काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामै स्मार्टफोन उत्पादन गर्नुपर्ने भन्दै चीन र भारतमा निर्माण गरिरहेका कम्पनीहरूमाथि कडा चेतावनी दिएका छन् । शुक्रबार सार्वजनिक कार्यक्रममार्फत उनले एप्पलजस्ता कम्पनीहरूलाई २५ प्रतिशत आयात शुल्क तिराउन सकिने बताएका छन् ।
ट्रम्पको घोषणाले विशेषतः एप्पल र सामसङजस्ता प्रमुख स्मार्टफोन निर्माताहरू दबाबमा परेका छन् । यद्यपि सामसङ कोरियन कम्पनी भएकाले उसलाई अमेरिकी उत्पादनस्थल आवश्यक छैन भन्ने आलोचना पनि उठेको छ ।
ट्रम्पले एप्पलका प्रमुख कार्यकारी टिम कुकसँगको हालैको छलफलमा भारतमा निर्माण केन्द्र बनाउने योजनाप्रति असन्तुष्टि जनाएका थिए । ‘टिम कुक भारतभरि निर्माण गरिरहेका छन्, तर म त्यो चाहन्न,’ ट्रम्पले भनेका छन् ।
तर, प्राविधिक विश्लेषकहरूका अनुसार ट्रम्पको चाहना पूरा गर्नु अहिलेको अवस्थामा प्रायः असम्भव छ ।
विश्लेषकहरूका अनुसार स्मार्टफोन अमेरिकामै बनाउन तीन असम्भवजस्तै चुनौती छन् । पहिलो, त्यसका लागि आवश्यक कारखाना, प्रविधि र पूर्वाधार अमेरिकाभित्रै छैनन् । त्यस्ता संयन्त्र स्थापना गर्न अर्बौं डलर लाग्नेछ र दशकौं समय लाग्न सक्छ ।
दोस्रो, चुनौती कुशल श्रमिकको अभाव हो । यस्ता उत्पादनमा दक्ष जनशक्ति अमेरिकाभित्र नभएको र विदेशी श्रमिक ल्याउन पनि खर्चिलो र जटिल हुने विज्ञहरूको धारणा छ ।
तेस्रो चुनौती हो, कच्चा पदार्थ । स्मार्टफोन निर्माणमा प्रयोग हुने स्कान्डियमजस्ता दुर्लभ तत्वहरू अमेरिकाभित्र कमै पाइन्छन् । ती तत्व उत्खनन, प्रशोधन तथा उत्पादनको लागि छुट्टै संयन्त्र आवश्यक हुन्छ ।
यदि कुनै कम्पनीले यी चुनौती पार गरेर उत्पादन गर्न सके पनि त्यसले तयार हुने फोन अत्यन्त महंगो हुने विज्ञहरूको निष्कर्ष छ । यस्तो फोनको मूल्य १० हजार डलरसम्म पर्न सक्छ, जुन अहिलेको ३०० डलरको फोनभन्दा गुणस्तरमा पनि कमजोर हुने सम्भावना छ ।
केही विश्लेषकले ट्रम्पको प्रस्तावमा पूर्ण अमेरिकी उत्पादनको साटो अधिकांश भाग अमेरिकामै बन्ने बिचको समाधान खोज्ने प्रयास पनि हुनसक्ने बताए । तर त्यस्तो स्थितिमा पनि लागत अत्यधिक हुने र उपभोक्ताले अझ महंगो मूल्य तिर्नुपर्ने अवस्था आउनेछ ।
अब एप्पल, सामसङलगायत कम्पनीहरूले के गर्छन् भन्ने अझै प्रस्ट छैन । विश्लेषकहरू भन्छन्- उनीहरू ट्रम्पको प्रस्ताव कार्यान्वयन गर्नु असम्भव भएको देखाएर समझाइरहेका होलान् । तर ट्रम्प अझै आफ्नै अडानमा छन् ।
यस्तो अवस्थामा उनीहरूले २५ प्रतिशत करको भार ग्राहककै काँधमा थोपर्न सक्ने सम्भावना प्रबल देखिन्छ । जसअनुसार ७९९ डलर पर्ने फोनको मूल्य ९९९ डलरसम्म पुग्न सक्छ ।
अबको केही साताभित्र यस विषयमा थप प्रस्टता आउने अपेक्षा गरिएको छ । तर ट्रम्पको सपना अनुसार अमेरिकामै बनेको स्मार्टफोन अहिलेका लागि दूरदराजको सम्भावना मात्रै हो ।