close

यूए ह्याकथन २०२५: नेपाली भाषामै डोमेन र ईमेल ठेगाना सम्भव

टेकपाना टेकपाना

जेठ ७, २०८२ १०:४

यूए ह्याकथन २०२५: नेपाली भाषामै डोमेन र ईमेल ठेगाना सम्भव

काठमाडौँ । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै यूए ह्याकथन नेपाल २०२५ (UA Hackathon Nepal 2025) सम्पन्न भएको छ । युनिभर्सल एक्सेप्टेन्स (यूए) प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली भाषामा डोमेन प्रणालीको प्रयोगमार्फत डिजिटल समावेशिताको सुरुवात गरिएको आयोजक क्यान महासंघले जनाएको छ ।

आईक्यान (ICANN) सँगको सहकार्यमा शनिबार भएको उक्त कार्यक्रममा डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक प्रयोग सुरू गरिएको थियो । यसअन्तर्गत ‘क्यान.संगठन’ वेबसाइट सार्वजनिक गरिएको क्यानले जनाएको छ ।

कार्यक्रममार्फत युनिभर्सल एक्सेप्टेन्सका मापदण्ड अनुरूप स्थानीय भाषामा डोमेन र ईमेल ठेगाना स्वीकार गर्ने प्रणाली (UA-ready) विकासको दिशा तय भएको क्यानको भनाइ छ ।

कार्यक्रममा सूचना तथा प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले भाषा, पहिचान र पहुँचको संरक्षणमा यो कदम महत्त्वपूर्ण भएको बताउँदै यसले डिजिटल नेपाल निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन् । उनले डिजिटल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७० प्रतिशत नेपाली इन्टरनेट पहुँचबाहिर रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन र ईमेल ठेगाना उपलब्ध गराउनाले डिजिटल पहुँचको दायरा फराकिलो हुने बताए ।

कार्यक्रममा युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिक सिफारिससँग मेल खाने बताएका थिए ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली कम्प्युटिङको अर्को महत्त्वपूर्ण चरणको रूपमा व्याख्या गर्दै नेपाली भाषा स्ट्यान्डर्ड र स्पेल चेकर विकाससम्बन्धी विगतका प्रयासहरू स्मरण गरिन् ।

कार्यक्रम सूचना प्रविधि विभाग, युनेस्को, एपीएनआईसी, नेपाल इन्टरनेट एक्सचेन्ज, वर्ल्डलिंक, माभोरियन सिस्टम, हिकोल कलेज र होरियन इन्टरेक्टिभ बोर्ड लगायतको सहकार्य रहेको थियो ।

नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गर्दै डट एनपी (.np) डोमेनलाई पनि नेपालीमै ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रम अन्तर्गत यूए ह्याकथनमा ४० जना युवा सहभागी थिए । उनीहरूले नेपाली भाषामा ईमेल ठेगाना बनाउने अभ्यास गर्दै ‘UA-ready’ प्रणालीको निर्माण प्रक्रिया सिकेका थिए ।

कार्यक्रम संयोजक एवम् क्यान महासंघका प्रबन्धक उदिप बरालले अन्तर्राष्ट्रिय साझेदारीले कार्यक्रमलाई प्रभावकारी बनाएको उल्लेख गर्दै आईक्यान, युनेस्को र एपनिकसँगको सहकार्यले भविष्यका पहलहरूलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको उद्देश्यबारे यूए ह्याकथन नेपालका टिम लिड विवेक सिलवालले वेबसाइटको सामग्री मात्र नभई त्यसमा पुग्न प्रयोग हुने डोमेन र किवर्ड पनि नेपालीमै सम्भव छन् भन्ने सन्देश दिनु आफूहरू लागिपरेको जानकारी दिए । उनले यसलाई नेपाली डोमेन नेम उद्योगको ऐतिहासिक माइलस्टोनको रूपमा व्याख्या गरे ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ १०:१८