close

टेकपाना फ्याक्टचेकः कतारमा यसरी मृ*त्युदण्द दिइन्छ भन्दै नेपालमा अपुष्ट भिडिओ भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ २४, २०८२ १९:५५

टेकपाना फ्याक्टचेकः कतारमा यसरी मृ*त्युदण्द दिइन्छ भन्दै नेपालमा अपुष्ट भिडिओ भाइरल

काठमाडौं । बिहीबार, ५ जुन २०२४ देखि सामाजिक सञ्जाल फेसबुकमा ‘कतारमा यसरी दिइन्छ मृत्युदण्ड, नेपालीहरू जोगिनुहोस्’ भन्ने शीर्षकसहितको एक भिडिओ भाइरल भएको छ । लाखौं भ्युज पाएको उक्त भिडिओमा देखाइएका घटनाहरूको भने ठोस विवरण उल्लेख गरिएको छैन । ‘कतारले मृत्युदण्ड यसरी दिन्छ’ भन्दै नेपालीहरूमा डर फैलाउने प्रयास गरिएको उक्त भिडिओ टेकपाना फ्याक्टचेकबाट अपुष्ट भएको पाइएको छ ।

कतारले केवल गम्भीर प्रकृतिका अपराधमा मात्र मृत्युदण्डको सजाय सुनाउने गरेको छ । पछिल्लो पटक सन् २०२० मा एक नेपाली नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । त्यसअघि सन् २००० तिर मात्र कतारले मृत्युदण्ड दिएको एउटा घटना बाहिर आएको थियो । अर्थात्, कतारमा मृत्युदण्डको घटना निकै बिरलै मात्र सार्वजनिक हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा, सार्वजनिक समारोहमा गाउँलेहरूको उपस्थितिमा मृत्युदण्ड कार्यान्वयन गर्ने खालको कुनै व्यवस्था कतारको कानुनमा छैन ।

दाबी

५ जुन २०२५ मा राजन साउद नाम गरेका प्रयोगकर्ताले फेसबुकमा एक भिडिओ पोस्ट गरेका छन् । एक मिनेट ३० सेकेन्डको उक्त भिडिओमा उनले ‘कतार मा मृत्यु दण्ड यसरि दिइन्छ’ भन्ने क्याप्सन राखेका छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ पोस्टमा एक लाख ३३ हजारभन्दा बढी रियाक्सन, १६ कमेन्ट, २३ सयभन्दा बढी शेयर र एक करोड ५० लाखभन्दा बढी भ्युज आइसकेको देखिन्छ । साउदले उक्त पोस्टमा कमेन्ट गर्ने सुविधा सीमित व्यक्तिहरूका लागि मात्र खुला गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट । भिडिओमा ‘मृत्यु’ जस्तो गम्भीर शब्द राखिएको र विषयवस्तु पनि त्यही प्रकृतिको भएकाले हामीले भिडिओलाई आर्काइभ गरेका छैनौं ।

 

अनुसन्धान

राजन साउदको फेसबुक टाइमलाइन अवलोकन गर्दा उनले व्यक्तिगत सामग्रीबाहेक अन्य अपुष्ट र तथ्यहीन सामग्रीहरू पनि पोस्ट गर्ने गरेको देखिन्छ । उनले पोस्ट गरेको 'कतारमा मृत्युदण्ड'सम्बन्धी भिडिओको सत्यता जाँच गर्न त्यसबाट कि-फ्रेम निकालेर गुगल र बिङमा रिभर्स इमेज सर्च गर्दा 'कम्युनिटी गाइडलाइन्स' उल्लङ्घनको सूचना बाहेक अन्य परिणाम प्राप्त भएन ।

