close

९ वर्षपछि पडकास्टमा भेटिए विजय माल्या, भन्छन्- ‘मिडिया ट्रायलको सिकार भएँ’

टेकपाना टेकपाना

जेठ २४, २०८२ १३:५४

९ वर्षपछि पडकास्टमा भेटिए विजय माल्या, भन्छन्- ‘मिडिया ट्रायलको सिकार भएँ’

काठमाडौं । भारतीय अर्बपति विजय माल्याले करिब ९ वर्षको मौनता तोड्दै एक पडकास्टमा विस्तृत अन्तर्वार्ता दिएका छन् । युट्युबर राज शमानीले बिहीबार प्रसारण गरेको चार घण्टा लामो पडकास्टमा पूर्व राजनीतिज्ञ समेत रहेका माल्या देखापरेका हुन् ।

उनलाई बैंकको अर्बौं ऋण नतिरी फरार भएको आरोप लाग्दै आएको छ । किङफिसर एयरलाइन्सको असफलताका कारण बदनाम भएका उनी भारतमा विलासी जीवनशैली र व्यापारिक साम्राज्यका कारण चिनिन्छन् ।

पडकास्टमा उनले भारतीय मूलधारका मिडियाले आफूलाई ‘क्रूर र निरन्तर मिडिया ट्रायल’ गरेर बदनाम गरेको र आफ्नो पक्ष कहिल्यै निष्पक्ष रूपमा प्रस्तुत नगरेको आरोप लगाएका छन् । उनले आफूले लिएको ऋणभन्दा धेरै रकम सरकारले असुल गरिसकेको दाबीसमेत गरे ।

राजले “तपाईं ९ वर्षपछि किन बोल्दै हुनुहुन्छ र हामीसँगै किन ?” भनेर सोधेको प्रश्नमा माल्याले आफू निरन्तर भारतीय मिडियाको निशानामा परेको बताए ।

“विगत नौ वर्षदेखि म भारतमा मिडियाद्वारा गरिएको क्रूर र निरन्तर मिडिया ट्रायलको सिकार भएँ । उनीहरूले मेरोबारेमा यति धेरै नकारात्मक कथा बनाए कि, म जनताको आक्रोशको केन्द्रबिन्दु बनेँ, जहाँ मलाई गाली गरियो र अनेक नामले बोलाइयो,” उनले दु:ख पोखे ।

उनले थपे, “यो विशाल भारतीय मिडिया मसिनसँग जुध्नुभन्दा चुप लाग्नु नै मैले उचित ठानेँ ।”

तर, समय बदलिएको र ‘नयाँ मिडिया’ वा ‘सोसल मिडिया’ को उदयसँगै सत्य कुरा राख्ने अवसर देखेको उनले बताए । सुरुमा पडकास्टबारे थाहा नभए पनि यसको माध्यमबाट आफ्नो कुरा बिना तोडमोड राख्न सकिने बुझेपछि अन्तर्वार्ता दिन उत्साहित भएको उनको भनाइ थियो ।

“यो मेरो लागि एउटा अवसर हो, जहाँ म ती कुराहरू भन्न सक्छु जुन मूलधारका मिडिया त्यसमा पनि भारतमा कहिल्यै सत्यतापूर्वक रिपोर्ट गर्दैनथे,” उनले भने, “त्यसैले म आज यहाँ छु ।”​

माल्याले भारतीय मिडियाले आफूलाई ‘चोर’ र ‘पैसा लुटेर भागेको’ जस्ता आरोप लगाएर सनसनीपूर्ण समाचार बनाएको गुनासो गरे ।

उनले सन् २०१६ को एक घटना सम्झँदै भने, “एक मिडिया च्यानलका एङ्कर टेलिभिजनमा चिच्याउँदै भन्दै थिए, ‘विजय माल्या, म तँलाई जेलको कपडामा हेर्न चाहन्छु, म तँलाई जेलको खाना खाएको हेर्न चाहन्छु ।’ मैले सधैँ सोचेँ, केका लागि ?” उनले प्रश्न गरे, “के पैसा ? के लुट ? कसैले पनि एक कदम पछाडि हटेर सोच्ने कष्ट गरेनन् ।”

अन्तर्वार्तामा माल्याले आफूले लिएको ऋणभन्दा धेरै रकम सरकारले असुल गरिसकेको दाबी गरे, जुन कुरा सार्वजनिक रूपमा बोल्नुको मुख्य कारण भएको उनले बताए ।

उनले भने, “हालै भारत सरकारको अर्थ मन्त्रालयले एक रिपोर्ट प्रकाशित गरेको छ । त्यसमा उनीहरूले मबाट १४ हजार १०० करोड भारू असुल भएको स्वीकार गरेका छन् । अब मूलधारका मिडियाले यसमा कुनै तर्क गर्न वा तोडमोड गर्न सक्दैनन् ।”

माल्याले ऋणको हिसाब प्रस्ट्याउँदै भने, “ऋण पुनरावेदन न्यायाधीकरणको फैसलाअनुसार किङफिसर एयरलाइन्सले लिएको ऋण (मैले व्यक्तिगत रूपमा होइन) चार हजार ९९९ करोड भारू थियो । त्यसमा एक हजार २०३ करोड ब्याज जोड्दा कुल ६ हजार २०३ करोड हुन आउँछ । म त्यसको एक जमानीकर्ता मात्र थिएँ ।”

उनले चुनौती दिँदै भने, “सरकारले मबाट १४ हजार १०० करोड असुल गरिसकेको छ । यदि मैले चोरी वा बैंकलाई धोका दिएको थिएँ भने यो हिसाब कसरी मिल्छ ? अब मेरो पालो हो, उनीहरूलाई सोध्ने कि यसबारे उनीहरूको के भनाइ छ ?”

बेलायतमा बस्दै आएका माल्याले आफ्नो किङफिसर एयरलाइन्स असफल भएकोमा सबैसँग माफी माग्दै यसलाई व्यावसायिक असफलताको रूपमा व्याख्या गरेका छन् । 

राज शमानीसँगको पडकास्टपछि भारतीय दर्शक मूलधारका सञ्चार माध्यमप्रति आक्रोशित बनेका छन् । झण्डै एक दशकसम्म मिडियामा नदेखिएका माल्याले पडकास्ट (न्यु मिडिया)लाई आफ्नो विचार राख्ने थलोका रूपमा राख्नुले भारतका मूलधार सञ्चार माध्यममाथि प्रश्न उठाएको छ ।

युट्युबर राजका केही समर्थकले सो भिडिओमा कमेन्ट गर्दै मूलधारका सञ्चार माध्यमले पडकास्टका क्लिप प्रयोग गरेको खण्डमा कपिराइट लगाउन समेत सुझाव दिएका छन् । सार्वजनिक भएको दुई दिनमै उक्त चार घण्टा लामो पडकास्टमा एक करोड बढी भ्युज छ । 

यो पडकास्टपछि भारतीय प्रयोगकर्ताले रेडिट, एक्स र फेसबुकमा आफ्नो धारणा राखिरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १४:१७