काठमाडौँ । इन्स्टाग्रामले हालै एउटा नयाँ फिचर ल्याएको छ, जसले प्रयोगकर्ताहरूलाई आफूले पहिले हेरिसकेका रिल्सहरूलाई फेरि हेर्न मद्दत गर्दछ । जसलाई Watch History पनि भनिन्छ ।
प्रयोगकर्ताहरूले उच्च माग गरेपछि कम्पनीले यो फिचर ल्याएको हो । मानौँ तपाईँ कुनै रमाइलो रिल हेरिरहेको बेला फोन कल आएर, वा गल्तीले एप बन्द भएर वा कुनै कारणले ध्यान भङ्ग भएर भिडिओ सुरक्षित गर्नबाट चुक्नु भयो । यस्तो अवस्थामा यो नयाँ सुविधाले छुटेका भिडिओहरू फेला पार्ने प्रक्रियालाई धेरै सरल बनाउँछ ।
यसले पहिले हराएका भिडिओहरू पुन: प्राप्त गर्नका लागि एपबाट डेटा डाउनलोड गर्ने र त्यसलाई खोतल्ने जस्ता जटिल उपायहरूको आवश्यकताको पनि अन्त्य गर्दछ । इन्स्टाग्रामको वाच हिस्ट्री फिचर प्रयोग गरेर तपाईँले हेरिसकेका रिलहरू पत्ता लगाउन सक्नु हुन्छ ।
कसरी भेट्टाउने हेरिसकेका इन्स्टाग्राम रिल्स ?
सबैभन्दा पहिला आफ्नो Profile (प्रोफाइल) हुँदै Settings (सेटिङ्स) भित्र जानुहोस् ।
अब Your Activity अन्तर्गत तपाईँले Watch History (वाच हिस्ट्री) पाउनु हुनेछ । Watch History भित्र प्रवेश गरेपछि तपाईँले हेरेका सबै रिलहरूको सूची देख्नु हुनेछ ।
तपाईँले रिलहरूलाई मितिको रूपमा पछिल्लो हप्ता वा महिना वा कुनै निश्चित मितिको दायरा अनुसार क्रमबद्ध गर्न सक्नुहुन्छ । यस बाहेक तपाईँले भिडिओहरूलाई नयाँदेखि पुरानो वा पुरानोदेखि नयाँ कालक्रममा मिलाउन सक्नुहुन्छ ।
त्यस्तै अथर अर्थात् रिल्स क्रियटरको नामबाट समेत हेरिसकेका रिल्सको सूची निकाल्न मिल्छ । यसबाट तपाईँले चाहेको खण्डमा आफूले हेरिसकेको कुनै रिल हिस्ट्रीबाट हटाउन पनि सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८२ ११:८
