close

निर्वाचनको बेला मिथ्या सूचना फैलाउनेलाई सामाजिक सञ्जालमा अनफलो, अनफ्रेन्ड र ब्लक गर्ने अभियान चला‍औँ

टेकपाना टेकपाना

फागुन १६, २०८२ १६:१२

निर्वाचनको बेला मिथ्या सूचना फैलाउनेलाई सामाजिक सञ्जालमा अनफलो, अनफ्रेन्ड र ब्लक गर्ने अभियान चला‍औँ

काठमाडौँ । १२ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा मिथ्या सूचना, भ्रामक विवरण र द्वेषपूर्ण सामग्रीको बाढी नै आएको छ । विशेषगरी फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्महरू अहिले निर्वाचन लक्षित प्रचारप्रसारका साथै एक-अर्काको चरित्रहत्या गर्ने 'डिजिटल रणमैदान' बनेका छन् ।

यस्तो अवस्थामा आफ्नो मानसिक शान्ति जोगाउन र सही सूचना मात्र प्राप्त गर्न प्रयोगकर्ताहरूले 'डिजिटल स्वच्छता' (Digital Hygiene) अपनाउनु अपरिहार्य छ ।

निर्वाचनको समयमा फैलने गलत सूचनाबाट बच्नका लागि यहाँ केही सुझावहरू प्रस्तुत गरिएका छन्:

१. मिथ्या, भ्रामक र द्वेषपूर्ण सूचनाको पहिचान गर्नुहोस्

गलत सूचनालाई मुख्य तीन भागमा बाँड्नु होस् । पहिलो मिथ्या सूचना (Misinformation), जुन अन्जानमा वा बिना कुनै हानी गर्ने उद्देश्यले शेयर गरिएको गलत जानकारी हो । दोस्रो, भ्रामक सूचना (Disinformation), यो चाहिँ जानाजान मानिसहरूलाई झुक्याउन वा हानी पुर्‍याउन सिर्जना गरिन्छ ।

तेस्रो, द्वेषपूर्ण सूचना (Malinformation), जसमा वास्तविक तथ्यलाई नै गलत सन्दर्भमा प्रयोग गरेर कसैको व्यक्तिगत जीवनमा क्षति पुर्‍याउने काम गरिन्छ । उदाहरणका लागि मालइन्फर्मेसन (Malinformation) भनेको कसैको पुरानो व्यक्तिगत तस्बिर वा निजी मेसेज साँचो नै भए पनि उसको प्रतिष्ठामा हानि पुर्‍याउने उद्देश्यले सामाजिक सञ्जालमा फैलाउनु हो ।

त्यस्तै डिशइन्फर्मेसन (Disinformation) भनेको चाहिँ कुनै व्यक्तिले अपराध गरेको झुटो खबर बनाएर सामाजिक सञ्जालमा फैलाउनु हो, ताकि मानिसहरू भ्रमित होऊन् । यस्ता सामग्री फैलाउने जोकोहीलाई आफ्नो नेटवर्कबाट हटाउनु नै बुद्धिमानी हुन्छ ।

२. शङ्कास्पद अकाउन्टहरूलाई तत्काल ब्लक गर्नुहोस्

नक्कली अकाउन्टहरू चिन्नका लागि केही 'रेड फ्ल्याग' हरू छन् । यदि कुनै अकाउन्ट भर्खरै खोलिएको छ, जसमा थोरै मात्र फलोअर छन् र प्रोफाइलमा एआई सिर्जित वा स्टक इमेज अथवा अरू कसैको फोटो प्रयोग गरिएको छ भने त्यस्ता अकाउन्टबाट आउने सूचनामा विश्वास नगर्नुहोस् । निर्वाचनका बेला राजनीतिक दलहरूले संगठित रूपमा 'साइबर फोर्स'  नै परिचालन गर्ने गरेका छन् । यदि कुनै अकाउन्टले लगातार अपमानजनक सामग्री पोस्ट गरिरहेको छ वा पहिले पनि त्यसका दाबीहरू झुटो साबित भइसकेका छन् भने त्यस्ता प्रयोगकर्तालाई तत्काल ब्लक गर्नुहोस्, चाहे तपाईँले चिनेकै व्यक्ति किन नहोस् ।

