close

साइलेन्ट मोडको पर्याय होइन फोनको डु-नट-डिस्टर्ब मोड, तपाईँका लागि बन्नसक्छ उत्पादनशील फिचर

टेकपाना टेकपाना

जेठ ३, २०८३ १०:२१

साइलेन्ट मोडको पर्याय होइन फोनको डु-नट-डिस्टर्ब मोड, तपाईँका लागि बन्नसक्छ उत्पादनशील फिचर

काठमाडौँ । आधुनिक स्मार्टफोनको प्रयोग अचेल निकै अस्तव्यस्त बनेको छ । मोबाइलमा आउने निरन्तरका नोटिफिकेसन, टेबुलमा हुने फोनको कम्पन र बारम्बार बल्ने स्क्रिनले हाम्रो ध्यान खिचिरहेका हुन्छन् ।

धेरैका लागि यो सेन्सरी ओभरलोड ब्याकग्राउन्ड कोलाहल जस्तै बनिसकेको छ । तर एन्ड्रोइडमा उपलब्ध डु नट डिस्टर्ब (DND) फिचरले यसलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ । हामीमध्ये धेरैले यसलाई फिल्म हलमा हुँदा आवाज बन्द गर्ने म्युट बटन मात्र ठान्छौँ । तर वास्तवमा यो डिजिटल वेलबिङको लागि सबैभन्दा उपयोगी टुल हो । जसमा कस्टमाइज गर्न सकिने निकै उपयोगी फिचरहरू समावेश छन् ।

धेरै प्रयोगकर्ताहरूलाई लाग्छ कि फोनलाई भाइब्रेट वा साइलेन्ट मोडमा राख्नु नोटिफिकेसनको बाढीबाट बच्न पर्याप्त छ । तर, यसले केही समयका लागि शान्ति महसुस गराए पनि भिजुअल अवरोध (visual clutter) र मधुरो भाइब्रेसन भने कायमै राख्छ । यी दृश्य सङ्केतहरूले दिमागको डोपामाइनमा आधारित रिवार्ड प्रणालीलाई सक्रिय बनाउँछन्, जसले गर्दा हामीलाई बारम्बार फोन चेक गर्न बाध्य बनाउँछ ।

डिस्टर्बेन्सको मूल्य हामीले कल्पना गरेभन्दा बढी हुन्छ । क्यालिफोर्निया विश्वविद्यालय (इर्भिन) को एक अध्ययन अनुसार एक पटकको डिस्टर्बपछि पुनः काममा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न औसत २३ मिनेट १५ सेकेन्ड लाग्छ । यदि तपाईंको फोन एक घण्टामा तीन पटक मात्र बल्यो भने, तपाईं गणितीय रूपमै आफ्नो कामको समयमा गहिरो एकाग्रताको अवस्थामा पुग्न असक्षम हुनुहुनेछ ।

उत्पादकत्व बाहेक यसको मनोवैज्ञानिक असर पनि छ । नोटिफिकेसनको निरन्तरको प्रतीक्षाले 'फ्यान्टम भाइब्रेसन सिन्ड्रोम' निम्त्याउँछ । जसमा दिमागले फोन नबज्दा पनि बजेको भ्रम पैदा गर्छ । यो अवस्थाले शरीरमा कर्टिसोल हर्मोनको स्तर बढाउँछ, जसले दिनभर हल्का चिन्ता (एन्जाइटी) पैदा गर्छ । त्यसैले डीएनडी मोड उपयोगी छ; यसले आवाज मात्र बन्द गर्दैन, ध्यान भड्काउने भिजुअल ट्रिगरहरूलाई पनि रोक्छ ।

धेरैका लागि डीएनडी प्रयोग नगर्नुको मुख्य कारण यसलाई म्यानुअल रूपमा अन र अफ गरिरहनु पर्ने झन्झट हो । तर यसलाई स्वचालित गर्न पनि सकिन्छ । एन्ड्रोइडको सेटिङमा गएर निश्चित समयका लागि शेड्युल तयार गर्न सकिन्छ ।

उदाहरणका लागि बिहान ९ देखि बेलुका ५ बजेसम्मको लागि वर्क शेड्युल राख्न सकिन्छ । जसले गर्दा फोन तपाईँलाई हैरान पार्ने छिमेकी जस्तो नभई तपाईँको नियन्त्रणमा रहने उपकरण बन्छ ।

यस्तै अर्को प्रभावशाली फिचर बेडटाइम मोड हो । यसले सुत्ने समयमा फोनलाई साइलेन्ट मात्र गर्दैन, स्क्रिनलाई ग्रेस्केल (कालो र सेतो) बनाइदिन्छ । रङ्गीन नभएपछि फोन हेर्न खासै रमाइलो हुँदैन र चलाउने इच्छा कम हुन्छ ।

एन्ड्रोइडको एउटा उपेक्षित सेटिङले स्क्रिनमा नोटिफिकेसन डट वा आइकनहरू देखा पर्नबाट रोक्छ । यसले भिजुअल साइलेन्स सिर्जना गर्छ । प्रयोगकर्ता आफैँले नोटिफिकेसन बार तल नझारेसम्म केही पनि देखिँदैन, जसले गर्दा अनावश्यक ईमेल वा सामाजिक सञ्जालका मेसेजहरू हेर्ने उत्सुकता जाग्दैन ।

विभिन्न कम्पनीहरूले यसलाई अझ सहज बनाउन जेस्चर फिचर थपेका छन् । पिक्सेल फोनमा फ्लिप टु हस र सामसङ लगायतमा फ्लिप टु साइलेन्स फिचर छ । यसमा फोनलाई कुनै सम्म परेको ठाउँमा उल्टो पारेर राख्ने बित्तिकै डीएनडी सक्रिय हुन्छ र स्क्रिन अन गर्ने बित्तिकै निष्क्रिय हुन्छ ।

डीएनडी प्रयोग गर्दा धेरैलाई महत्त्वपूर्ण सूचना छुट्ने हो कि भन्ने डर हुन्छ । एन्ड्रोइडले यसका लागि एक्सेप्सन (अपवाद) नियमहरूको व्यवस्था गरेको छ । प्रयोगकर्ताले आफ्ना नजिकका परिवारका सदस्यहरूलाई स्टार्ड कन्ट्याक्ट (Starred Contact) मा राख्न सक्छन्, जसले गर्दा उनीहरूको कल आउँदा बज्नेछ ।

त्यस्तै, अपरिचित नम्बरबाट आएको आपत्कालीन फोनका लागि रिपिट कलर (Repeat Callers) फिचर छ । यदि एउटै नम्बरबाट १५ मिनेट भित्र दुई पटक फोन आयो भने सिस्टमले त्यसलाई जरुरी सम्झेर पूर्ण आवाजमा रिङटोन बजाइदिन्छ । साथै सेक्युरिटी क्यामेरा वा अफिसको स्ल्याक जस्ता महत्त्वपूर्ण एपहरूलाई मात्र डीएनडीबाट बाहिर राख्न सकिने सुविधा पनि उपलब्ध छ ।

डु नट डिस्टर्ब फिचर एक्लोपनका लागि नभई सचेत प्रयोगका लागि हो । यसको उद्देश्य तपाईँले फोन चलाउने समय आफैँ छान्नु हो, न कि फोनले तपाईंलाई बाधा पुर्‍याउनु । याद राख्नुहोस्, फोन तपाईँको सेवाका लागि बनाइएको हो, तपाईँ फोनको सेवाका लागि होइन ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८३ १०:२१