च्याटजीपीटीलाई टक्कर दिने जेमिनाई ३ ल्याएपछि गुगलका सहसंस्थापक ल्यारी पेज बने विश्वकै दोस्रो धनी व्यक्ति
मंसिर १३, २०८२ ९:४१
काठमाडौँ । गुगलको माउ कम्पनी अल्फाबेटको शेयर मूल्यमा आएको निरन्तरको वृद्धिसँगै यसका सह-संस्थापक ल्यारी पेज विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । गएको सोमबार ओर्याकलका अध्यक्ष ल्यारी एलिसनलाई पछि पार्दै पेज यो स्थानमा उक्लिएका हुन् ।
एआईको क्षेत्रमा अल्फाबेटले हासिल गरेको प्रगतिले लगानीकर्तामा उत्साह थपिँदा कम्पनीको शेयर मूल्य आकासिएको छ । शुक्रबारसम्म पनि ल्यारी पेज विश्वकै दोस्रो धनाढ्य व्यक्तिको सूचीमा छन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति २६२.२ खर्ब डलर रहेको छ । उता ब्लुम्बर्गले भने ल्यारी पेजको सम्पत्ति २७३ अर्ब डलर रहेको उल्लेख गरेको छ ।
टेक बिलिनियर एलन मस्क ४८० अर्ब डलर सम्पत्तिका साथ धनाढ्य सूचीको शीर्ष स्थानमा छन् । लामो समयदेखि मस्कले यो स्थान कब्जा गर्दै आएका छन् ।
सोमबार बजार खुल्दा अल्फाबेटको शेयर ५.८ प्रतिशतले बढेर करिब ३१७ डलर पुगेको थियो । शुक्रबारसम्म आइपुग्दा ३२०.२८ डलर पुगेको छ ।
यसअघि गत साता पनि कम्पनीको शेयरमा ८.४ प्रतिशतको वृद्धि देखिएको थियो । १ अगस्टमा १८७.८२ डलरको न्यूनतम विन्दुमा पुगेको अल्फाबेटको शेयर त्यसयता ७०.४३ प्रतिशतले बढिसकेको छ ।
फोर्ब्सका अनुसार सोमबार एकैदिन ८.७ अर्ब डलर सम्पत्ति थपिएपछि ल्यारी पेजको कुल सम्पत्ति २५५ अर्ब डलर पुगेको थियो । शुक्रबारसम्म आइपुग्दा उनको सम्पत्ति २६२.२ अर्ब डलर पुगेको छ । सन् २०२० मा ५०.९ अर्ब डलर सम्पत्ति रहेका पेजको सम्पत्ति पछिल्लो पाँच वर्षमा तीव्र गतिमा बढेको छ ।
यता कुनै समय ४०० अर्ब डलर सम्पत्ति नाघेर दोस्रो धनी बनेका ओर्याकलका ल्यारी एलिसनको सम्पत्ति भने ओर्याकलको शेयर घटेसँगै २५६.२ अर्ब डलरमा सीमित भएको छ ।
यसैगरी गुगलका अर्का सह-संस्थापक सर्गेई ब्रिन पनि अमेजनका जेफ बेजोस (२४१.१ अर्ब डलर) लाई पछि पार्दै २४३.१ अर्ब डलरको सम्पत्तिका साथ विश्वका चौथो धनी व्यक्ति बनेका छन् ।
अल्फाबेटको एआई व्यवसायप्रतिको बढ्दो विश्वासले शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । हालै कम्पनीले आफ्नो नयाँ एआई मोडेल ‘जेमिनाई ३’ सार्वजनिक गरेपछि शेयरमा थप ६ प्रतिशतको उछाल आएको थियो । साथै वारेन बफेटको कम्पनी बर्कशायर हाथवेले अल्फाबेटमा करिब ५ अर्ब डलर लगानी गरेको खबरले पनि लगानीकर्तालाई आकर्षित गरेको छ ।
कम्पनीले गत महिना पहिलो पटक त्रैमासिक राजस्व १०० अर्ब डलर नाघेको र क्लाउड आयमा ३४ प्रतिशत वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको थियो ।
एआई क्षेत्रमा ‘बबल’ (अस्वाभाविक वृद्धि) को डर बढ्दै गएकाले ओर्याकल, एनभिडिया, ब्रोडकम जस्ता कम्पनीको शेयरमा दबाब परेको छ । बैंक अफ अमेरिकाको सर्वेक्षण अनुसार ४५ प्रतिशत लगानीकर्ताले एआई बबललाई प्रमुख जोखिम मानेका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर १३, २०८२ ९:४९
