहरूलाई कसरी प्रयोग गरिरहेको छ भन्ने विषयमा कुनै कुरा यकिनका साथ भन्न सकिँदैन । यस्तोमा आफैँ सचेत भई एआई च्याटबटसँग कुन स्तरसम्मको कुरा गर्ने भन्ने ध्यान भने आफैले राख्नु उचित हुन्छ ।

द भर्जको लेखबाट सहयोग लिइएको

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ २०:४८