काठमाडौँ । हालै सम्पन्न गुगल आईओ कार्यक्रममा गुगलले ओम्नी नामक टुल सार्वजनिक गरेको छ । यस्तो टुल, जसले शब्दकै भरमा भिडिओ बनाउन र एडिट गर्न सक्छ । उदाहरणका लागि यो एक भिडिओ एडिटर एजेन्ट जस्तो हो । यस टुलले सजिलै थ्रीडी भिडिओ पनि क्षणभरमै तयार पारिदिन्छ ।
केही समयअघिसम्म वर्षौँ लगाएर सिकिने प्राविधिक सीप अहिले केही सेकेन्डमै एआईमार्फत सम्भव हुन थालेका छन् । यसले आममानिसमा एउटा प्रश्न उब्जाएको छ, त्यो के भने ‘के अब थ्रीडी एनिमेसन जस्तो जटिल मानिने सीप सिक्न आवश्यक छ ?’
यस विषयमा एनिमेसन एन्ड भीएफएक्स आर्टिस्ट्स एसोसिएसन अफ नेपाल (आभान) का महासचिव अनिल न्यौपाने भन्छन्, “एआई र थ्रीडीलाई एकअर्काको विकल्पका रूपमा नभई परिपूरकका रूपमा हेर्नुपर्छ । एआईले काम सजिलो बनाएको छ । तर त्यसलाई पूर्ण नियन्त्रणमा राख्न र सोचेजस्तो आउटपुट निकाल्न आधारभूत सीपको आवश्यकता झनै बढेको छ ।”
ओम्नीले तयार पारेको भिडिओ
एआई प्रयोग गर्दा आइपर्ने मुख्य चुनौती भनेकै दृश्य वा पात्रमा एकरूपता कायम राख्नु हो । क्यूआई एनिमेसन स्टुडियोका संस्थापक समेत रहेका न्यौपानेको अनुभवमा एआईले धेरैपटक प्रयास गर्दा पनि एउटै पात्र वा दृश्यको निरन्तरता जोगाउन सक्दैन ।
उनी भन्छन्, “मैले अहिले के महसुस गरेँ भने थ्रीडीमा ब्लकिङ (सामान्य खाका) तयार पारिसकेपछि त्यसैको आधारमा एआईलाई प्रम्ट दिँदा चार दिन लाग्ने काम एकै पटकमा र कम खर्चमा गर्न सकिन्छ । थ्रीडीले क्यामेरा मुभमेन्ट र दृश्यको आधारभूत ढाँचा दिन्छ, जसले एआईलाई सही दिशामा काम गराउँछ । त्यसैले फिल्म मेकिङका लागि थ्रीडी झनै महत्त्वपूर्ण रहेछ ।”
एनिमेसन गरिएको भिडिओ
थ्रीडी सिक्नुको फाइदा केवल फिल्म निर्माणमा मात्र सीमित नरहेको न्यौपानेको तर्क छ । आजको डिजिटल युगमा यो सीप विविध क्षेत्रका लागि एउटा बलियो ‘बेस’ बन्न सक्ने उनी ठान्छन् ।
“म्यानेजमेन्ट होस् वा मेडिकल, थ्रीडीको प्रयोग सबैतिर छ,” उनी भन्छन्, “एमआरआई स्क्यानको फाइललाई थ्रीडीमा बुझ्न सक्ने डाक्टरले प्रिन्टआउटमा भर पर्नुपर्दैन । त्यस्तै आफ्नो स्टार्टअपको प्रोटोटाइप बनाउन वा प्रेजेन्टेसनलाई स्तरीय बनाउन यो सीप अस्त्र जस्तै हो । तपाईंले १०० प्रतिशत थ्रीडी आर्टिस्ट नै बन्नुपर्छ भन्ने छैन । तर यसको बेसिक ल्याङ्ग्वेज बुझ्नुभयो भने तपाईंको क्रियटिभिटी कैयौँ गुणा बढ्छ ।”
सीप विकासको समय र जटिलतालाई लिएर धेरैमा भ्रम रहेको छ । कतिपयले यो सिक्न वर्षौँ लाग्ने ठानेका छन् भने कतिपयले एआईले सबै काम गरिदिनेमा विश्वस्त छन् ।
यद्यपि न्यौपाने यसलाई सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “तपाईं एआईको प्रयोगकर्ता नबन्नुहोस्, एआईलाई आफ्नो सहयोगी बनाउनुहोस् । थ्रीडी सिक्नु भनेको एआईको युगमा आफूलाई झन् शक्तिशाली बनाउनु हो । एआईले तपाईंको जागिर खान सक्दैन । तर जसले एआई र थ्रीडी दुवैलाई चलाउन जान्छ उसले चाहिँ पक्कै पनि नजान्नेको प्रतिस्पर्धामा बाजी मार्छ ।”
