प्रत्येक महिना तीन अर्बभन्दा बढी मानिसहरूले ह्वाट्सएप प्रयोग गर्छन् । सन् २००९ मा स्थापना भएको यो प्लेटफर्मका प्रयोगकर्ता युट्युबभन्दा बढी र फेसबुकको हाराहारीमा छन् ।
यो प्लेटफर्मका सह-संस्थापकहरू जेन कोउम र ब्रायन एक्टनले यसलाई ब्ल्याकबेरी, नोकिया र विन्डोज फोनहरूमा पनि आईफोनमा जस्तै राम्रोसँग चल्ने गरी बनाएका थिए । यो चाँडै नै विभिन्न उपकरण र देशहरूमा मानिसहरूका लागि कुराकानी गर्ने माध्यम बन्यो ।
सन् २०१४ मा कोउम र एक्टनले यो एप मेटा (त्यति बेलाको फेसबुक) लाई बेचे र ह्वाट्सएप लगातार वृद्धिको दिशामा अघि बढिरहेको छ । यो एपले अन्य मेसेजिङ र सामाजिक सञ्जाल प्लेटफर्महरूलाई किन उछिन्यो र यो अब कहाँ जाँदैछ भन्ने बारेमा नाइटसँग न्युयोर्कर म्यागेजिनले कुराकानी गरेको छ । यहाँ सोही कुराकानीको सम्पादित तथा अनुवादित अंश प्रस्तुत गरेका छौँ ।
अहिले नै ह्वाट्सएपको बारेमा किन लेख्ने ?
गत वर्षको मध्यतिर मलाई लाग्यो, "म मेरो फोनको यो एउटै ठाउँबाट यति धेरै सञ्चार गरिरहेको छु ।" म मेरी आमासँग यसैगरी कुरा गर्छु । मेरा बच्चाहरूको स्कुलसँग सम्बन्धित सबै काम म यसैबाट गर्छु । म मेरो काम पनि यसैबाट गर्छु ।
बेलायती राजनीति, जसको बारेमा म म्यागजिनका लागि लेख्छु, त्यो धेरै हदसम्म ह्वाट्सएपमै सञ्चालित हुन्छ । र तपाईंले अहिले ह्वाट्सएपमा व्यवसायहरू पनि देख्न थाल्नुभएको छ ।
ह्वाट्सएपका केही संस्करणहरूबाट तपाईंले आफ्नो उडानको लागि 'चेक-इन' समेत गर्न सक्नुहुन्छ । यो सबै तुलनात्मक रूपमा छोटो अवधिमा भएको हो । र मैले सोचेँ, मलाई यो कसरी काम गर्छ भन्ने थाहा छैन । मलाई यो एपको बारेमा धेरै थाहा छैन ।
स्मार्टफोन स्वामित्वको मामलामा अमेरिका एक किसिमको अपवाद हो । ह्वाट्सएपका करिब ७५ प्रतिशत मानिसहरू एन्ड्रोइड प्रयोगकर्ता छन् र २५ प्रतिशत मानिसहरू आईफोनमा छन् ।
र यसले विश्वभरको स्मार्टफोन स्वामित्वलाई झल्काउँछ । अमेरिका यसमा अपवाद हो: जहाँ करिब ६० प्रतिशत मानिसहरूसँग आईफोन छ । तर यो परिवर्तन हुँदैछ र ह्वाट्सएप अमेरिकामा निकै छिटो बढिरहेको छ ।
गत वर्ष अमेरिकामा यसका मासिक प्रयोगकर्ता १० करोड नाघेका छन् । यो तपाईंको नजिक आउँदैछ । चिन्ता नगर्नुहोस् ।
खैर, म अहिले तपाईंलाई ह्वाट्सएपमै कल गर्दैछु, त्यसैले स्पष्ट छ कि यसले काम गरिरहेको छ ।
हो ।
तपाईंले फ्याटिक कम्युनियन (phatic communion) को यो रोचक अवधारणा ल्याउनुभएको छ, जुन विशेषगरी ह्वाट्सएपमा राम्रोसँग लागु हुन्छ । यसको अर्थ के हो ?
