काठमाडौँ । गत चैत १५ गते राजधानीमा आयोजित राजावादी प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गर्दै आएको १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सीसीटिभी प्रणालीमा क्षति पुगेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार प्रदर्शनका क्रममा विभिन्न स्थानमा जडान गरिएका क्यामेरा, उपकरण र अन्य सामग्रीमा प्रदर्शनकारीले तोडफोड गरेपछि क्षतिपूर्ति माग गर्दै अदालतमा अभियोग दर्ता गरिएको हो ।
जिल्ला अदालत काठमाडौंमा आइतबार दायर गरिएको अभियोगपत्रमा प्रहरी कार्यालयले मनिटरिङका लागि जडान गरिएका सीसीटिभी क्यामेरा र उपकरणहरू प्रदर्शनकारीले जानाजान क्षति पुर्याएको दाबी गरिएको छ ।
कार्यालयका अनुसार तीनकुने र आसपासका क्षेत्रमा जडान गरिएका एक लाख १७ हजार रुपैयाँ बराबरका दुई थान फिक्स क्यामेरा र सात लाख ४० हजार रुपैयाँ बराबरका पीटीजेड क्यामेरा क्षतिग्रस्त भएका छन् ।
त्यसैगरी २४ हजार रुपैयाँ बराबरका १०० एमबीपीएस एसएफपी (छ थान) र ६ हजार ५ सय रुपैयाँ बराबरका ३६ भोल्ट/२.२३ एम्पियरका एडप्टर (तीन थान) मा पनि क्षति पुगेको उल्लेख छ ।
प्रहरी कार्यालयले क्षति भएका सबै सामग्रीको मूल्य कुल ९ लाख ४७ हजार रुपैयाँ हुने र करसमेत जोड्दा १० लाख ७१ हजार १४ रुपैयाँ पुग्ने भन्दै सोही रकम बराबरको क्षतिपूर्ति दाबी गरेको छ ।