बजारमा उपलब्ध धेरै एआई कन्टेन्टमा मानवीय संवेदना (ह्युमन टोन) को अभाव देखिन्छ । यसले गर्दा त्यस्ता कन्टेन्ट सतही लाग्ने गर्छन् । ब्राण्ड पहिचान र व्यावसायिक स्टोरी टेलिङमा अझै पनि मानवीय संवेदनशीलता र प्राविधिक नियन्त्रणको आवश्यकता पर्छ ।
यस सन्दर्भमा न्यौपाने थप्छन्, “ईमेल लेख्न च्याटजीपीटी प्रयोग गर्न सकिएला । तर जब एप्लिकेसनमा स्पष्ट मानवीय इनपुट हुँदैन, तब त्यसले प्रभाव छोड्न सक्दैन । एआईबाट बन्ने आउटपुटमा आफ्नो नियन्त्रण नराख्ने हो भने तपाईं टुल बन्नुहुन्छ, तर आफ्नो नियन्त्रणमा राख्ने हो भने तपाईं टुलको मालिक बन्नुहुन्छ ।”
अहिलेको समयमा थ्रीडी सिक्नु भनेको प्रविधिसँगै आफूलाई अपडेटेड राख्नु हो भन्ने ज्याज प्रोडक्सनका सीईओ समेत रहेका न्यौपानको मन्यता छ । प्रविधिले काम गर्ने तरिका बदले पनि कामको प्रकृति बदल्न सकेको छैन भन्ने उनी ठान्छन् ।
एनिमेसनबारे न्यौपाने भन्छन्, “नेपालमा रहेरै विश्वस्तरीय प्रविधि अपनाउनु अहिलेको आवश्यकता हो । हामीले थ्रीडी एनिमेसनको जुन इकोसिस्टम बनाउन खोजिरहेका छौँ, त्यसमा मानिसले एआईको साथ लिँदै आफ्नो सृजनशीलतालाई निखार्नुपर्छ । सिकाइको ढोका बन्द भएको छैन, बरु अझ नयाँ र छिटो माध्यमबाट सिक्न सकिने बाटो खुलेको छ ।”
थ्रीडी एनिमेसनलाई नयाँ पुस्तामाझ सहज र प्रभावकारी बनाउने उद्देश्यले क्युआई स्टुडियोले हालै मात्र ‘ब्लेन्डर यात्रा’ नामक एक महिने वर्कशप सञ्चालन गरिरहेको छ । ज्याज प्रडक्सनका सीईओ समेत रहेका न्यौपानेला अनुसार यो वर्कशप प्राविधिक तालिम मात्र नभई थ्रीडी प्रविधिलाई माध्यम बनाएर ‘स्टोरिटेलिङ’ गर्ने एक कलात्मक यात्रा हो । अनिल न्यौपाने र उनका सहकर्मी राजन प्रधान र नयन श्रेष्ठले दुई वर्षको अध्ययनपछि यस कोर्सको डिजाइन गरेका हुन् । कोर्स निर्माणको पृष्ठभूमिबारे न्यौपाने भन्छन्, “मैले आफू निर्देशकका रूपमा थ्रीडी कन्टेन्ट र भीएफएक्समा काम गर्दा जहिले पनि एउटा ग्याप महसुस गरिरहेको थिएँ । मलाई आइडिया थियो, तर आफैँले सफ्टवेयर चलाउन नजान्दा टिमलाई गाइड गर्न वा त्यसका च्यालेन्ज बुझ्न कठिन हुन्थ्यो । त्यसैले, आफूलाई पनि सिक्ने र अरूलाई पनि सक्षम बनाउने उद्देश्यले हामीले यो कोर्स डिजाइन गरेका हौँ ।”
स्टुडियोका लागि यो कोर्स केवल सिकाउने माध्यम मात्र नभई एउटा रणनीतिक आवश्यकता भएको न्यौपानेको भनाइ छ । नेपालमा एनिमेसन र भीएफएक्सको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ जसका कारण धेरैजसो काम बाहिरबाटै व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । न्यौपाने थप्छन्, “हामी अहिले एउटा एनिमेटेड फिचर फिल्म बनाउने तयारीमा छौँ । त्यो बनाउने क्रममा नै हामीले एनिमेटर्सको अभाव महसुस गर्यौँ । हामीलाई हाम्रो प्रोजेक्टका लागि म्यानपावर चाहिएको थियो, त्यसैले हामीले यो कोर्सलाई एउटा इकोसिस्टम बनाउने आधारका रूपमा हेरेका छौँ ।” यो कोर्स सञ्चालन गर्नुका पछाडिको आवश्यकता पनि यही रहेको उनी सुनाउँछन् ।