तर, यान्डेक्समा खोजी गर्दा भिडिओसँग मिल्दोजुल्दो दृश्यसहितका अन्य तस्बिर र भिडिओहरू फेला परे । यान्डेक्सका अनुसार, यस्ता पोशाक लगाएर प्रायः मध्यपूर्व, दक्षिण एशिया तथा अफ्रिकाका देशहरूमा बस्ने 'शिया इस्लाम' धर्मावलम्बीहरू सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्छन् ।

भिडिओको क्याप्सनलाई आधार बनाई फेसबुकमै खोज्दा, ‘रोशन किङ्ग’ नामका प्रयोगकर्ताले पनि ५ जुनमै सोही भिडिओ ‘कतार मा मुत्युदन्ण यसरि दिन्छ सबै नेपाली होसियार भएर काम गरौ’ भन्दै पोस्ट गरेको पाइएको छ ।

उक्त भिडिओ ४ मिनेट ७ सेकेन्ड लामो छ र 'Ngga tega liat nya coba liat sampai akhir jangan di skip' भन्ने वाक्य लेखिएको छ, जुन इन्डोनेसियाली भाषा हो । गुगल ट्रान्सलेट अनुसार यसको अर्थ हो- “मैले त हेर्न सकिनँ, तपाईंहरूले नछुटाएर अन्तिमसम्म हेर्नुहोस् ।”  हेर्नुहोस् भिडिओको ओरिजिनल पोस्ट र स्क्रिनशट ।



 

त्यसैगरी ‘भाइब हब’ नामको फेसबुक पेजले पनि ‘रोशन किङ्ग’ नामका प्रयोगकर्ताले राखेको हिज्जे र व्याकरण नमिलेको ‘कतार मा मुत्युदन्ण यसरि दिन्छ सबै नेपाली होसियार भएर काम गरौ’ लेखेको देखियो । यो भिडिओमा भने इन्डोनेसियाली शब्दसँगै तपपट्टि क्याप्सनमै राखिएको शब्द राखिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४७७ रियाक्सन, १३ कमेन्ट र झन्डै डेढ लाख भ्युज आएको छ ।

अन्य प्रयोगकर्ताहरूले पनि ती तीन ओटा भिडिओहरूलाई आ-आफ्ना विचार राख्दै फेसबुकमा फरक-फरक सन्देशसहित शेयर गरिरहेका छन् ।

अब भिडिओको दृश्यलाई विश्लेषण गरौं: भिडिओमा विशेष पोसाक लगाएका केही पुरुषहरू एक व्यक्तिलाई मञ्चतर्फ लगिरहेका देखिन्छन् । सेतो लुगा र हरियो फेटा बाँधेका व्यक्तिलाई दुई पुरुषले अग्लो मञ्चतर्फ लैजाँदैछन् । ती व्यक्तिहरू भने विभिन्न किसिमका गहनाले सजिएको कालो पोसाकमा देखिन्छन् । अगाडि रहेका अर्को पुरुषले पहेँलो लुगा लगाएका छन् ।

पहेंलो र कालो रङका ऐतिहासिक वा युद्धजन्य पोसाकमा सजिएका अर्को समूहका पुरुषहरू तरबार बोकेर छेउमा उभिएका छन् । पहेँलो लुगा लगाएका व्यक्तिको दाँही अस्वाभाविक देखिन्छ, जुन सम्भवतः नाट्य प्रयोजनका लागि प्रयोग गरिएको हो ।

माथिल्लो भागमा साङ्लाले बेरिएको धातुको फ्रेम देखिन्छ भने माइक्रोफोन समातेका एक व्यक्तिले केही वर्णन गरिरहेको जस्तो देखिन्छ । भिडिओको एक दृश्यमा सेतो पोसाक लगाएका व्यक्तिलाई अगाडि झुकाएर शिर छेदन गर्न लागेझैँ देखिन्छ, तर अन्तिमसम्म कसैलाई कुनै हानि भएको देखिँदैन ।

