दुर्घटनामा परे हर्क साम्पाङ, ट्राफिक नियम मिचेर बाइक चलाएको भन्दै कारबाही गर्न माग
जेठ २२, २०८३ १०:९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ सडक दुर्घटनामा परेका छन् । उदयपुरको कटारीबाट फर्कने क्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा उनको हात र शरीरका केही भागमा सामान्य चोट लागेको छ ।
दुर्घटना हुनुअघि सांसद साम्पाङले आफैँले मोबाइल समातेर भिडिओ खिच्दै मोटरसाइकल चलाएको पाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा उनले एक हातले मात्र मोटरसाइकलको ह्यान्डल समातेको र अर्को हातले सेल्फी भिडिओ खिचिरहेको देखिन्छ । भिडिओमा उनले लगाएको हेल्मेटको फिता समेत नलगाएको देखिएको छ ।
दुर्घटनापछि आफैँले खिचेको अर्को भिडिओमा साम्पाङले पाखुरामा लागेको चोट देखाउँदै अगाडिको गाडीले बाटोको ढुङ्गा ‘क्रस’ गरेपछि आफूले एक्कासि देख्दा नियन्त्रण गर्न नसकेको बताएका छन् । उनले दुर्घटनालाई सामान्य रूपमा लिँदै भनेका छन्, “अलिअलि पिल्सेको छ, पिल्सिनु पर्छ । दुखाइको महसुस पनि हुनुपर्छ ।”
उनले घटना सुनाउँदै भनेका छन्, “हिजो धेरै पछाडि बाइकमा गइएको थियो । सरररर पहिला बाइकमा कता खोटाङ कता कता पुग्ने मान्छे । कटारीबाट फर्कने क्रममा चाहिँ यत्रो ढुङ्गा रहेछ के बाटोमा । अगाडि गाडी जाँदै थियो, त्यसको पछि-पछि म थिएँ । अनि त्यो गाडीले... स्याट्ट अब देखिएन नि त अगाडि... बाटोमा यत्रो ढुङ्गा रहेछ के । पछि-पछि म जाँदै थिएँ, गाडी उता गइसकेपछि चाहिँ त्यो ढुङ्गा झट्ट आयो । अनि त्यो ढुङ्गामा टक्क ठोक्किएर सामान्य लडेको हो । त्यस्तो कुरा केही छैन ।”
राष्ट्रिय पार्टीको अध्यक्ष र सांसदजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले नै सडकमा लापरवाहीपूर्ण तरिकाले सवारी चलाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । फेसबुक सयौँ प्रयोगकर्ताले प्रहरीलाई मेन्सन गर्दै उनलाई कारबाही गर्न माग गरेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, “नियम बनाउने ठाउँमा बसेका सांसदले नै एक हातले भिडिओ खिच्दै र हेल्मेटको फिता नलगाई बाइक चलाउनु सरासर ट्राफिक नियमको उल्लंघन हो । सर्वसाधारणलाई जस्तै उनलाई पनि कानुनी दायरामा ल्याइनुपर्छ ।”
सर्वसाधारणले नियम मिच्दा प्रहरीले भिडिओ बनाएर सार्वजनिक गर्ने गरेकोले सांसद जस्तो ओहदाको व्यक्तिले नियम मिच्दा पनि उस्तै शैलीको कारबाही हुनुपर्ने तर्क समेत उनीहरूले गरेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १२:४९
