close

‘हनी ट्र्याप’ मा पारी पुरुषको अश्लील भिडिओ खिचेर काठमाडौँको घर-जग्गा माग्ने २ महिला पक्राउ

टेकपाना टेकपाना

जेठ ९, २०८२ ९:२३

‘हनी ट्र्याप’ मा पारी पुरुषको अश्लील भिडिओ खिचेर काठमाडौँको घर-जग्गा माग्ने २ महिला पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत ‘हनी ट्र्याप’ मा पारेर काठमाडौँमा घर र ४ आना जग्गाको बार्गेनिङ गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी-१० स्थायी घर भई काठमाडौंको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई बुधबार साँझ काठमाडौंको हनुमानस्थानबाट पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानबाट यी दुई महिलाले सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्ने, होटलमा बोलाएर मादक पदार्थ सेवन गराई अश्लील फोटो तथा भिडिओहरू बनाउने र त्यसलाई मेसेन्जरमार्फत पठाएर ब्ल्याकमेलिङ गर्ने गरेको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

हालै एक पीडित पुरुषले प्रहरीमा उजुरी दिएपछि हनी ट्र्यापमा संलग्न महिलाहरू पक्राउ परेका हुन् । अनुसन्धान अनुसार ती युवतीले नक्कली फेसबुक आईडीबाट साथी बनाई एक सरकारी कर्मचारीलाई ठमेलमा भेट्न बोलाएर मदिरा सेवन गराएर अचेत बनाई उनको अश्लील फोटो-भिडिओ खिचेका थिए । त्यसपछि, उनीहरूले काठमाडौँमा घर वा ४ आना जग्गा नदिए बलात्कारको मुद्दा लगाइदिने धम्की दिएका थिए ।

त्यसै क्रममा पीडित पुरुषलाई पाँच लाख रुपैयाँको चेक काट्न बाध्य बनाइएको थियो । यस घटनामा थप अनुसन्धानका लागि दुवै महिलालाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ ९:४०