भिडिओमा अरबी भाषाको गीत (ब्याकग्राउन्ड म्युजिक) सुन्न सकिन्छ, तर गोली, फायरिङ वा हिंसात्मक आवाजहरू भने सुनिँदैनन् । दृश्यहरूमा तरबार र साङ्ला मात्र देखिन्छन् । समग्रमा भन्ने हो भने भिडिओ वास्तविक मृत्युदण्ड नभई एक औपचारिक नाटक वा सांस्कृतिक नाट्यप्रस्तुति जस्तो देखिन्छ ।


 

भिडिओको १ः३७ सेकेन्डमा एक बच्चा कुर्सीमा बसिरहेको देखिन्छन् । केही दर्शकबाहेक अरू साधारण पोसाकमै छन् । भिडिओको १ः४३ सेकेन्डमा ढोकामा अरेबिक शब्द लेखिएको देखिन्छ । पूरा ढोका र त्यसमा लेखिएको शब्द भने देखिएको छैन । 

जेमिनाईमा फोटो अपलोड गरेर त्यसमा लेखिएको अरेबिक शब्दको अर्थ निकाल्न अनुरोध गर्दा यस्तो नतिजा आयोः
[माथिल्लो लाइन:
بِسْمِ اللهِ الرَّحْمٰنِ الرَّحِيْمِ
नेपालीमा (उच्चारण): बिस्मिल्लाह अर-रहमान अर-रहीम
अर्थ: "अल्लाहको नाममा, जो अत्यन्तै कृपाशील, अत्यन्तै दयालु हुनुहुन्छ।"

तलको मुख्य पाठ:
مضيف أمارة
عشيرة ال...

यसको अर्थ हो:

  • مضيف (Maḍīf): अतिथि गृह वा पाहुनाघर । अरब संस्कृतिमा, यो कबीलाका शेख वा प्रमुख व्यक्तिले पाहुनालाई स्वागत गर्न र सामुदायिक सभाहरू गर्न प्रयोग गर्ने ठाउँ हो ।

  • أمارة (ʾImārah): अमिरात (Emirate) वा राज्य।

  • عشيرة (ʿAshīrah): कबीला (Clan) वा कुल।

  • अन्तिम शब्द कबीलाको नाम हो, जुन तस्बिरमा पूर्ण रूपमा स्पष्ट छैन।

समग्रमा, यो साइनले “[कबीलाको नाम] को अमिरातको अतिथि गृह” भनेर जनाउँछ । यो कबीलाको बैठक बस्ने ठाउँको लागि राखिएको औपचारिक साइन हो ।]

भिडिओमा बालबालिका, महिलादेखि अन्य पुरुषहरू देखिन्छन् । केही सांस्कृतिक पोशाकमा देखिन्छन् भने अधिकांश साधारण लुगा लगाएका छन् । 

सबै प्रमाणले यो भिडिओलाई गलत तरिकाले प्रस्तुत गरिएको देखाउँछ । दृश्य र पोसाक कतारको जेल प्रणालीसँग नभई, दक्षिण एसियाली/शिया धार्मिक समारोहहरूसँग मिल्दोजुल्दो छ । भिडिओमाथि लेखिएको इन्डोनेसियाली टेक्स्ट ("Ngga tega lihat..." आदि) ले यो सामाजिक सञ्जालमा क्लिकबेट (ध्यान तान्न प्रयोग गरिने सामग्री) को रूपमा शेयर गरिएको सङ्केत गर्छ । कुनै पनि आधिकारिक स्रोत वा समाचार संस्थाले यसलाई कतारी मृत्युदण्ड भनेर पहिचान गरेको छैन । 

कतारमा दिइने मृत्युदण्डको विश्वसनीय समाचार कभरेजमा हेर्दासम्म त्यसरी मृत्युदण्ड दिन कुनै सार्वजनिक समारोह नहुने देखिन्छ । विभिन्न सञ्चार माध्यमका अनुसार कतारमा मृत्युदण्डका घटना गोप्य हुन्छन् र त्यसमा तरबार वा साङ्ला नभई फायरिङ स्क्वाडको प्रयोग हुन्छ । 

