फेसबुकमा सर्वाधिक फलोअर भएका नेपाली बने प्रधानमन्त्री बालेन, ५० दिनमा करिब नौ लाख थपिए
बैशाख २, २०८३ १९:३८
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) फेसबुकमा सबैभन्दा धेरैले पछ्याएका नेपाली बनेका छन् । कन्टेन्ट क्रियटर सान्भी भगतलाई उछिन्दै बालेन सर्वाधिक धेरै फेसबुक फलोअर भएका नेपाली बनेका हुन् ।
यो सामग्री तयार पार्दासम्म बालेनको आधिकारिक फेसबुक पेजमा ४३ लाख ५३ हजार २५१ फलोअर पुगेका छन् । सोही समयमा टिकटकर सान्भी भगतको फेसबुक अकाउन्टमा भने ४३ लाख २१ हजार ९०६ जना फलोअर छन् ।
गत २० माघमा बालेनको आधिकारिक फेसबुक पेजमा ३४ लाख ६२ हजार फलोअर पुगेका थिए । त्यसपछि पछि प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी हुँदै प्रधानमन्त्रीमा नियुक्तिसम्म आइपुग्दा उनका फलोअर तीव्र गतिमा बढेका हुन् । पछिल्लो ५० दिनमा नै उनको फेसबुकमा करिब नौ लाख फलोअर थपिएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा रहेका फलोअर आफ्नो आम्दानीको मुख्य स्रोत रहेको समेत बताएका छन् । आइतबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले बैङ्क खातामा एक करोड ४६ लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरेका थिए । उक्त रकमको मुख्य स्रोत फेसबुक, युट्युब, टिकटक, स्पटिफाई र आईट्युन्स जस्ता डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्मबाट प्राप्त आम्दानी रहेको उनले उल्लेख गरेका हुन् ।
बालेनको छुट्टै फेसबुक अकाउन्ट समेत रहेको छ । जसमा ५ लाख ४ हजारभन्दा बढी फलोअर रहेका छन् । त्यस बाहेक उनलाई टिकटकमा ४ लाख ३६ हजारभन्दा बढी, युट्युबमा करिब १३ लाख, स्पोटीफाईमा ७८ हजारभन्दा बढी, लिंक्डइनमा १ लाखभन्दा बढी, इन्स्टाग्राममा १६ लाखभन्दा बढीले फलो गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १९:४३
