आफ्नो फेसबुक पेज बारम्बार बन्द गरेपछि मार्क स्टिफन जुकरबर्गले गरे मेटाविरुद्ध मुद्दा दायर
भदौ २१, २०८२ १४:५०
काठमाडौँ । अमेरिकाका एक वकिल मार्क स्टिफन जुकरबर्गले मेटामाथि मुद्दा दायर गरेका छन् । फेसबुकले कम्पनीका मालिक मार्क जुकरबर्गको नक्कल गरेको आरोप लगाउँदै आफ्नो पेज बारम्बार हटाइदिएको भन्दै उनले २ सेप्टेम्बरमा इन्डियाना राज्यको काउन्टी अफ म्यारियोनमा मुद्दा दायर गरेका हुन् ।
वकिल जुकरबर्गले आफूसँग यो नाम फेसबुकका सीईओभन्दा धेरै पहिलेदेखि नै रहेको दाबी गरेका छन् ।
ब्याङक्रप्सी सम्बन्धी वकिल जुकरबर्गले आफ्नो सेवाको प्रचारप्रसारका लागि फेसबुकमा हजारौं डलर खर्च गरे पनि उनको पेज बारम्बार ब्लक गरिएको गुनासो गरेका हुन् । उनले आफ्नो बिजनेस र व्यक्तिगत दुवै पेज ‘एक सेलिब्रेटीको नक्कल गरेको’ भन्दै बारम्बार हटाइएको उल्लेख गरेका छन् ।
यसका कारण उनले ११ हजार डलर (करिब साढे १५ लाख रुपैयाँ) भन्दा बढी रकम विज्ञापनमा खर्च गरिसकेका छन् ।
“यो हास्यास्पद होइन,” वकिल जुकरबर्गले स्थानीय समाचार च्यानल डब्लुटीएचआरलाई भने, “अझ मेरो पैसा लिइसकेपछि त यो गर्नु जायज नै होइन ।”
उनले आफ्नो खाता फिर्ता गर्न महिनौं लाग्ने गरेको र यसले व्यवसायमा ठूलो नोक्सानी पुर्याएको गुनासो गरेका छन् । वकिल जुकरबर्गका अनुसार उनको पेज आठ वर्षमा पाँच पटक डिसेबल भएको छ । उनले कम्पनीले ‘उचित व्यवहार’ सम्बन्धी कानून तोडेको आरोप लगाएका छन् ।
“म उनीहरूसँग झगडा गर्न चाहन्नँ तर मलाई उनीहरूलाई कसरी रोक्ने भन्ने थाहा छैन,” उनले भने, “उनीहरूको ध्यान आकर्षित गर्ने अरू कुनै उपाय नै छैन ।”
विश्वका तेस्रो धनी व्यक्तिसँग नाम जुधेका कारण वकिल जुकरबर्गको जीवन नै उल्टो बनेको भन्दै दुखेसो पोखेका छन् । उनले ज्यान मार्ने धम्की र निरन्तर प्राविधिक सहायताका लागि फोन कल आउने गरेको बताएका छन् । उनले नाम जुधेका कारण आफ्नो जीवनमा परेका असरलाई समेटेर एउटा वेबसाइट नै बनाएका छन् । यहाँ क्लिक गरेर उनको उक्त वेबसाइट हेर्न सकिन्छ ।
उक्त वेबसाइटमा उनले गलत पहिचानका कारण वाशिङटन राज्यबाट मुद्दा खेप्नुपरेको, नोटिफिकेसनको ओइरोका कारण रातमा फोन बन्द गर्नुपरेको, दैनिक १०० भन्दा बढी फ्रेन्ड रिक्वेस्ट आउने र रेस्टुरेन्ट बुक गर्दा नक्कली नाम प्रयोग गर्नुपरेको विषय उल्लेख गरेका छन् । एक पटक लस भेगासमा एक लिमो चालकले उनको नाम बोकेको साइन बोर्ड लिएर पर्खिरहेका थिए । तर, त्यहाँ उपस्थित सर्वसाधारणमा मेटाका सीईओ आउन लागेको भन्दै ती चालकलाई घेरेका थिए ।
वकील जुकरबर्गले ३८ वर्षदेखि वकालत गरिरहेका छन् जबकि फेसबुकका सीईओ जुकरबर्ग त्यतिबेला तीन वर्षका मात्र थिए ।
यस विषयमा मेटाले प्रतिक्रिया दिँदै भनेको छ, “हामीलाई थाहा छ संसारमा एकभन्दा बढी मार्क जुकरबर्ग छन् र हामी यसको छानबिन गरिरहेका छौं ।”
वकील जुकरबर्गले मेटाका अर्बपतिले उनलाई आफ्नो सुपरयाचमा एक हप्ता बिताउन दिएमा सन्तुष्ट हुने बताए । “यदि उनले ‘मलाई माफ गर्नुहोस्’ भन्नका लागि आफ्नो डुङ्गामा एक हप्ता बिताउन दिएमा म सायद त्यो स्वीकार गर्नेछु,” उनले भने । हाल उनले क्षतिपूर्ति र कानूनी शुल्कको माग गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २१, २०८२ १४:५०