फरेन नेसन्स अन देथ रोका अनुसार कतारको दण्ड संहिताले मृत्युदण्डलाई अनुमति दिन्छ तर यो विरलै मात्र लागु गरिन्छ । र त्यो पनि विशेष विधिहरू अपनाएर लागु गरिएको हुन्छ । त्यहाँको कानुन नं. ११ (सन् २००४) (संशोधित) अनुसार मृत्युदण्ड हुनसक्ने अपराधहरूमा हत्या, मृत्युमा टुङ्गिने अपहरण, आतंकवाद, बलात्कार, हाडनाता करणी, पुनरावृत्त लागुऔषध तस्करी, जासुसी, जबर्जस्ती असुली (कसैलाई इज्जतसम्बन्धी अपराधको आरोप लगाएर), व्यभिचार/अवैध यौनसम्बन्ध, मृत्युदण्डमा पुर्‍याउने झुटो गवाही र शरिया अन्तर्गतका केही 'हुदुद' अपराधहरू (चोरी, अवैध मदिरा सेवन र धर्मत्याग) पर्दछन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा कतारको कानुनले मृत्युदण्ड केवल झुन्ड्याएर वा फायरिङ स्क्वाडद्वारा मात्रै कार्यान्वयन गर्न सकिने र प्रत्येक मृत्युदण्डलाई अमीर (शासक) द्वारा अनुमोदन गरिनुपर्ने व्यवस्था गरेको छ । भिडिओमा देखिए जस्तो तरबारले मृत्युदण्ड दिने वा कुनै सार्वजनिक प्रदर्शन गर्ने कुनै प्रावधान छैन । कतारमा मृत्युदण्ड दशकौंदेखि लगभग नगन्य नै छ । लामो समयको अघोषित रोकपछि कतारले २०२० मा ‘हत्यामा दोषी ठहरिएका एक नेपाली आप्रवासी कामदार अनिल चौधरीलाई’ लाई मृत्युदण्ड दिएको थियो । त्यो मृत्युदण्ड पहिलेका जस्तै फायरिङ स्क्वाडद्वारा दिइएको थियो । त्यसअघि पछिल्लो ज्ञात मृत्युदण्ड सन् २००० मा भएको थियो । अन्य कुनै पनि मृत्युदण्ड विधि सार्वजनिक रूपमा प्रयोग गरिएको छैन ।

यद्यपि एक अध्ययनले भने सन् २०१६ देखि २०२१ को बीचमा कतारले २१ जनालाई मृत्युदण्ड दिएको खुलाएको थियो । तर, उक्त अध्ययनलाई आधार बनाएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छैनन् । गत वर्ष फेब्रुअरीमा भारतका आठ कामदारलाई जासुसीको आरोपमा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको थियो । तर, पछि भारतको पहलमा उक्त मुद्दा उल्टियो र ती कामदार भारत फर्किएका थिए । कतारको वर्तमान कानुनले धेरै गम्भीर अपराधका लागि मृत्युदण्डको अनुमति दिन्छ । तर त्यसका लागि फायरिङ स्क्वाड र ह्याङ्गिङ (कानुनी रूपमा झुन्ड्याउने) विधि प्रयोग गर्छ । 

तरबारले शिर छेदन गर्ने वा सार्वजनिक समारोह गर्ने त्यहाँको परम्परा भएको देखिँदैन । 

