बेपत्ता भएको ६३ दिनपछि इन्जिनियरिङका विद्यार्थी गोविन्द रेग्मी मृत अवस्थामा फेला
जेठ १४, २०८३ १९:३२
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत दुई महिनादेखि बेपत्ता एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । अछामको साँफेबगर घर भई कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्दै आएका २३ वर्षीय गोविन्द रेग्मीको शव शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र झुन्डिएको अवस्थामा फेला परेको हो ।
स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत रेग्मी ११ चैत २०८२ देखि बेपत्ता थिए । उनको खोजीका लागि परिवार र साथीभाइले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल समेत गरेका थिए । उनी हराएको ६३ औँ दिनमा निकुञ्जभित्र शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार बुधबार (१३ जेठ) साँझ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले झुन्डिएको अवस्थामा रेग्मीको शव फेला पारेको थियो ।
“सेनाले खबर गरेपछि पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको छ,” प्रहरी निरीक्षक थापाले टेकपानासँग भने । शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने जानकारी दिएको छ ।
रेग्मीको मृत्युको कारण हालसम्म स्पष्ट नभए पनि बेपत्ता हुनुअघि उनी पढाइलाई लिएर चिन्तित रहने गरेको उनका साथी (रुममेट) नवीन कोइरालाले बताए । इन्जिनियरिङ अन्तिम वर्षमा रहेका रेग्मीका यसअघिका केही विषयमा परीक्षा बिग्रिएको थियो ।
कोइरालाका अनुसार रेग्मीलाई अन्तिम वर्षमा अनुत्तीर्ण भइने र वर्ष खेर जाने ठुलो चिन्ता थियो । घरबाट पटक-पटक खर्च मागिरहनुपर्ने तर पढाइ समयमै नसकिने डरले उनी मानसिक तनावमा थिए ।
कोइरालाले भने, “उनी बेपत्ता हुँदा सुरुमा हामीले कतै काम खोज्न गए कि भन्ने सोचेका थियौँ, तर हिजो प्रहरीले शव फेला परेको खबर गर्यो । हामी अहिले जिल्ला प्रहरी कार्यालयमा पुगेर बयान दिइरहेका छौँ ।”
पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १९:३६
