close

इन्स्टाग्रामको नयाँ फिचर, जाडोको बेला गोजीबाट हात ननिकालेरै रिल्स हेर्न सकिने

टेकपाना टेकपाना

पुस २, २०८२ ९:४०

इन्स्टाग्रामको नयाँ फिचर, जाडोको बेला गोजीबाट हात ननिकालेरै रिल्स हेर्न सकिने

काठमाडौँ । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि एउटा महत्त्वपूर्ण अपडेट ल्याएको छ, जसमा 'अटो स्क्रोल फिचर' (Auto Scroll Feature) समावेश छ । यो नयाँ फिचरले रिल्स हेर्ने तरिकालाई पूर्ण रूपमा बदल्नेछ । खासगरी जाडो मौसममा रिल्स हेर्नका लागि इन्स्टाग्रामले यो राम्रो व्यवस्था गरेको हो ।

यो फिचर रिल्सका लागि विशेष रूपमा प्रस्तुत गरिएको छ । यसलाई सक्रिय (अन) गरेपछि प्रयोगकर्ताहरूले एकपछि अर्को रिल हेर्नका लागि फोनलाई छुनु पर्दैन वा स्क्रिनमा माथि (स्वाइप) गर्नु पर्दैन । यो काम एपमा आफैँ हुन्छ । सरल शब्दमा भन्नुपर्दा, तपाईँले फोनलाई कुनै निश्चित स्थानमा राखेर लगातार नयाँ रिल्सको मज्जा लिन सक्नुहुन्छ ।

यो फिचर अन गरेपछि एउटा रिल समाप्त भएपछि, अर्को नयाँ रिल स्वतः तपाईंको अगाडि आउँछ । यसले गर्दा प्रयोगकर्ताहरूले आफ्नो हात गोजी भित्र तातो राख्दै (चिसोमा) कुनै अरू काम गर्दागर्दै  रिल्स हेर्न सक्छन् ।

 

कसरी गर्ने प्रयोग ?

यो अटो स्क्रोल फिचर आफैँ अन गरिएको भने हुँदैन । त्यसैले यसलाई प्रयोग गर्नका लागि तपाईंले आफैंले अन गर्नुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिला आफ्नो फोनमा भएको इन्स्टाग्राम एप अपडेट भएको सुनिश्चित गर्नुहोस् (एप स्टोर वा प्ले स्टोरबाट) ।

अब इन्स्टाग्राम एप खोल्नुहोस् र कुनै पनि रिल सुरु गर्नुहोस् । रिलको दायाँतिर रहेको लाइक, कमेन्ट र रिपोस्ट गर्ने विकल्पहरूको तल रहेको तीनवटा थोप्लामा ट्याप गर्नुहोस् । त्यसपछि, तपाईंले अटो स्क्रोल फिचरको विकल्प देख्नुहुनेछ र यसलाई अन गर्नुहोस् ।

यो फिचर अन गरिसकेपछि, तपाईंको इन्स्टाग्राम एपमा रिल्स आफैँ स्क्रोल हुन थाल्छन् । यदि अन गरेपछि कुनै कारणले फिचरले काम गरेन भने, एक पटक एप बन्द गरेर फेरि सुरु गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस २, २०८२ ९:४१