काठमाडौँ । अब इन्स्टाग्राम प्रयोगकर्ताले पोस्टमा गरिएका आफ्ना कमेन्टहरू सम्पादन (Edit) गर्न सक्ने भएका छन् । मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरूको सहजताका लागि यो महत्त्वपूर्ण अपडेट ल्याएको हो ।
यद्यपि, यो सुविधा कमेन्ट पोस्ट गरेको १५ मिनेटको समयसीमा भित्र मात्र उपलब्ध हुनेछ । यो नयाँ प्रणाली इन्स्टाग्रामले सन् २०२४ मा मेसेजहरूका लागि सुरु गरेको सम्पादन सुविधा जस्तै छ । रोचक कुरा के छ भने सन् २०१३ मा इन्स्टाग्राममा डाइरेक्ट मेसेजिङ (डीएम) सुरु भएको ११ वर्षपछि मात्र सन् २०२४ मा मेसेज सम्पादन गर्ने विकल्प थपिएको थियो ।
प्रयोगकर्ताहरूले आफ्नै अकाउन्टबाट गरिएका कमेन्टहरू मात्र सम्पादन गर्न पाउनेछन् र यसको प्रक्रिया निकै सरल छ । आफ्नो कमेन्ट मुनि रहेको 'Edit' शब्दमा ट्याप गरेपछि एउटा टेक्स्ट बक्स खुल्नेछ । जहाँ लेखिएको कुरालाई परिमार्जन वा थपघट गर्न सकिन्छ ।
परिवर्तन गरिसकेपछि निलो रङको 'चेक मार्क' थिचेर त्यसलाई सेभ गर्न सकिन्छ । मेटाका अनुसार १५ मिनेटको समयभित्र प्रयोगकर्ताले आवश्यकता अनुसार जति पटक पनि कमेन्ट सम्पादन गर्न सक्नेछन् ।
इन्स्टाग्राममा कमेन्टहरू अहिले पोस्टमा मात्र नभई सन् २०२४ देखि 'स्टोरी' लगायतका विभिन्न माध्यमबाट पनि देखिन थालेका छन् । त्यसैले सम्पादनको यो विकल्प प्रयोगकर्ताका लागि निकै उपयोगी हुने देखिएको छ । यो नयाँ विकल्प मेटाले पछिल्लो एक महिनामा इन्स्टाग्राममा ल्याएका श्रृङ्खलाबद्ध परिवर्तनहरूको एउटा हिस्सा हो ।
मार्च महिनाको सुरुमा मेटाले इन्स्टाग्रामको डाइरेक्ट मेसेज (डीएम) बाट 'इन्ड-टु-इन्ड इन्क्रिप्सन' हटाउने घोषणा गरेको थियो । त्यसैगरी मार्चकै अन्त्यतिर मेटाले 'इन्स्टाग्राम प्लस' नामको सब्सक्रिप्सन सेवाको परीक्षण समेत सुरु गरेको छ । यो सशुल्क सेवाले एपको स्टोरी फिचरका लागि विशेष र नयाँ सुविधाहरू प्रदान गर्नेछ ।
मेटाले ल्याएका यी पछिल्ला अपडेटहरूले इन्स्टाग्राम प्रयोगकर्ताको अनुभवलाई थप सहज र परिष्कृत बनाउने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: चैत २७, २०८२ ८:३