यहाँ क्लिक गर्दा इरानको एक भिडिओ खुल्छ । उक्त भिडिओमा पनि अहिले भाइरल भपरहेको भिडिओको जस्तै नृत्य समावेश छ । यी सबै पक्ष विश्लेषण गर्दा विभिन्न पक्षहरू सतहमा आए । पहियो यो कुनै पुरानो कथा वा ऐतिहासिक घटनालाई नाटकको रूपमा प्रस्तुत गरिएको हुनसक्छ । दोस्रो यो कबीलाको परम्परा र इतिहास देखाउनको लागि गरिएको कुनै कार्यक्रम हुन सक्छ । र, अर्को कुनै फिल्म वा टिभी कार्यक्रमको लागि दृश्य खिचिरहेको दृश्य हुन सक्छ । 

दाबी

कतारमा तरबारले सार्वजनिक रूपमा शिर छेदन गरेर मृत्युदण्ड दिन्छ ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ता राजन साउद, रोशन किङ्ग, भाइब हब नामक फेसबुक पेज लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।

तथ्य

यो भिडिओ कतारमा यसरी मृत्युदण्ड दिइन्छ भन्ने दाबी गर्दै फैलाइएको छ । भिडिओमा देखिएको दृश्य एक सांस्कृतिक वा नाटकीय प्रस्तुति जस्तो देखिन्छ । यो सम्भवतः कुनै ऐतिहासिक वा धार्मिक घटनाको पुन: अभिनय हुनसक्छ । कतारको कानुनअनुसार मृत्युदण्ड फाँसी वा फायरिङ स्क्वाडद्वारा दिइन्छ । तरबारले सार्वजनिक रूपमा घाँटी रेटेर मृत्युदण्ड दिने व्यवस्था कतारमा छैन । कतारले दिने मृत्युदण्डका घटना बिरलै सतहमा आउँछन् । पछिल्लो समय सन् २०२० मा नेपालीलाई फाँसी दिइएको थियो । त्यसभन्दा अगाडि सन् २००० तिर मृत्युदण्ड दिएको घटना बाहिर आएको थियो । भाइरल भइरहेको भिडिओमा ढोकामा देखिने अरेबिक शब्दले पनि ‍यो स्थान कुनै कबीलाको पाहुनाघर वा सामुदायिक सभाहल भएको जनाउँछ ।‍

निष्कर्ष

‘कतारमा यसरी दिइन्छ मृत्युदण्ड’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडिओको दाबी पुष्टि हुन सकेन । कतारमा तरबार प्रयोग गरेर मृत्युदण्ड दिने कुनै कानुनी व्यवस्था छैन । त्यहाँ मृत्युदण्ड केवल गम्भीर प्रकृतिका अपराधमा मात्रै दिइन्छ, त्यो पनि फाँसी वा फायरिङ स्क्वाडमार्फत कार्यान्वयन गरिन्छ । यस्तो सजायको घटना पनि दुर्लभ रूपमा मात्र सार्वजनिक हुने गरेको देखिन्छ । भिडिओमा तरबार बोकेका पुरुष, शृङ्खलाबद्ध दृश्य, विशेष पोसाक र सांस्कृतिक शैलीमा देखिएका गतिविधि तथा अरबी म्युजिकको प्रयोग भएका कारण यो सांस्कृतिक नाटक वा शुट गरिएको प्रस्तुति हुन सक्ने प्रबल सम्भावना देखिन्छ । भिडिओका प्रमुख कि–फ्रेमहरू गुगल र बिङ जस्ता सर्च इन्जिनमा रिभर्स इमेज सर्च गर्दा कम्युनिटी गाइडलाइन्सको उल्लङ्घन भन्दै स्रोत फेला परेन । यद्यपि त्यही प्रकृतिका भिडिओहरू यान्डेक्सजस्ता अन्य प्लेटफर्ममा फेला परेकोले, विषयले सामाजिक सञ्जालमा भ्रम फैलाउने सम्भावना बोकेको देखिन्छ । हामीले भिडियोको ठोस स्रोत र वास्तविकता पुष्टि गर्न नसकेकाले यसलाई ‘अपुष्ट सूचना’को रूपमा फ्ल्याग गरेका छौं ।

 

 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १९:५५