१७ अर्ब अस्वीकार गरेका २४ वर्षीय एआई अनुसन्धानकर्तालाई मार्क जुकरबर्गको दोब्बर अफर
साउन २१, २०८२ १६:४४
काठमाडौँ । अमेरिकाको सिलिकन भ्यालीमा शीर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका प्रतिभाका लागि चलिरहेको युद्ध उत्कर्षमा छ । जहाँ प्रतिभावान् एआई अनुसन्धानकर्ताहरूले पारिश्रमिक स्वरूप निकै धेरै रकमको अफर प्राप्त गरिरहेका छन् । प्रविधिका दिग्गज कम्पनीहरूले यस क्षेत्रका प्रतिभाशाली युवाहरूलाई साथमा लिन अर्बौँ डलरको बोलकबोल लगाइरहेका छन् ।
म्याट डिटकेसँगको सम्झौता यसकै एक उदाहरणका हो । २४ वर्षीय एआई अनुसन्धानकर्ता म्याट डिटकेले हालै मेटाबाट लगभग २५ करोड डलर (करिब ३४ अर्ब रुपैयाँ) को चार वर्षे सम्झौता स्वीकार गरे । जसमा स्टक र नगद दुवै समावेश छ । यो रकम मध्ये पहिलो वर्षमा १० करोड डलर (करिब १४ अर्ब रुपैयाँ) सम्म भुक्तानी हुने सम्भावना रहेको बताइएको छ ।
मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग डिटकेलाई व्यक्तिगत रूपमा 'सुपरइन्टेलिजेन्स' अनुसन्धानका लागि आफ्नो कम्पनीमा ल्याउन आफैँ अग्रसर बनेका थिए । सुरुमा त भर्सेप्टका सह-संस्थापक डिटकेले मेटाको करिब साढे १२ करोड डलर (करिब १७ अर्ब रुपैयाँ) को सुरुवाति प्रस्तावलाई अस्वीकार गरिदिएका थिए । त्यसपछि जुकरबर्गले त्यसको दोब्बर अर्थात् २५ करोड डलर अफर गरे । यसरी अन्ततः डिटकेसँगको सम्झौता सम्पन्न भयो ।
मेटा, ओपनएआई र गुगल जस्ता ठुला एआई कम्पनीहरूमा तलबको कुनै सीमा (salary caps) नै छैन भन्दा हुन्छ । सन् २०२२ मा ओपनएआईले च्याटजीपीटी च्याटबट सार्वजनिक गरेपछि एआई प्रतिभाको माग ह्वात्तै बढेको छ । यससँगै प्रविधिमा नेतृत्व लिनका लागि तीव्र दौड सुरु भएको छ । यतिखेर एड्भान्स एआई सिस्टमहरूमा प्राविधिक ज्ञान र अनुभव भएका व्यक्तिहरूको गम्भीर अभाव छ । जसले गर्दा नै यो आकाश छुने तलबमानलाई बढावा दिएको छ । यी परिष्कृत एआई प्रणालीहरूलाई ठुलो कम्प्युटिङ शक्ति र डेटा विश्लेषण विशेषज्ञता चाहिन्छ, जुन थोरै कम्पनीहरूले मात्र प्रदान गर्न सक्छन् ।
मार्क जुकरबर्गका अनुसार मेटा एआई प्रतिभामा ठुलो लगानी गर्न प्रतिबद्ध छ । सुपरइन्टेलिजेन्सले हामीले गर्ने हरेक पक्षलाई सुधार गर्ने उनको विश्वास छ । मेटाका केही कर्मचारीहरूले द न्युयोर्क टाइम्सलाई बताएअनुसार यदि नयाँ कर्मचारी भर्ना गर्दा कम्पनीको आम्दानी आधा प्रतिशतले मात्र बढ्छ भने 'अनावश्यक' अफरहरू पनि उचित ठहरिन्छन् ।
