काठमाडौँ । सामाजिक सञ्जाल पेज ‘रुटिन अफ नेपाल बन्द’ (आरओएनबी) ले मोडल कविता नेपालीबारेको एक विवादित पोस्ट सुटुक्क हटाएको छ । शनिबार प्रकाशन उक्त पोस्ट सामाजिक सञ्जालमा आलोचित बनेपछि आरओएनबीबाट गायब भएको हो ।
आरओएनबीले प्रकाशन गरेको पोस्टमा मोडल कविताको भनाइ उद्धृत गर्दै लेखिएको थियो, “जीन्दगीमा हिउँ नदेख्या मान्छे म... हिमालको टपमा पुगेँ ! हिउँमा सुतियो । सबै कुरा नयाँ थियो र त्यो Experience लाई Enjoy गरेँ ।” तर, उक्त भनाइ उनको विगतसँग मेल नखाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका थिए ।
कविताले सगरमाथा क्षेत्रको भ्रमण गर्नुभन्दा वर्षौँअघि नै हिउँमा खेलेका तस्बिरहरू उनले आफ्नो इन्स्टाग्राममा राखेकी थिइन् । त्यसैलाई आधार मान्दै प्रमाणसहित प्रयोगकर्ताले औँल्याएपछि आरओएनबीको पोस्टको सत्यतामाथि प्रश्न उठेको थियो ।
व्यापक आलोचनापछि आरओएनबीले फेसबुकबाट उक्त पोस्ट हटाएको हो । फेसबुकसँगै थ्रेड्स, एक्स र इन्स्टाग्रामबाट समेत उक्त पोस्ट हटाइएको छ ।
पोस्ट हटाउनुअघि त्यसमा ३५ सयभन्दा बढी रियाक्सन आइसकेको गुगल इन्डेक्समा देखिन्छ । पोस्ट हटे पनि ‘मिम पोस्टिङ नेपाल’ लगायतका अन्य फेसबुक पेजले यसै विषयलाई लिएर ट्रोल र व्यङ्ग्यात्मक सामग्री बनाइरहेका छन् ।
यससँगै सूचना तथा प्रसारण विभागमा दर्ता भई सञ्चालनमा रहेको आरओएनबीले पत्रकार आचारसंहिताको समेत उल्लङ्घन गरेको आरोप लागेको छ । आचारसंहिता अनुसार अनलाइन सञ्चारमाध्यमले प्रकाशित सामग्री हटाउनु परेमा त्यसको कारण खुलाएर क्षमायाचना गर्नुपर्ने प्रावधान छ । तर, आरओएनबीले कुनै जानकारी नदिई पोस्ट हटाएको भन्दै उसको व्यावसायिकता र जवाफदेहीतामाथि प्रश्न उठाइएको हो ।