मैले यो बुझ्न चाहेको थिएँ कि किन ह्वाट्सएपले एक प्रकारको भावनात्मक सामीप्यतालाई प्रोत्साहन गर्छ ? यसका सबै स्टिकर र इमोजीहरूका कारण यसमा धेरै स्वागतयोग्य अनुभूति हुन्छ ।
यी सबैको बारेमा पढ्दै गर्दा मैले फ्याटिक कम्युनियन भन्ने शब्द फेला पारेँ, जसले मानिसहरूले एकअर्कासँग कुरा गर्दा वास्तवमा केही नभनी केवल आफ्नो उपस्थितिको जानकारी दिने कार्यलाई बुझाउँछ । तिनीहरू केवल यो स्वीकार गरिरहेका हुन्छन् कि, "म यहाँ छु ।"
ह्वाट्सएप त्यस्तो प्रकारको उपस्थितिको आभास गराउनमा निकै उत्कृष्ट छ - जस्तै सानो टाइपिङ इन्डिकेटर र लास्ट-सिन (last-seen) इन्डिकेटरहरू । यसले यो जनाउँछ कि तपाईंको साथी वा पार्टनर वा परिवारको सदस्य त्यही समयमा आफ्नो डिभाइसमा छन्, जुन समयमा तपाईं हुनुहुन्छ । त्यस बाहेक यी कुराहरूको कुनै ठुलो अर्थ हुँदैन ।
र यो अनलाइन व्यवहारको एक साँच्चै महत्त्वपूर्ण अंश जस्तो लाग्यो । हामी अहिले निरन्तर सम्पर्कमा छौं । र, विशेष गरी पारिवारिक ह्वाट्सएप ग्रुपहरूमा यो साँच्चै अचम्मको छ ।
मैले कुरा गरेको एक व्यक्तिले भने कि यो फेरि १९ औँ शताब्दी जस्तै महसुस हुन्छ, मानौँ पूरै परिवार एउटै घरमा फिर्ता भएका छन् । ह्वाट्सएप त्यसका लागि एक प्रकारको घर बन्नमा धेरै राम्रो छ ।
ह्वाट्सएप स्थापना भएदेखि धेरै परिवर्तन भएको छ । यद्यपि मेसेज पठाउनु यसको प्राथमिक उपयोगिता रहिरहेको छ । यसले हालै विज्ञापन र अन्य कार्यहरू पनि सुरु गरेको छ । यसमा मेटाको स्वामित्व हुनुले कति असर पारेको छ ?
यदि तपाईंले मेटा बाहिरका मानिसहरूसँग कुरा गर्नुभयो भने, त्यहाँ एउटा स्पष्ट धारणा छ कि ह्वाट्सएप बढ्दो रूपमा कर्पोरेटहरू र प्लेटफर्म प्रयोग गर्न पैसा तिरिरहेका मानिसहरूको हितमा केन्द्रित हुँदैछ । यसले फेसबुक र इन्स्टाग्राम जस्तै विज्ञापन थप्ने र मनिटाइज गर्ने मेटाको स्पष्ट रणनीति पछ्याइरहेको छ ।
यदि तपाईंले मेटासँग कुरा गर्नुभयो भने, उनीहरू तर्क गर्छन् कि मानिसहरूले जे चाहन्छन्, त्यही भइरहेको छ । मानिसहरू व्यवसायहरूसँग सञ्चार गर्न चाहन्छन् ।
करोडौं व्यवसायहरूले यसलाई पहिले नै प्रयोग गरिरहेका थिए । उनीहरूले केवल त्यो गर्नका लागि एउटा व्यावसायिक प्लेटफर्म थपेका छन् । यद्यपि, उनीहरू यो पनि भन्छन् कि मानिसहरू त्यहाँ जानै पर्छ भन्ने छैन । प्रयोगकर्ताहरूले अझै पनि आफ्ना साथीहरू र परिवारसँग निजी कुराकानी गर्न सक्छन् ।
त्यसोभए, ह्वाट्सएपको लागि अब अगाडि के छ ? के यो आफ्नो शिखरमा पुगिसकेको हो ?
मलाई लाग्दैन कि मेटाले यसलाई त्यसरी हेर्छ । विश्वको सबैभन्दा ठुला एपहरू मध्ये एक भए तापनि ह्वाट्सएपको कमाई नगन्य छ । मलाई लाग्छ मेटाले यसलाई कडा रूपमा मनिटाइज गर्नेछ । र मेटा ह्वाट्सएपमा एआईको बारेमा साँच्चै उत्साहित छ । किनकि यसले तपाईंको च्याटहरूमा मेटा एआई घुसाएको छ । स्पष्ट रूपमा यो ऐच्छिक (वैकल्पिक) हो, तर तपाईंले यसलाई बन्द गर्न सक्नुहुन्न ।
त्यसैले 'ऐच्छिक' को अर्थ के हो म निश्चित छैन । मलाई लाग्छ कम्पनी केवल डेटा र ट्राफिकको मात्रालाई लिएर साँच्चै उत्साहित छ । यो तीन अर्ब प्रयोगकर्ताहरू सबैले कुराकानी गर्ने र मेटा एआईलाई तालिम दिने एउटा अवधारणा हो । यो एकदमै अचम्मलाग्दो छ ।
पछिल्लो अध्यावधिक: माघ १, २०८२ १७:२२
