close

किशोरकिशोरीले आत्महत्या वा आफैँलाई हानी पुर्‍याउने कुरा खोजे इन्स्टाग्रामले अभिभावकलाई अलर्ट दिने

टेकपाना टेकपाना

फागुन १५, २०८२ ११:४६

किशोरकिशोरीले आत्महत्या वा आफैँलाई हानी पुर्‍याउने कुरा खोजे इन्स्टाग्रामले अभिभावकलाई अलर्ट दिने

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले आफ्ना किशोर प्रयोगकर्ताहरूले आत्महत्या वा आफैलाई हानी पुर्‍याउने विषयसँग सम्बन्धित शब्दहरू पटक-पटक सर्च गरेमा उनीहरूका अभिभावकहरूलाई अलर्ट वा सचेत गराउने नयाँ प्रणाली सुरु गर्ने भएको छ । मेटा कम्पनीले पहिलो पटक आफ्ना प्रयोगकर्ताको सर्च गतिविधिबारे अभिभावकहरूलाई यसरी सक्रिय रूपमा जानकारी दिन लागेको हो ।

यो सुविधाहरू ती अभिभावकहरूका लागि उपलब्ध हुनेछ, जो इन्स्टाग्रामको प्यारेन्टल सुपरभिजन (Parental Supervision) कार्यक्रममा आबद्ध छन् । यदि १३ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले छोटो समयको अन्तरालमा आत्म-हानी वा आत्महत्यासँग सम्बन्धित शब्दहरू बारम्बार खोजी गरेमा उनीहरूका अभिभावकलाई इमेल, मेसेज, ह्वाट्सएप वा इन्स्टाग्राम एपमार्फत सूचना पठाइनेछ ।

इन्स्टाग्रामका अनुसार यो सुविधा सुरु गर्न किशोर र अभिभावक दुवैको सहमति आवश्यक पर्छ र एक जना अभिभावकले मात्र एउटा अकाउन्टको निगरानी गर्न पाउनेछन् । यो प्रणाली अर्को हप्तादेखि बेलायत, अमेरिका, अस्ट्रेलिया र क्यानडामा लागु हुनेछ भने बाँकी विश्वमा केही समयपछि विस्तार गरिने बीबीसीमा उल्लेख छ ।

मेटाले भने यस्ता अलर्टसँगै अभिभावकहरूलाई कठिन अवस्थामा कुराकानी कसरी अगाडि बढाउने भन्नेबारे विज्ञहरूले तयार पारेका स्रोत र जानकारीहरू पनि उपलब्ध गराइने बताएको छ । यो घोषणा यस्तो समयमा आएको छ जब मेटाले अमेरिकामा दुईवटा ठुला अदालती मुद्दाहरूको सामना गरिरहेको छ ।

लस एन्जलसमा भइरहेको सुनुवाइमा मेटाले जानाजानी आफ्ना प्लेटफर्महरूलाई कुलत लाग्ने खालको बनाएको र बालबालिकालाई हानी पुर्‍याएको आरोप लगाइएको छ । न्यु मेक्सिकोमा भइरहेको अर्को मुद्दामा भने कम्पनीले बालबालिकालाई यौन शोषणबाट बचाउन नसकेको दाबी गरिएको छ ।

गत हप्ता लस एन्जलसको अदालतमा बयान दिने क्रममा मार्क जुकरबर्गले सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा हानी पुर्‍याउँछ भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि नभएको दाबी गरेका थिए । त्यस्तै इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्रयोगकर्ताहरूको उच्च प्रयोगलाई क्लिनिकल एडिक्सन नभई टेलिभिजन धेरै हेरेजस्तै समस्याग्रस्त प्रयोग मात्र भएको बताएका थिए ।

मेटाले आगामी महिनाहरूमा आफ्ना एआई च्याटबटहरूसँग किशोरकिशोरीहरूले गर्ने कुराकानीमा पनि यस्तै खालको निगरानी प्रणाली लागु गर्ने योजना बनाएको छ । यदि कुनै किशोरले एआईसँग आत्महत्या वा आत्म-हानीका विषयमा कुरा गर्न खोजेमा अभिभावकहरूलाई जानकारी दिइने उल्लेख छ । 

 

पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ २०:११