यस चार हप्ताको अवधिमा सहभागीले शून्य तहबाट सुरु गरेर एउटा पूर्ण शर्ट फिल्म तयार गर्ने गरी पाठ्यक्रम डिजाइन गरिएको छ । संस्थापक न्यौपानेका अनुसार पहिलो सातामा ‘फाउन्डेसन’ अन्तर्गत कथा निर्माण र कन्सेप्ट आर्ट, दोस्रो सातामा ‘थ्रीडी कोर’ मार्फत मोडलिङ र टेक्सचरिङ, तेस्रो सातामा ‘एनिमेसन’ र चौथो सातामा ‘प्रोडक्सन’ गरी एक पूर्ण फिल्म निर्माण गरिन्छ । न्यौपाने भन्छन्, “थ्रीडी सिक्न वर्षौँ लाग्ने परम्परागत धारणालाई तोड्दै छोटो र प्रभावकारी तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउन खोजेका छौं । हामीले एनिमेटर मात्र बनाउन खोजेका होइनौँ, हामी थ्रीडी प्रविधि प्रयोग गरेर सक्षम स्टोरी टेलर तयार गर्दै छौँ । यो कोर्स एउटा ‘म्याजिक पिल’ जस्तो छ, जसले जटिल विषयलाई चार हप्ताको मिहिनेती तालिकामा ढालेको छ ।

यस वर्कशपले विद्यार्थीलाई थ्रीडीको प्राविधिक पक्ष बुझाउने देखि सीप विकास गर्ने र एआईको युगमा यस प्रविधिलाई जोडेर प्रभावकारी कन्टेन्ट तयार पार्न सक्ने बनाउने न्यौपाने सुनाउँछन् । हाल यस कोर्सको शुल्क ३० हजार रुपैयाँ तोकिएको छ । यो कोर्स ललितपुरको कुपण्डोलमा रहेको क्यूआई स्टुडियोमै सिक्न सकिन्छ । अबको अर्को सेसन २५ जेठबाट सुरु हुँदैछ । सोही अनुरूप क्यूआई स्टुडियोले भर्ना खुलाएको छ । थप यहाँ क्लिक गरेर बुझ्न सकिन्छ ।
यसलाई आगामी वर्षमा थप स्तरीय बनाएर स्नातक तहको पाठ्यक्रममा समावेश गर्न उनीहरूको योजना छ । “यो वर्कशप हाम्रा लागि अनुभव बटुल्ने माध्यम पनि हो,” न्यौपाने भन्छन्, “काठमाडौँ विश्वविद्यालयम हामी पहिलो पटक एनिमेसनको कोर्स नै इन्ट्रडियुस गर्ने तयारीमा छौं । यसबारे हाम्रो टिमले आन्तरिक रूपमा काम गरिरहेको छ ।”
आफैँ सिक्न परे कसरी अनि के के सिक्ने ?
न्यौपानेका अनुसार थ्रीडीको दुनियाँमा प्रवेश गर्न चाहनेले सबैभन्दा पहिले यसका आधारभूत सिद्धान्तलाई आत्मसात गर्नु आवश्यक छ । यस अन्तर्गत एनिमेसनको जग मानिने कथावस्तुको विकास, कन्सेप्ट आर्ट र स्टोरीबोर्डिङको मर्म बुझ्नुपर्छ ।
प्राविधिक रूपमा अघि बढ्न ब्लेन्डर जस्ता सफ्टवेयरको युआई र नेभिगेसनमा अभ्यस्त हुनुपर्छ । त्यसपछिको चरणमा थ्रीडी ब्लकिङ र मोडलिङका साथै यूभी म्याप्स, शेडिङ र टेक्सचरिङको विस्तृत ज्ञान लिनुपर्ने हुन्छ । यससँगै लाइटिङ मिलाउने र स्टिल फ्रेमलाई स्तरीय रूपमा रेन्डरिङ गर्ने कला पनि जान्नुपर्छ ।
एनिमेसनलाई जीवन्त बनाउन रिगिङ, एनिमेसनका सिद्धान्त, ग्राफ एडिटर, डुप शिट र शट एनिमेसन जस्ता प्राविधिक सीप सिक्नु अपरिहार्य छ । साथै, प्रोडक्सनको प्राविधिक पक्ष, पार्टिकल र जियोमेट्री नोड्स, लाइटिङ र कम्पोजिटिङ अनि भिडिओ एडिटिङलाई चरणवद्ध रूपमा सिकियो भने थ्रीडी एनिमेसनमा पाइला चाल्न सकिने न्यौपानेको बुझाइ छ ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ १७:३३
