close

ह्वाट्सएपका मेसेज बीचैमा हेर्ने गरिएको भन्दै मेटा विरुद्ध मुद्दा, एलन मस्क र पावेल दुरोभ भने उत्साहित

टेकपाना टेकपाना

चैत २८, २०८२ १७:४३

ह्वाट्सएपका मेसेज बीचैमा हेर्ने गरिएको भन्दै मेटा विरुद्ध मुद्दा, एलन मस्क र पावेल दुरोभ भने उत्साहित

काठमाडौँ । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले दाबी गर्दै आएको ‘गोपनीयता’ र ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’ माथि प्रश्न उठाउँदै यसको मातृ कम्पनी मेटा विरुद्ध अमेरिकामा सामूहिक मुद्दा दायर गरिएको छ । प्रयोगकर्ताका निजी मेसेज सुरक्षित नरहेको र तेस्रो पक्षले ती मेसेज हेर्ने गरेको आरोपसहित मुद्दा दायर भएपछि प्रविधि क्षेत्रका दिग्गज एलन मस्क र टेलिग्रामका सीईओ पावेल दुरोभले ह्वाट्सएपको आलोचना गरेका छन् ।

‘टप क्लास एक्सन’ को प्रतिवेदन अनुसार मेटा प्लेटफर्म्स इंक, ह्वाट्सएप र परामर्शदाता कम्पनी एसेन्चर विरुद्ध उजुरी दर्ता गरिएको छ । उजुरीमा ह्वाट्सएपले प्रयोगकर्ताको अनुमतिबिना उनीहरूका निजी मेसेज बीचैमा रोकेर तेस्रो पक्षसँग शेयर गर्ने गरेको आरोप लगाइएको छ ।

यद्यपि ह्वाट्सएपले आफ्ना मेसेज कसैले पनि हेर्न नसक्ने गरी इन्क्रिप्ट गरिएको दाबी गर्दै आएको छ । तर मुद्दामा भनिएको छ, “मेटाका कर्मचारी र एसेन्चरका ठेकेदारसँग ती मेसेज पढ्न सक्ने एक्सेस छ ।” ५ अप्रिल २०१६ देखि हालसम्म ह्वाट्सएप प्रयोग गर्नेहरूका तर्फबाट यो मुद्दा दायर गरिएको हो ।

मेटाको प्रतिस्पर्धी तथा एक्सका मालिक एलन मस्कले यस घटनाप्रति टिप्पणी गर्दै लेखेका छन्, “ह्वाट्सएपलाई विश्वास गर्न सकिँदैन ।” 

 

उनले प्रयोगकर्तालाई मेसेजिङ र भिडिओ कलका लागि ‘एक्स’ प्रयोग गर्न सुझाव दिँदै त्यसमा वास्तविक गोपनीयताको सुविधा रहेको दाबी समेत गरेका छन् ।

यता टेलिग्रामका संस्थापक तथा सीईओ पावेल दुरोभले ह्वाट्सएपको इन्क्रिप्सनको दाबीलाई ‘इतिहासकै सबैभन्दा ठुलो उपभोक्ता ठगी’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, “ह्वाट्सएपले अर्बौँ प्रयोगकर्तालाई धोका दिइरहेको छ । यसले दाबी विपरीत प्रयोगकर्ताका मेसेज पढ्छ र तेस्रो पक्षसँग शेयर गर्छ । टेलिग्रामले यस्तो कहिल्यै गरेको छैन र गर्ने पनि छैन ।”

मुद्दामा उल्लेख गरिए अनुसार केही ‘ह्विसलब्लोअर’ (भित्रिया सुराकी) हरूले सङ्घीय अनुसन्धानकर्तालाई मेटाका कर्मचारीसँग सुरक्षित भनिएका मेसेजमा एक्सेस रहेको जानकारी दिएका थिए । वादीहरूले ह्वाट्सएपले गोपनीयताको कानुन उल्लङ्घन गरेको भन्दै प्रभावित प्रयोगकर्ताका लागि क्षतिपूर्ति र यस्तो कार्य रोक्न माग गरेका छन् ।

अदालती सुनुवाइपछि ह्वाट्सएपको ‘सुरक्षित मेसेजिङ’ को दाबी कति सत्य हो भन्ने कुरा स्पष्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८२ १७:४४