close

नेपाली फेसबुक प्रयोगकर्ता माझ आइपुग्यो मेटा एआई, यसलाई कहाँ अनि कसरी गर्न सकिन्छ प्रयोग ?

टेकपाना टेकपाना

जेठ २५, २०८२ १७:२७

नेपाली फेसबुक प्रयोगकर्ता माझ आइपुग्यो मेटा एआई, यसलाई कहाँ अनि कसरी गर्न सकिन्छ प्रयोग ?

काठमाडौँ । नेपालमा फेसबुक प्रयोगकर्ताहरूले पछिल्लो समय मेसेन्जरको च्याट इन्टरफेसमा मेटा एआई (Meta AI) नामक एक नयाँ फिचर देख्न थालेका छन् । यो आकाशे, निलो र वैजनी रङ्गको गोलो आइकनका साथै 'Ask Meta AI or Search' लेखिएको सर्च बक्सका रूपमा देखा परेको छ ।

मेटा एआई फेसबुकको मातृ कम्पनी मेटाले विकास गरेको एउटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल हो । सरल भाषामा बुझ्दा यो च्याटजीपीटी वा गुगल जेमिनाई जस्तै एक च्याटबट हो, जसले तपाईँको प्रश्नहरूको जवाफ दिन सक्छ र तपाईँले दिएको निर्देशन (प्रम्प्ट) को आधारमा तस्बिरहरू पनि बनाउन सक्छ । यो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर लगायत मेटाका विभिन्न प्लेटफर्महरूमा उपलब्ध हुने बताइएको छ ।

कसरी प्रयोग गर्ने ?

मेसेन्जरमा मेटा एआई प्रयोग गर्न निकै सजिलो छ । तपाईँले आफ्ना साथीहरूसँग च्याट गरेजस्तै गरी यससँग कुराकानी गर्न सक्नुहुन्छ । तपाईँले सिधै मेटा एआई च्याटमा प्रश्न सोध्न वा निर्देशन दिन सक्नुहुन्छ ।

तस्बिरहरू बनाउनका लागि तपाईँले imagine कमान्ड प्रयोग गर्न सक्नुहुन्छ । यसले च्याटमा शेयर गरिएका फोटो वा भिडिओहरू सेभ गरेर राख्छ । तपाईँले मेटा एआईसँग गरेका कुराकानीहरू भविष्यमा गएर सर्च पनि गर्न पनि सक्नुहुन्छ ।

कुनै महत्त्वपूर्ण कुरालाई भविष्यमा सम्झनका लागि तपाईँले remember this भनेर निर्देशन दिन सक्नुहुन्छ र त्यसलाई Memory अप्सनमा गएर हेर्न सकिन्छ । लामो कुराकानी वा टेक्स्टलाई सारांशमा बुझ्न यसको सहयोग लिन सकिन्छ ।

अन्य च्याटहरूमा जवाफ लेख्न पनि यसले सघाउन सक्छ । व्यक्तिगत च्याट तथा ग्रुप च्याटमा यसलाई प्रयोग गर्नका लागि तपाईंले @Meta AI उल्लेख गरेर प्रश्न सोध्न सक्नुहुन्छ । मेटा एआईले @Meta AI ट्याग गरिएका मेसेजहरूमा मात्र प्रतिक्रिया दिन्छ ।

मेटाले आफ्नो एआईलाई अझै बढी उपयोगी बनाउन विभिन्न नयाँ फिचरहरू थपिरहेको छ । हालै वा आगामी दिनमा मेसेन्जर तथा मेटाका अन्य प्लेटफर्महरूमा भ्वाइस (Voice) मार्फत कुराकानी गर्न सकिने फिचर थप हुने बताइएको छ । जसबाट तपाईँले मेटा एआईसँग आवाजमा कुरा गर्न सक्नु हुनेछ र यसले तपाईँलाई बोलेरै जवाफ दिनेछ । यसमा विभिन्न भ्वाइस विकल्पहरू (सेलिब्रिटीका भ्वाइस समेत) समेत उपलब्ध हुन सक्नेछन् ।

त्यस्तै मेटा एआईमा तस्बिर बुझ्ने र सम्पादन गर्ने क्षमता पनि थपिनेछ । जसको सहयोगमा च्याटमा फोटोहरू शेयर गरेर मेटा एआईलाई ती फोटोहरूबारे प्रश्न सोध्न सकिनेछ । यसले फोटोमा देखिएका कुरा बुझेर जवाफ दिन सक्नेछ । साथै, तपाईँले मेटा एआईलाई फोटोमा कुनै कुरा थप्न, हटाउन वा परिवर्तन गर्न निर्देशन दिएर फोटो एडिट पनि गर्न सक्नु हुनेछ ।

यसबाहेक मेसेन्जर वा इन्स्टाग्राम डीएममा एआई प्रयोग गरेर आफ्नो कुराकानीका लागि पर्सनलाइज्ड च्याट थिम बनाउन सक्न हुनेछ । फेसबुक र इन्स्टाग्रामको फिडमा रुचि वा ट्रेन्डका आधारमा मेटा एआईद्वारा सिर्जना गरिएका तस्बिर वा अन्य सामग्रीहरू देखिन सक्नेछन् ।

मेटाले रिल्स (Reels) का लागि अडिओ अनुवाद टुलको परीक्षण पनि गरिरहेको छ, जसले भिडिओको अडियोलाई स्वचालित रूपमा अनुवाद गरी डबिङ र लिप सिंकिङको काम गर्नेछ । रियल-टाइम ट्रान्सलेट नामक यो फिचर हाल परीक्षणकै चरणमा छ ।

मेटा एआईको सहज उपलब्धता र नयाँ फिचरहरूले प्रयोगकर्ताको अनुभव बढाउने अपेक्षा गरिए तापनि, गोपनीयता र डेटा प्रयोगबारे केही चिन्ताहरू पनि उठेका छन् ।

केही प्रयोगकर्ताहरूले यो फिचर आफूले नचाहँदा पनि देखा परेको र यसलाई पूर्ण रूपमा डिसेबल गर्न नमिल्ने बताएका छन् । मेटा एआई च्याटलाई म्युट वा डिलिट गर्न भने मिल्छ ।

मेटाले आफ्नो एआईले प्रयोगकर्ताका निजी कुराकानीहरू नपढ्ने भने पनि यसको उपस्थिति र डेटा प्रयोगले गोपनीयतामाथि प्रश्न चिन्ह खडा गरेको छ । साइबर सुरक्षा विज्ञहरूले यसको पारदर्शिता र डेटा सुरक्षाबारे चासो व्यक्त गरेका छन् ।

विशेषगरी मेसेन्जरमा एआईसँग गरिने कुराकानीहरूमा इन्ड-टु-इन्ड इन्क्रिप्सन नहुन सक्ने जोखिम औँल्याइएको छ । प्रयोगकर्ताले मेटा एआईमा सब्मिट गरेका जानकारी मेटाले एआईलाई तालिम दिनका लागि राख्न र प्रयोग गर्न सक्ने बताइएको छ ।

केही प्रयोगकर्ताहरूले निजी च्याटमा केही शब्दहरू प्रयोग गर्दा मेटा एआईले हस्तक्षेप गरी कुराकानी रोकेको र चेतावनी दिएको अनुभव पनि शेयर गरेका छन् । यसबाट निजी कुराकानीहरू स्क्यान भइरहेको हुन सक्ने चिन्ता पनि बढाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १७:४८