मेटाले फेसबुक-इन्स्टाग्राममा स्क्यामको विज्ञापन गरेरै १६ अर्ब डलर कमाएको खुलासा
कात्तिक २४, २०८२ १४:३०
काठमाडौँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले सन् २०२४ मा गरेको कूल आम्दानीको १० प्रतिशत हिस्सा ठगी र जालसाजी जन्य विज्ञापनबाट रहेको खुलासा भएको छ । रोयटर्सले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो ।
रोयटर्सको प्रतिवेदन अनुसार मेटाले सन् २०२४ मा कूल १६४.५ अर्ब बराबरको बिक्री गरेको थियो । यसको १० प्रतिशत हिस्सा अर्थात् १६ अर्ब डलरभन्दा बढी रकम कम्पनीले स्क्याम विज्ञापनबाट आर्जन गरेको हो ।
रोयटर्सका अनुसार यो प्रतिवेदन मेटाका आन्तरिक कागजातमा आधारित छ । प्रतिवेदन अनुसार यी विज्ञापन नक्कली ई-कमर्स र लगानी योजना, अवैध अनलाइन जुवा र प्रतिबन्धित चिकित्सा उत्पादनको बिक्रीको प्रचारसँग सम्बन्धित थिए ।
रोयटर्सले डिसेम्बर २०२४ को एक आन्तरिक कागजातलाई उद्धृत गरेको छ । उक्त कागजात अनुसार मेटाले हरेक वर्ष स्पष्ट रूपमा भ्रामक हुने ‘उच्च जोखिम’ ठगी विज्ञापनबाट वार्षिक करिब ७ अर्ब डलर आर्जन गर्छ ।
कम्पनीकै अर्को एक कागजातले खुलासा गरे अनुसार मेटाले दैनिक रूपमा आफ्ना प्रयोगकर्तालाई यस्ता उच्च जोखिमयुक्त ठगी विज्ञापन अनुमानित १५ अर्ब पटक देखाउने गरेको छ । मेटाले गत हप्ता मात्रै तेस्रो त्रैमासिक बिक्री २६ प्रतिशतले बढेर ५१.२४ अर्ब डलर पुगेको जानकारी दिएको थियो ।
आन्तरिक कागजातले मेटाले आफ्ना प्लेटफर्ममा नक्कली विज्ञापनको मात्रा घटाउने लक्ष्य राखेको देखिएको छ । यद्यपि ठगी प्रचारलाई अचानक हटाउँदा कम्पनीको व्यापार प्रक्षेपणमा नकारात्मक असर पर्न सक्ने चिन्ता मेटामा रहेको पाइन्छ ।
रोयटर्सले उल्लेख गरे अनुसार कम्पनीका उच्च अधिकारी ती ठगी विज्ञापनको मुनाफा हटाउँदा समग्र आम्दानीको प्रक्षेपणमा कमी आउन सक्ने डरले त्यसलाई नियन्त्रण गर्न हिचकिचाएका थिए ।
यसैबिच मेटाले उक्त प्रतिवेदनमा दाबी गरिएको १० प्रतिशत आम्दानी ठगी विज्ञापनबाट भएको अनुमानलाई अस्वीकार गरेको छ । मेटाका एक प्रवक्ताले कम्पनीले आफ्ना एपमा ठगी र जालसाजी विज्ञापनलाई ‘आक्रामक रूपमा’ सम्बोधन गरिरहेको बताएका छन् ।
उनले ठगी विज्ञापनबाट कम्पनीको आम्दानी १० प्रतिशत रहेको अनुमानलाई अस्वीकार गर्दै भने, “यो परिणामजन्य वा अन्तिम तथ्याङ्कभन्दा बढी सामान्य र अति समावेशी अनुमान मात्र थियो । वास्तवमा पछिको समीक्षाले यीमध्ये धेरै विज्ञापनले कुनै नियम उल्लङ्घन नगरेको देखाएको छ ।”
पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८२ १४:३०

