close

चुनावमा मिथ्या सूचना नियन्त्रण गर्न मेटा र टिकटकले निर्वाचन आयोगलाई सघाउने

टेकपाना टेकपाना

पुस २६, २०८२ १६:४९

चुनावमा मिथ्या सूचना नियन्त्रण गर्न मेटा र टिकटकले निर्वाचन आयोगलाई सघाउने

काठमाडौँ । आगामी २१ फागुनका लागि घोषित प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन दुई ठुला सामाजिक सञ्जाल प्लेटफर्म मेटा र टिकटक निर्वाचन आयोगको सम्पर्कमा आएका छन् । यी दुवै प्लेटफर्मले निर्वाचनका क्रममा सामाजिक सञ्जालमा फैलिन सक्ने निर्वाचन लक्षित मिथ्या सूचना नियन्त्रणमा आयोगलाई प्राविधिक सहयोग गर्ने भएका हुन् ।

निर्वाचनमा सहयोगको अपेक्षा गर्दै आयोगले गरेको पत्राचारको जवाफमा फेसबुकको माउ कम्पनी मेटा र टिकटकले सकारात्मक प्रतिक्रिया पठाएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

"मेटा र टिकटकका प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । हामीले सम्पर्क गर्दा उहाँहरू सघाउन तयार देखिनुभएको छ," प्रवक्ता भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा भने, "त्यसबाहेक अन्य सामाजिक सञ्जालहरूसँग पनि सम्पर्क गर्ने प्रयास भइरहेको छ । निर्वाचन सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुनेमा आयोग विश्वस्त छ ।"

भट्टराईले अगाडि भने, "अन्य सामाजिक सञ्जालहरूले पनि विगतका निर्वाचनमा जस्तै यसपटक पनि सहयोग गर्ने विश्वासका साथ आयोगले काम अगाडि बढाइरहेको छ ।"

निर्वाचन आचारसंहितामा उल्लेखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गराउन र सामाजिक सञ्जालमार्फत हुन सक्ने आचारसंहिता उल्लंघन रोक्न आयोगले विभिन्न कम्पनीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८२ १०:४१