काठमाडौँ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले एपमा नयाँ प्रयोगकर्तालाई आकर्षित गर्न नयाँ रणनीति अपनाएको छ । कम्पनीले हालै मात्र ‘रेफरल’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ । यस योजना अन्तर्गत आफूले रेफर गरेको प्रोगकर्ता इन्स्टाग्राममा जोडियो भने इन्स्टाग्रामबाट पैसा कमाउन सकिन्छ ।
बिजनेस इन्साइडर कम्पनीले यस नयाँ मोनिटाइजेसन कार्यक्रमबारे पुष्टि गरेको छ । ‘रेफरल्स’ नामक यो कार्यक्रम हाल अमेरिकामा रहेका क्रियटरका लागि मात्र इन्भिटेसनमा आधारित सीमित परीक्षण हो । यस कार्यक्रम अन्तर्गत क्रियटरले शेयर गरेको लिङ्कबाट प्रयोगकर्ता इन्स्टाग्राम भिजिट गरे वा इन्स्टाग्राम अकाउन्ट खोले भने क्रियटरले रकम पाउँछन् ।
इन्स्टाग्रामको रेफरल कार्यक्रमबाट क्रियटरले दुई तरिकाले बढीमा २० हजार डलर (करिब दुई लाख ७३ हजार रुपैयाँ) सम्म कमाउन सक्ने बताइएको छ । क्रियटरले उपलब्ध गराएको लिङ्क क्लिक गरेर कुनै नयाँ प्रयोगकर्ताले अकाउन्ट खोले भने १०० डलर क्रियटरले पाउँछन् । त्यस्तै क्रियटरले उपलब्ध गराएको इन्स्टाग्राम लिङ्क क्लिक गरेर १००० प्रयोगकर्ताले पेज भिजिट गर्यो भने पनि क्रियटरले १०० डलर कमाउने छन् ।
इन्स्टाग्रामको रेफरल कार्यक्रम मेदेखि सुरु भएर छ हप्तासम्म चल्ने बताइएको छ ।
बिजनेस इन्साइडरका अनुसार एपले क्रियटरलाई उनीहरूको प्रोफाइल, रिल्स, पोस्ट, स्टोरी र च्यानलको लिङ्क ‘इन्स्टाग्राम बाहिर’ खासगरी टिकटक, युट्युब, डिस्कोर्ड र सबस्ट्याक जस्ता अन्य वेबसाइट र एपमा शेयर गर्न भनिरहेको छ ।
इन्स्टाग्रामले टिकटक र युट्युब जस्ता अन्य एपबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । यो नयाँ मोनिटाइजेसन फिचरले इन्स्टाग्रामलाई प्रतिस्पर्धामा अगाडि ल्याउने विश्वास गरिएको छ । अन्य देशका क्रियटरले यो फिचर प्रयोग गर्न पाउँछन् वा पाउँदैनन् भन्ने स्पष्ट छैन ।