काठमाडौँ । बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको समयमै पूर्वसूचना दिने प्रणाली विकास गर्न जापानी-नेपाली प्राविधिक टोलीले सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा स्थलगत अध्ययन गरेको छ । जापान सरकारको अनुदानमा एसिया-प्यासिफिक टेलिकम्युनिकेसन (एपीटी) मार्फत सञ्चालित परियोजनाअन्तर्गत उक्त टोलीले सम्भावित परीक्षणस्थलहरूको अवलोकन गरेको हो ।
इन्टरनेट अफ थिङ्स (आईओटी) मा आधारित अत्याधुनिक सेन्सर, क्यामेरा र अन्य प्रविधिको प्रयोगमार्फत बाढी तथा पहिरोको समयमै सूचना दिने प्रणाली विकास गर्ने उद्देश्यले १० दिन लगाएर स्थलगत अध्ययन गरिएको परियोजनाका अनुसन्धानकर्मी एवम् जापानको सरकारी अनुसन्धान संस्था एनआईसीटीका अनुसन्धान प्रबन्धक डा. वेद काफ्लेले जानकारी दिए ।
उनका अनुसार विशेषज्ञहरूसँग परामर्श गरेर आवश्यक प्रविधि र सूचकहरू (parameters) निर्धारण गरी सोही आधारमा डेटा सङ्कलन गर्न योग्य उपकरणको छनोट तथा नेटवर्क प्रणालीको डिजाइन गरिने छ । “स्थलगत अध्ययनको काम सकिएको छ । अब सिस्टम डिजाइनको काम सुरु हुनेछ,” उनले भने ।
उनका अनुसार प्रारम्भिक चरणमा ३-४ स्थानमा उपकरण जडान गरिनेछ । पानीको सतह नाप्ने, वर्षाको मात्रा नाप्ने उपकरणलाई लो-पावर वायरलेस नेटवर्क ‘लोरा ब्यान्ड’ प्रयोग गरी प्रणालीको डिजाइन गरिने उनले बताए । यसै वर्षभित्रै फिल्ड परीक्षणका लागि एक प्रोटोटाइप निर्माण गर्ने र आउँदा वर्षहरूमा पूर्ण प्रणाली विकासपछि स्थानीय स्तरमा सेवा हस्तान्तरण गरिने उनले उल्लेख गरे ।
प्रारम्भिक चरणमा नेटवर्क र विद्युत् पहुँच हुने स्थानलाई प्राथमिकता दिएर उपकरण जडान गर्ने योजना रहेको उनले सुनाए । स्थलगत भ्रमणका क्रममा सेन्सर जडान गर्न सकिने सम्भावित स्थानको अवलोकन गर्नुका साथै भूगोल, समाज र बाढी, पहिरोको इतिहाससम्बन्धी जानकारी समेत सङ्कलन गरिएको थियो ।
परियोजनामा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नीतिगत सहयोग गरेको छ । स्थानीयस्तरमा माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईसहित उपाध्यक्ष, वडा अध्यक्षहरू तथा अन्य अधिकारीको सहकार्य रहेको छ ।
यस परियोजनाका लागि आईसीटी फर डेभलपमेन्ट नेपाल संस्थाले प्राविधिक सहकार्य गर्दैछ । यस अन्तर्गत उक्त संस्थाका अध्यक्ष मनोहर भट्टराई, उपाध्यक्ष डा. भूषण राज श्रेष्ठ, सीईओ पवन शाक्य, सीटीओ अभिमन्यु पाण्डे, बोर्ड सदस्य सुरज डंगोल र व्यवसायी नूतन श्रेष्ठले परियोजनामा भूमिका खेल्नेछन् ।
जापानबाट केडीडीआई फाउन्डेसनका तोशीहिरो कानेको र तोशीकाजु युरुगी तथा एनआईसीटीका डा. काफ्ले र डा. यासुनोरी ओवादाले स्थलगत भ्रमणमा सहभागिता जनाएका थिए ।
यो प्रणाली आगामी दिनमा दैवी प्रकोप न्यूनीकरणसँगै जलविद्युत, पर्यटन, कृषि र यातायात क्षेत्रसँग पनि समन्वय गरी विभिन्न प्रकारका डिजिटल सेवामा प्रयोग गर्न सकिने सम्भावना देखिएको डा. काफ्लेले बताएका छन् ।