काठमाडौँ । मोबाइल प्रयोगकर्ताले आफ्नो फोन अफ हुँदा, व्यस्त अवस्थामा वा नेटवर्क क्षेत्रभन्दा बाहिर हुँदा पनि महत्वपूर्ण कलहरू नछुटुन् भन्ने उद्देश्यले ‘कल फर्वार्डिङ’ सेवा उपयोग गर्न सक्छन् । यो सेवाको माध्यमबाट प्रयोगकर्ताले आफू उपलब्ध नहुँदा आउने कलहरू अर्को वैकल्पिक नम्बरमा आउने बनाउन सक्छन् ।
कल फर्वार्डिङ सेवा मोबाइलको 'कल सेटिङ्स' मा गएर सजिलै सक्रिय (Activate) वा निष्क्रिय (Deactivate) गर्न सकिन्छ । यसै सन्दर्भमा नेपाल टेलिकमले कल फर्वार्डिङ सेवा सक्रिय/निष्क्रिय गर्न शर्ट कोडहरू उपलब्ध गराएको छ ।
शर्ट कोडहरू:
सबै कल फर्वार्ड गर्न: **21*फोन नम्बर# | निष्क्रिय गर्न: ##21#
फोन व्यस्त हुँदा फर्वार्ड गर्न: **67*फोन नम्बर# | निष्क्रिय गर्न: ##67#
फोन नउठाउँदा फर्वार्ड गर्न: **61*फोन नम्बर# | निष्क्रिय गर्न: ##61#
नेटवर्क बाहिर हुँदा फर्वार्ड गर्न: **62*फोन नम्बर# | निष्क्रिय गर्न: ##62#
यो सेवा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोगकर्ताहरूका लागि उपयोगी हुने कम्पनीको भनाइ छ । यद्यपि, कलहरू नेपाल टेलिकमको नेटवर्क (पीएसटीएन/जीएसएम) भित्र मात्र फर्वार्ड गर्न सकिने व्यवस्था गरिएको छ ।