काठमाडौँ । एडोबीले एन्ड्रोइड प्रयोगकर्ताका लागि फोटोशप एप सार्वजनिक गरेको छ । फेब्रुअरीमा पहिलो पटक सार्वजनिक गरिएको यो एप आईओएसपछि एन्ड्रोइडमा पनि उपलब्ध भएको हो । कम्पनीले एन्ड्रोइड एपको बेटा संस्करण गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध गराएको छ ।
मोबाइलमै विभिन्न फोटो एडिटिङदेखि डिजिटल आर्ट, थम्बनेल डिजाइन, कोलाज र अन्य सिर्जनात्मक कार्य गर्न सकिने गरी यो एप विकास गरिएको एडोबीले जनाएको छ ।
फोटोशप एपमा कम्प्युटरमा पाइने लेयर, मास्क, जेनेरेटिभ फिल, स्पट हिलिङ ब्रस, ट्याप सिलेक्ट, अब्जेक्ट सिलेक्ट, क्लोन स्टाम्प, एडजस्टमेन्ट लेयरजस्ता थुप्रै चर्चित टुलहरू प्रयोग गर्न सकिनेछ । साथै, एडोबी स्टकको निःशुल्क सामग्री पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एपमा रहेका जेनेरेटिभ एआई सुविधाहरूको सहयोगमा सजिलै फोटोमा नयाँ तत्वहरू थप्न वा परिवर्तन गर्न सकिनेछ । एप प्रयोग गर्न प्रयोगकर्ताको मोबाइलमा एन्ड्रोइड ११ वा सोभन्दा नयाँ संस्करण र कम्तीमा ६ जीबी र्याम आवश्यक पर्नेछ । कम्पनीले उत्कृष्ट कार्यसम्पादनका लागि ८ जीबी वा सोभन्दा बढी र्याम सिफारिस गरेको छ ।
एपको प्रारम्भिक बेटा संस्करण सबै प्रयोगकर्ताका लागि निःशुल्क रहेको र यसमा थप सुविधा क्रमशः थपिँदै जाने कम्पनीले जानकारी दिएको छ ।
एडोबीले फोटोशप मोबाइल एपबाट सिर्जनशील प्रयोगकर्तालाई जहाँसुकै र जतिखेर पनि कार्य गर्न सक्ने स्वतन्त्रता दिने लक्ष्य लिएको छ । यो एपले विशेषगरी मोबाइलमै काम गर्न रुचाउने नयाँ पुस्ताका रचनात्मक प्रयोगकर्तालाई लक्षित गरेको बताइएको छ ।
यसअघि नै आईफोन प्रयोगकर्ताका लागि फोटोशप एप एपस्टोरमा विश्वभर उपलब्ध भइसकेको छ ।