३. एआई र डिपफेक सामग्रीबाट सतर्क रहनुहोस्

निर्वाचन आयोगले यसपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित 'डिपफेक' र 'म्यानिपुलेटेड' अडियो-भिडिओमा कडाइ गरेको छ । कतिपय चर्चित फेसबुक पेजहरूले भावनात्मक र व्यक्तित्व-केन्द्रित सामग्रीलाई एल्गोरिदम मार्फत बढी फैलाइरहेका छन् भने केही अनलाइन सञ्चार माध्यम नियोजित रूपमा प्रयोग भइरहेका हुन सक्छन् । यदि तपाईंको फिडमा यस्ता अप्राकृतिक र शङ्कास्पद एआई निर्मित फोटो वा भिडिओहरू आइरहन्छन् भने ती पेजहरूलाई अनफलो गर्नु नै उत्तम विकल्प हो ।

४. महिला उम्मेदवार लक्षित चरित्रहत्या रोक्न अनफ्रेन्ड गर्नुहोस्

निर्वाचनको समयमा महिला उम्मेदवारहरूमाथि अनलाइन हिंसा र चरित्रहत्याको जोखिम उच्च रहन्छ । उम्मेदवारहरूको निजी जीवन, गर्भावस्था वा व्यक्तिगत सम्बन्धका बारेमा अश्लील र आपत्तिजनक टिप्पणी गर्नेहरूलाई आफ्नो साथीको सूचीबाट हटाउनुहोस् । यस्ता ट्रोलहरूले समाजमा घृणा फैलाउने मात्र काम गर्छन् ।

५. मानसिक स्वास्थ्यका लागि फिड क्युरेट गर्नुहोस्

सामाजिक सञ्जालमा देखिने नकारात्मक सामग्रीले चिन्ता र तनाव बढाउँछ । तपाईंलाई रिस उठाउने वा तनाव दिने सामग्री पोस्ट गर्ने अकाउन्टहरूलाई अनफलो गर्दा तपाईंको डिजिटल अनुभव सकारात्मक हुन्छ । युनिसेफका अनुसार मिथ्या सूचनाले प्रायः हाम्रा भावनाहरूसँग खेल्ने गर्छ । त्यसैले उत्तेजित हुनुअघि सूचनाको स्रोत जाँच्नुहोस् र भरपर्दो नदेखिएमा त्यस्ता स्रोतलाई ब्लक गर्नुहोस् ।

६. सूचनाको पुष्टि नगरी शेयर नगर्नुहोस्

स्ट्यानफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ता जेफ्री टी ह्यानककका अनुसार 'ल्याटरल रिडिङ' मिथ्या सूचना विरुद्धको सशक्त हतियार हो । यो भनेको एउटै दाबीलाई विभिन्न विश्वसनीय स्रोतहरूमा खोज्ने तरिका हो । यदि कुनै सूचना मूलधारका विश्वसनीय सञ्चारमाध्यममा छैन र केवल एउटा सन्देहास्पद पोस्ट वा अनलाइनमा मात्र सीमित छ भने त्यसलाई शेयर गरेर झुटो सूचनाको संवाहक नबन्नुहोस् ।

निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधार हो । यसलाई स्वस्थ र मर्यादित बनाउन हामी प्रत्येक प्रयोगकर्ता सचेत हुनुपर्छ । तपाईंको डिजिटल स्पेसलाई सुरक्षित राख्न मिथ्या सूचना फैलाउनेहरूलाई अनफलो, अनफ्रेन्ड र ब्लक गर्न नहिचकिचाउनुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८२ १६:१२