काठमाडौँ । सरकारले म्यानपावर लगायत वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको इजाजतपत्र नवीकरणका लागि नयाँ नियम लागु गरेको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना राख्दै अबदेखि इजाजतपत्र नवीकरण गर्दा संस्थाको ‘गुगल प्लस कोड’ सहितको अद्यावधिक ‘गुगल म्याप’ अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको हो ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली, २०६४ अनुसार इजाजत प्राप्त सबै संस्थालाई तोकिएको समयभित्र नवीकरण गर्न आग्रह गरेको छ । यो नियम म्यानपावर कम्पनी, तिनका शाखा कार्यालय, अभिमुखीकरण तथा सीपमूलक तालिम प्रदायक संस्था सबैमा लागु हुनेछ ।
यस विषयमा वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले कार्यालयको वास्तविक अवस्थिति (लोकेसन) पत्ता लगाउन सहज होस् भनेर गुगल प्लस कोड अनिवार्य गरिएको बताए ।
“म्यानपावर संस्थाहरूको कार्यालय सरिरहने तर त्यसको अभिलेख अद्यावधिक गर्न कठिन हुने समस्या थियो,” प्रवक्ता शिवाकोटीले टेकपानासँग भने, “अब अक्षांश र देशान्तरसहितको गुगल प्लस कोड अनिवार्य गरेपछि फाइलमा लिखित ठेगाना मात्र खोज्नुपर्ने बाध्यता हटेको छ । यसले संस्थाको वास्तविक लोकेसन प्राविधिक रूपमै हेर्न सकिने हुँदा विभागलाई अनुगमन गर्न र सर्वसाधारणलाई कार्यालय खोज्न पनि सहज हुन्छ ।”
सूचनाअनुसार नवीकरणका लागि निवेदन दिँदा आधारभूत कागजातका साथै संस्थाको गुगल म्याप र हाल कार्यरत सबै सञ्चालक तथा कर्मचारीको विवरणसमेत पेश गर्नुपर्नेछ । विभागले तोकिएको समयमा नवीकरण नगर्ने संस्थाहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
नवीकरण प्रक्रिया र आवश्यक कागजातबारे विस्तृत जानकारी विभागको आधिकारिक वेबसाइटबाट लिन सकिने पनि सूचनामा उल्लेख छ ।
कसरी थाहा पाउने आफ्नो लोकेसनको गुगल प्लस कोड ?
सबैभन्दा पहिले ब्राउजरमा गुगल म्याप्स खोल्नुहोस् ।
त्यसपछि आफूले चाहेको लोकेसन मार्क गर्नुहोस् ।
त्यहाँ क्लिक गर्नुभयो भने कोअर्डिनेट देखिन्छ । त्यही कोअर्डिनेटमा ट्याप गर्नुहोस् ।
अनि बायाँपट्टि गुगल प्लस कोड देखिन्छ । त्यही कोड कपी गर्नुहोस् । र, विभागलाई बुझाउनुहोस् ।