एआईका ट्यालेन्टहरूलाई भित्र्याउन मेटा अन्य कम्पनीहरूको तुलनामा बढी आक्रामक देखिएको छ ।जसमा मार्क जुकरबर्गले व्यक्तिगत रूपमा सन्देश पठाउने र बढ्दो ठुलो रकम अफर गरिरहेका छन् । कम्पनीले पैसाभन्दा बढी आकर्षक मानिने प्रोत्साहन पनि प्रदान गर्छ । जसमा विशाल कम्प्युटिङ पावर (खासगरी हाई ग्राफिकल प्रोसेसिङ युनिट्स (जीपीयू) मा पहुँचको कुरा रहेको छ । केही व्यक्तिहरूलाई भित्र्याउन उनीहरूको एआई अनुसन्धानका लागि ३० हजार जीपीयू उपलब्ध गराउनेसम्मको बाचा गरिएको न्युयोर्क टाइम्समा उल्लेख छ ।
कम्पनीमा भित्र्याउनका लागि जुकरबर्गले 'द लिस्ट' भनिने गोप्य डकुमेन्ट नै तयार पारेको बताइन्छ । जसमा एआईका सबैभन्दा प्रतिभावान् व्यक्तिहरूको नाम समावेश छ। यस लिस्टमा रहेका अनुसन्धानकर्ताहरूले सामान्यतया एआई-सम्बन्धित क्षेत्रमा पीएचडी गर्नुका साथै शीर्ष प्रयोगशालामा अनुभव प्राप्त गरेका र महत्त्वपूर्ण एआई अनुसन्धान सफलतामा योगदान पुर्याएका हुन्छन् । यी अनुसन्धानकर्ताहरूले प्राय: स्ल्याक र डिस्कर्ड जस्ता प्लेटफर्महरूमा च्याट समूहहरू बनाएर अफरहरूबारे छलफल गर्छन् र रणनीतिक रूपमा धेरै कम्पनीहरूसँग सम्पर्क गरेर आफ्नो मूल्य बढाउँछन् ।
प्रतिभाहरूका लागि बढ्दो द्वन्द्वको असर प्रतिस्पर्धीहरूलाई पार्न थालेको छ । उदाहरणका लागि, ओपनएआईले बजारमा आएको परिवर्तनलाई ध्यानमा राखेर आफ्नो पारिश्रमिक संरचना नै परिवर्तन गरेको छ । र, प्रतिस्पर्धी कम्पनीहरूले सम्पर्क गर्दा तत्काल अफर स्वीकार गर्नुअघि अधिकारीहरूसँग सल्लाह गर्न कर्मचारीहरूलाई आग्रह गरेको छ । ओपनएआईका प्रमुख अनुसन्धान अधिकृत मार्क चेनले आफूहरूले काउन्टर गरिरहेको बताएका छन् । तर मेटाका सबैभन्दा ठुला अफरहरू भने 'म्याच' गर्न नसकिएको बताए ।
मेटाको आक्रामक कर्मचारी भर्नाका बाबजुद केही अनुसन्धानकर्ताहरूले उसको प्रस्तावलाई अस्वीकार गरेका छन् । यसका पछाडि अन्य कम्पनीहरूको तुलनामा जुकरबर्गको आर्टिफिसियल इन्टेलिजेन्स प्रतिको दृष्टिकोण अस्पष्ट भएको विषयलाई कारण बनाइएको छ ।
वाशिंगटन विश्वविद्यालयमा कम्प्युटर विज्ञानको पीएचडी कार्यक्रम छाडेका डिटकेले यसअघि सिएटल एआई प्रयोगशाला, एलन इन्स्टिच्युट फर आर्टिफिसियल इन्टेलिजेन्समा मोल्मो एआई च्याटबट परियोजनाको नेतृत्व गरेका थिए । नोभेम्बरमा डिटकेले एलन इन्स्टिच्युटका सहकर्मीहरूसँग मिलेर भर्सेप्ट नामक एक स्टार्ट-अप स्थापना गरे । जसले एआई एजेन्टहरू निर्माण गर्ने प्रयास गरिरहेको छ ।
करिब १० जना कर्मचारीहरू भएको भर्सेप्टले गुगलका पूर्व प्रमुख कार्यकारी एरिक श्मिट जस्ता लगानीकर्ताहरूबाट १ करोड ६५ लाख डलर (करिब २ अर्ब ३१ करोड रुपैयाँ) रकम जुटाएको छ । डिटकेले मेटाको करिब २५ करोड डलरको चार वर्षे प्रस्ताव स्वीकार गरेपछि भर्सेप्टका प्रमुख कार्यकारीले सामाजिक सञ्जालमा ठट्टा गर्दै पोस्ट गरेका छन्, "हामी अर्को वर्ष म्याटको निजी टापुमा सामेल हुन तत्पर छौँ ।"
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १६:४४
