close

‘फूलको आँखामा फूलै संसार’ का सर्जक दुर्गालाल श्रेष्ठको अक्षरको डिजिटल फन्ट सार्वजनिक

टेकपाना टेकपाना

जेठ ११, २०८२ १७:३३

‘फूलको आँखामा फूलै संसार’ का सर्जक दुर्गालाल श्रेष्ठको अक्षरको डिजिटल फन्ट सार्वजनिक

काठमाडौँ । नेपाल भाषाका जनकवि एवम् ‘फूलको आँखामा फूलै संसार’ जस्ता कालजयी गीतका सर्जक दुर्गालाल श्रेष्ठको हस्तलिखित अक्षरलाई समेटेर तयार पारिएको ‘दुर्गालाल श्रेष्ठ फन्ट’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उक्त फन्ट सार्वजनिक गरिएको हो ।

आफ्नै मौलिक र सुन्दर हस्तलेखनका कारण साहित्यिक वृत्तमा छुट्टै पहिचान बनाएका जनकवि श्रेष्ठप्रति सम्मान अर्पण गर्दै दुर्गालाल साहित्य प्रतिष्ठानले यो फन्ट निर्माण गरेको बताइएको छ । फन्ट डिजाइनर तथा लिपि संरक्षणकर्ता आनन्दकुमार महर्जनले करिब आठ महिनाको प्रयासपछि यो फन्टलाई मूर्तरूप दिएका हुन् ।

फन्ट निर्माणका अनुभव सुनाउँदै महर्जनले भने, “उहाँ (दुर्गालाल श्रेष्ठ) को अक्षरका बारेमा धेरै किस्साहरू प्रचलित छन् । उहाँको अक्षरको तारिफ नगर्ने कमै होलान् ।” श्रेष्ठका साहित्यिक किस्साहरू स्मरण गर्दै महर्जनले थपे, “उहाँ एकछिन पनि चुप लागेर बस्न नसक्ने व्यक्तित्व हुनुहुन्छ । जे भेट्यो त्यसैमा कविता कोरिहाल्ने बानी थियो । सामग्री नहुँदा चुरोटको बट्टामा समेत कविता लेख्नुहुन्थ्यो । बिजुली नहुँदा अँध्यारोमा लेख्नुभएका अक्षर पनि उज्यालोमा हेर्दा सफा र मिलेका हुन्थे भन्ने सुनिन्छ ।”

प्रतिष्ठानका सदस्य पौभाः सायमीले भने, “कविको काब्य राम्रो छ भन्ने सबैले थाहा पाए । उहाँको हस्तलिपी भने सीमितलाई मात्र थाहा भयो । त्यसैलाई चिनाउन र अक्षर सधैं जीवन्त रहोस् भनेर प्रतिष्ठानले फन्ट निर्माण गर्ने निर्णय गरेको हो ।”

पाँच दशक अघि श्रेष्ठ काठमाडौंको कन्या मन्दिर माध्यमिक विद्यालयमा पढाउने गरेको प्रसंग सम्झिँदै सायमीले भने, “उहाँका तत्कालिन विद्यार्थीबाट के पनि सुन्ने गरिन्छ भने उहाँले पढाइसकेपछि कक्षामा आउने अर्को शिक्षकलाई कालोपाटीमा उहाँले लेखेका अक्षर मेट्न बढो सकस हुन्थ्यो अरे । त्यति राम्रो अक्षर लेख्ने कविको हस्तलिपि सबैले थाहा पाउनु पर्छ भनेर हामीले अक्षरलाई डिजिटाइज गरेका हौं ।” 

 

महर्जनका अनुसार, श्रेष्ठका यिनै पृथक अक्षरलाई डिजिटल युगमा जीवन्तता प्रदान गर्न र भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठानले फन्ट निर्माणको महत्वपूर्ण निर्णय लिएको हो । यसअघि पनि श्रेष्ठका केही कृतिहरू उनकै हस्तलिखित अक्षरमा प्रकाशित भइसकेका छन्  । त्यसमध्ये ‘हस्ताक्षर’ नामक कविता सङ्ग्रह एक उदाहरण हो ।

फन्ट निर्माणका लागि सबैभन्दा पहिले श्रेष्ठका हस्तलिखित कविता र अन्य लेख सङ्कलन गरिएको थियो । त्यसपछि ती सबै सामग्रीलाई स्क्यान गरी डिजिटल स्वरूपमा रूपान्तरण गरियो र अन्ततः महर्जनले तिनको विस्तृत विश्लेषण गरी फन्टको ढाँचा तयार पारेका हुन् । उनका यी विभिन्न अक्षरका आधारमा तीन थरीका फन्ट निर्माण गरिएको महर्जनको भनाइ छ ।

नव-निर्मित फन्ट तत्कालका लागि श्रेष्ठका प्रकाशन हुन बाँकी कृतिमा प्रयोग गरिनेछ । करिब छ महिनापछि प्रतिष्ठानले यस फन्टलाई सर्वसाधारणका लागि पनि उपलब्ध गराउने योजना रहेको महर्जनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १७:४६