close

कपिराइट स्ट्राइक हान्दै लाखौं असुल गर्न थालेपछि एएनआईविरुद्ध एकजुट भए भारतीय युट्युबर

टेकपाना टेकपाना

जेठ ११, २०८२ २१:१९

कपिराइट स्ट्राइक हान्दै लाखौं असुल गर्न थालेपछि एएनआईविरुद्ध एकजुट भए भारतीय युट्युबर

काठमाडौं । कपिराइटको निहुँमा अत्यधिक रकम असुलेको (हप्ता असुली गरेको) आरोप लगाउँदै एसियन न्युज इन्टरनेसनल (एएनआई) विरुद्ध भारतीय कन्टेन्ट क्रियटरहरू एकजुट भएका छन् । कन्टेन्ट क्रियटरले आफ्नो भिडिओमा प्रयोग गरेको केही सेकेन्डको फुटेजलाई लिएर एएनआईले कपिराइट स्ट्राइक हान्ने र पछि च्यानल बन्द गर्ने धम्की दिएर मोटो रकम (फिरौती) माग्ने गरेको भन्दै उनीहरू एक भएका हुन् ।

४१ लाखभन्दा बढी सब्सक्राइबर भएका भारतीय युट्युबर मोहक मङ्गलले आइतबार एक भिडियो सार्वजनिक गरेपछि यो विवाद सतहमा आएको छ । भिडिओमा मोहकले एएनआईले कसरी फिरौती रकम मागिरहेको छ भन्दै प्रमाणसहित विस्तृत जानकारी दिएका छन् ।

मोहकका अनुसार उनका दुई ओटा भिडिओमा ११ सेकेन्डभन्दा कम समयको क्लिप प्रयोग गर्दा एएनआईले कपिराइट स्ट्राइक लगाएको छ । उनले २० मेमा कोलकाता बलात्कार प्रकरणसम्बन्धी भिडिओका लागि पहिलो कपिराइट स्ट्राइक पाएका थिए । मोहकले एएनआईको ११ सेकेन्डको फुटेज प्रयोग गरेका थिए । त्यसको केही दिनपछि ‘अपरेसन सिन्दूर’ नामक अर्को भिडिओमा पनि कपिराइट स्ट्राइक आयो । यो ३८ मिनेट लामो भिडिओमा रक्षामन्त्री राजनाथ सिंह देखिएको जम्मा ९ सेकेन्डको फुटेज प्रयोग गरिएको उनको दाबी छ । 

युट्युबको नियमानुसार कुनै च्यानलमा तीन ओटा कपिराइट स्ट्राइक आएमा उक्त च्यानल स्वतः मेटिन्छ ।

मोहकले अगाडि भने, “एएनआईले हामीसँग आठ ओटा कपिराइट लगाउने विकल्प भएको धम्की दिँदै च्यानल बन्द हुनबाट जोगाउन ४० लाख भारतीय रुपैयाँ फिरौती तिर्न वा एक वर्षका लागि एएनआईको महँगो सब्सक्रिप्सन लिनुपर्ने दबाब दिइरहेको छ ।”

यसपछि मोहकको टिमले एएनआईका एक प्रतिनिधिसँग सम्पर्क गरेको थियो । मोहकले नयाँ भिडिओमा कुराकानीको रिक्रियसन अडियो राखेका छन् । त्यसमा एएनआईका कर्मचारीले फुटेज ‘कति लामो समय प्रयोग भयो’ भन्दा पनि अनुमति बिना प्रयोग गरेको कारण स्ट्राइक लगाइएको स्पष्ट पारेका थिए ।

पछि ईमेलमार्फत कुराकानी हुँदा एएनआईले वार्षिक ४८ लाख भारतीय रुपैयाँ र त्यसमाथि जीएसटी (वस्तु तथा सेवा कर) समेत तिर्न माग गरेको थियो । यदि उक्त रकम भुक्तानी नगरिए च्यानल नै मेटाइदिने धम्की दिइएको मोहकले आफ्नो भिडिओमा खुलासा गरेका छन् । च्यानल डिलिट नै भए पनि आफू फिरौती रकम नतिर्ने भन्दै उनले प्रमाणसहित सूचना तथा प्रसारण मन्त्रालयलाई पत्र पठाएका छन् । उनले भिडिओमा ईमेलको ननुना राख्दै अन्य क्रियटरलाई पनि सप्रमाण ईमेल पठाउन अनुरोध गरेका छन् ।

एएनआईको यस्तो कार्यप्रति अन्य भारतीय कन्टेन्ट क्रियटरहरूले पनि सामाजिक सञ्जालमा व्यापक विरोध जनाइरहेका छन् । अधिकांश क्रियटरले भने आफूहरू मोहकको साथैमै भएको भन्दै आड दिइरहेका छन् । चर्चित युट्युबर ध्रुव राठीले उक्त भिडिओमा कमेन्ट गर्दै लेखेका छन्, “तपाईंलाई पूर्ण समर्थन छ । यस्तो लाग्छ कि एएनआईले जबर्जस्ती असुलीको धन्दा चलाइरहेको छ । सबै क्रियटर यसको विरुद्ध एकजुट हुन आवश्यक छ ।”

अर्का चर्चित युट्युबर नितिश राजपुतले पनि मोहकलाई सान्त्वना दिंदै युट्युबले क्रियटरको हितमा काम गर्नुपर्ने धारणा राखेका छन् । “युट्युबले यस्तो कदम चाल्नुपर्छ जसले गर्दा वर्षौंको कडा मिहिनेतपछि क्रियटरले आफूलाई असहाय महसुस गर्न नपरोस्,” राजपुतले कमेन्ट गर्दै लेखेका छन् ।

अर्का युट्युबर थगेशले आफ्नो अनुभव बाँड्दै एएनआईले दुई सेकेन्डको क्लिप प्रयोग गरे बापत १५ लाख मागेको दाबी गरेका छन् । 

भारतीय कमेडियन तथा युट्यबर कुनाल कम्राले एएनआईलाई युट्युबले प्रतिबन्ध लगाउनुपर्ने माग राखेका छन् । उनले लेखेका छन्, “युट्युब इन्डियालाई जवाफदेही बनाउनुपर्छ र कन्टेन्ट क्रियटरलाई ब्ल्याकमेल गरेको आरोपमा एएनआईलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाउनुपर्छ । प्लेटफर्म क्रियटरले बनाउँछन्, एएनआई जस्ता चोरहरूले होइन ।”

मोहकको भिडिओपछि इन्टरनेटमा एएनआईका डिजिटल च्यानल ब्लक गर्ने, अनसब्स्क्राइब गर्ने र कन्टेन्ट क्रियटरको समर्थन गर्दै कमेन्ट गर्ने ट्रेन्ड बढेको छ ।

यसअघि अन्य क्रियटरले पनि च्यानल बन्द हुनबाट जोगाउन एएनआईलाई लाखौं रकम बुझाएको समाचार आइरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ २१:२६