close

नयाँ पुस्तकको खुलासाः भारतमा आईफोनको उत्पादन चीनको भन्दा १० गुणा सुस्त !

टेकपाना टेकपाना

जेठ २३, २०८२ ६:३०

नयाँ पुस्तकको खुलासाः भारतमा आईफोनको उत्पादन चीनको भन्दा १० गुणा सुस्त !

काठमाडौँ । एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता विस्तार गर्ने ठुलो महत्त्वाकाङ्क्षा राखे पनि यसको स्पिड चीनमा जस्तो तीव्र हुन नसकेको खुलासा एक नयाँ पुस्तकले गरेको छ । फाइनान्सियल टाइम्सका पूर्व रिपोर्टर प्याट्रिक म्याकगीको भर्खरै प्रकाशित पुस्तक 'एप्पल इन चाइना' ले यस्तो दाबी गरेको हो । 

म्याकगीका अनुसार एप्पलले भारतलाई हरेक पक्षमा पूर्ण रूपमा सक्षम बनाउन चाहे पनि त्यसका लागि अझै ५-१० वर्ष लाग्न सक्ने देखिएको छ । सन् २०१६ देखि २०२३ सम्म भारतमा आईफोनको उत्पादन शून्यबाट बढेर करिब १ करोड ५० लाख युनिट पुग्यो, जुन विश्वव्यापी शिपमेन्टको ७ प्रतिशत हो । यसको तुलनामा, चीनले आईफोनको उत्पादन सन् २००६ देखि २०१३ सम्म शून्यबाट १५ करोड ३० लाख युनिट पुर्‍याएको थियो । यसरी, भारतले चीनको तुलनामा दश गुणा सुस्त गतिमा आईफोनको उत्पादन गरिरहेको छ ।

पुस्तकका अनुसार सन् २०१८ को अक्टोबरमा एप्पलका सीईओ टिम कुकले एउटा मेमोमा भारत 'चीनको जस्तै बाटो'मा अघि बढ्न सक्ने बताएका थिए । शाङ्घाईमा सन् २०२२ मा भएको लकडाउनले एप्पललाई चीनबाट आफ्नो उत्पादन विविधीकरण गर्न प्रेरित गरेको थियो । जसले गर्दा चीन 'विश्वसनीय आपूर्तिकर्ताबाट पूर्ण रूपमा अविश्वसनीय आपूर्तिकर्ता' बन्न पुग्यो । 

सन् २०१७ मा भारत सरकारले विदेशी कम्पनीहरूले ३० प्रतिशत पार्टपुर्जा स्थानीय रूपमा जुटाउनु पर्ने नियमलाई खुकुलो पारेपछि एप्पलका आपूर्तिकर्ता (जस्तै ताइवानको विस्ट्रोन) ले भारतमा आईफोन एसेम्बल गर्न थाले ।  यसले एप्पललाई भारी शुल्कबाट बच्न र आईफोनलाई भारतीय उपभोक्ताका लागि सस्तो बनाउन मद्दत गर्‍यो । भारतमा सन् २०२० मा अनलाइन एप्पल स्टोर खुल्यो भने पहिलो भौतिक स्टोर त्यसको तीन वर्षपछि मात्रै खुल्यो । जुन चीनमा पहिलो स्टोर खुलेको १५ वर्षपछिको समय हो ।

भारतले इन्ट्री-लेभल आईफोन एसई मोडेलबाट थालेको उत्पादन फ्ल्यागशिपसम्म पुगेको छ । सन् २०२३ मा चीन र भारतबाट हुने आईफोनको वितरणमा कुनै ढिलाई नभएको बिजनेस टुडेले उल्लेख गरेको छ । मेड-इन-इन्डिया आईफोनहरू एकै दिन उपलब्ध भएका थिए । सन् २०२४ देखि भारतमा प्रो मोडेलको उत्पादन सुरु भएको हो । 

म्याकगीले उल्लेख गरेअनुसार, भारतमा एप्पलको सञ्चालन मुख्यतया एफएटीपी अर्थात् अन्तिम एसेम्बल, परीक्षण र प्याक आउटमा सीमित छ । यसको अर्थ, पार्टपुर्जाहरू चीनबाट हवाई मार्ग हुँदै ल्याइन्छन् र ताइवानका कम्पनीहरू विस्ट्रोन र फक्सकनद्वारा एसेम्बल गरिन्छ । एक उत्पादन डिजाइन इन्जिनियरले मजाकमा भनेका छन् कि 'मेड-इन-इन्डिया' आईफोनहरू 'चीनमा एसेम्बल गरिन्छन्, त्यहीँ डिसएसेम्बल गरिन्छन्, र त्यसपछि पुन: एसेम्बलका लागि चीन पठाइन्छन् ।'

एप्पलका पूर्व वरिष्ठ इन्जिनियरका अनुसार भारतमा विकासको गति तीव्र हुन सकेको छैन । चीन र भारत दुवैमा आईफोन एसेम्बल हुनु र दुवै एउटै आपूर्ति शृङ्खलामा निर्भर हुनुले लचिलोपन भन्दा पनि जटिलता थप्छ । भारतको कम श्रम लागतलाई चीनबाट सामान ढुवानीको अतिरिक्त लागतले ओझेलमा पारिरहेको छ ।

यस पुस्तकको बारेमा एप्पलले भने तथ्य-जाँच नगरेको र पुस्तक 'असत्य' तथा 'अशुद्धताले भरिएको' बताएको छ ।

यद्यपि, एप्पल भारतलाई आफ्नो प्रमुख उत्पादन केन्द्र बनाउन प्रतिबद्ध भए पनि हालको उत्पादनको गति, आपूर्ति शृङ्खलामा निर्भरता र सञ्चालनका जटिलताहरूले कम्पनीका लागि महत्त्वपूर्ण चुनौती खडा गरेका छन् । म्याकगीको पुस्तकले चीनमा एप्पलको सफलताको पछाडिको कथा र अब भारतमा कम्पनीले सामना गरिरहेका वास्तविकताहरूलाई उजागर गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ७:०