स्प्यारो एसएमएस १६औँ वर्षमा प्रवेश, मेटाको पार्टनर बनेर नेपालमा ह्वाट्सएप बिजनेस सेवा सुरु
चैत ७, २०८२ १३:४६
काठमाडौँ । नेपालको बल्क एसएमएस सेवा प्रदायक कम्पनी ‘स्प्यारो एसएमएस’ ले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको छ । यसै अवसरमा कम्पनीले मेटाको आधिकारिक ‘टेक पार्टनर’ बनेर नेपालमा ‘ह्वाट्सएप बिजनेस एपीआई’ सेवा सुरु गरेको छ ।
यो नयाँ सेवा सुरु भएसँगै अब नेपाली व्यापारिक संस्थाले आफ्ना ग्राहकसँग ह्वाट्सएपमार्फत सजिलै र सुरक्षित रूपमा व्यावसायिक कुराकानी गर्न सक्ने भएका छन् । यसमा कम्पनीको आधिकारिकता प्रमाणित गर्ने ‘ब्लु टिक’ र मेसेजको आफैँ रिप्लाई जाने (अटोमेसन) सुविधा उपलब्ध हुनेछ । यसअघि नै ‘भाइबर बिजनेस’ सेवा दिइरहेको स्प्यारोले अब एउटै ठाउँबाट एसएमएस, भाइबर र ह्वाट्सएपको सेवा दिनेछ ।
वार्षिक ३५ करोड एसएमएस प्रवाह
सन् २०१० मा एउटा सानो स्टार्टअपको रूपमा स्थापना भएको स्प्यारो एसएमएसले हाल आठ हजारभन्दा बढी व्यावसायिक संस्थाहरूलाई सेवा दिइरहेको जनाएको छ । कम्पनीका अनुसार अहिले यसको सिस्टममार्फत वार्षिक ३५ करोडभन्दा बढी एसएमएस आदानप्रदान हुन्छन् ।
सुरुवाती दिनहरूमा मोबाइलमा लोडसेडिङको तालिका र एसएलसी (हाल एसईई)को नतिजा उपलब्ध गराएर यो कम्पनीले धेरैको ध्यान तानेको थियो । त्यसयता ०७२ सालको भूकम्पको बेला उद्धार तथा राहतको सूचना दिन र वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न श्रम स्वीकृति जाँच गर्ने जस्ता काममा पनि कम्पनीले सरकार र विभिन्न संस्थालाई सघाएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले १६ वर्षअघि सूचनामा नागरिकको पहुँच पुर्याउने सामान्य सोचबाट सुरु भएको कम्पनी अहिले महत्त्वपूर्ण सञ्चार पूर्वाधार बनेको बताए ।
“१६ वर्षअघि हामीले ‘सूचनामा पहुँच’ भन्ने एउटा सरल सोचका साथ यात्रा सुरु गरेका थियौँ,” सीईओ थापाले भने, “आज यो गौरवशाली कोसेढुङ्गा मनाउँदै गर्दा, हाम्रा ग्राहकहरूले हामीमाथि देखाउनुभएको अटुट विश्वास, हाम्रो टिमको निरन्तरको नवीनता र यो यात्रालाई असाधारण बनाउनुहुने सम्पूर्ण साझेदारहरूप्रति म निकै गर्व गर्दछु । भविष्यतर्फ अघि बढ्दै गर्दा हामी सञ्चारको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन पहिलेभन्दा अझ बढी प्रतिबद्ध छौँ ।”
१६ वर्ष पूरा भएको अवसरमा कम्पनीले ग्राहकका लागि ‘स्विट १६’ अफर पनि ल्याएको छ । यसअन्तर्गत ग्राहकले एसएमएस क्रेडिट खरिद (टप-अप) गर्दा १६ प्रतिशत बोनस पाउनेछन् ।
त्यसैगरी अफर सुरु भएपछि दर्ता हुने पहिलो १६० जना नयाँ प्रयोगकर्ताले १६० ओटा एसएमएस निःशुल्क पठाउन पाउनेछन् । कम्पनीका अनुसार यो छुट योजना आगामी १६ वैशाखसम्म मात्र लागु हुनेछ ।
पछिल्लो अध्यावधिक: चैत ७, २०८२ १४:६
