close

डिजिटल युगका चुनौतीसँग जुध्न युवालाई मिडिया तथा सूचना साक्षरताको तालिम

टेकपाना टेकपाना

जेठ ७, २०८२ ९:२१

डिजिटल युगका चुनौतीसँग जुध्न युवालाई मिडिया तथा सूचना साक्षरताको तालिम

काठमाडौँ । डिजिटल प्रविधिले निम्त्याएका भ्रामक सूचना र अनलाइन असुरक्षा जस्ता चुनौतीसँग जुध्न युवालाई सक्षम बनाउने उद्देश्यले राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

गत शुक्रबार युथ इनोभेसन ल्याब र युनेस्कोको संयुक्त आयोजनामा ‘नेपालका युवा संगठनमा मिडिया तथा सूचना साक्षरता (एमआईएल) अभिवृद्धि’ विषयक कार्यशाला गरिएको हो ।

कार्यक्रममा देशभरका विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै आएका २५ जना युवायुवती सहभागी थिए । उनीहरूले मिडिया तथा सूचना साक्षरता सीपलाई आ–आफ्ना संस्थागत अभ्यास र सामुदायिक कार्यक्रममा एकीकृत गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहभागीहरूले विशेषतः तथ्य जाँच, पारदर्शिता र डिजिटल जिम्मेवारी प्रवर्द्धनमा आफ्नो सक्रिय भूमिका रहने बताएका थिए । कार्यशालामा एआई निर्मित सामग्री, भ्रामक तथा मिथ्या सूचनाको जोखिम, डिजिटल सुरक्षा र अनलाइन उत्तरदायित्वका कानुनी पक्षबारे छलफल गरिएको थियो ।

युनेस्को नेपालका प्रतिनिधि ज्याको डु टोइटले डिजिटल युगमा युवाका लागि मिडिया तथा सूचना साक्षरता अत्यावश्यक भएको बताए । “नेपालका युवा मिडियाका निष्क्रिय उपभोक्ता मात्र नभई लोकतन्त्र र डिजिटल इमान्दारिताका सक्रिय अगुवा हुन्,” उनले भने ।

युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले एआई सामग्रीको बढ्दो प्रयोग र ३० प्रतिशतभन्दा बढी युवा सामाजिक सञ्जालमा आधारित रहेर समाचार प्राप्त गरिरहेको सन्दर्भमा मिडिया साक्षरताको खाँचो झनै बढेको बताए । “१७ प्रतिशतभन्दा कम युवालाई मात्र तथ्य-जाँच प्लेटफर्मबारे जानकारी छ । त्यसैले युवालाई आलोचनात्मक सोच र डिजिटल सीपले सुसज्जित गर्नु अत्यावश्यक छ,” उनले भने ।

कार्यशालामा विजयकुमार तिमल्सिनाले एआई, डेटा गोपनीयता र जिम्मेवार सामग्री निर्माण सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । यस्तै, पत्रकार उज्ज्वल आचार्य र दीपक अधिकारीले भ्रामक तथा मिथ्या सूचना पहिचान र आलोचनात्मक सोचको अभ्यासबारे छलफल गरे ।

अधिवक्ता रुक्मिणी महर्जन र सुस्मिता घिमिरेले डिजिटल सुरक्षाका कानुनी पक्षबारे जानकारी गराए भने सन्तोष क्षेत्रीले संगठनात्मक नीतिमा एमआईएल समावेश गर्ने तरिकाबारे बोले ।

कार्यशालामा सहभागी संस्थाहरूले मिडिया तथा सूचना साक्षरतालाई आफ्ना कार्यक्रममा लागू गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । उनीहरूले कर्मचारीलाई तालिम दिने, सामुदायिक पहुँच विस्तार गर्ने र संगठनात्मक नीतिमा एमआईएल एकीकृत गर्ने लक्ष्य लिएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ ९:२७