close

टेलिकमको वाइम्याक्सलाई भारतीय फ्रिक्वेन्सीको अवरोध, तराईमा सेवा नै बन्द

रन्जन कोइराला रन्जन कोइराला

असोज १, २०७६ २२:१७

टेलिकमको वाइम्याक्सलाई भारतीय फ्रिक्वेन्सीको अवरोध, तराईमा सेवा नै बन्द

नेपाल टेलिकमको फ्रिक्वेन्सी र भारतीय सेवा प्रदायकको फ्रिक्वेन्सी एक आपसमा जुध्दा टेलिकमले आफ्नो सेवा नै बन्द गर्नुपरेको पाइएको छ । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको चौंथो पुस्ताको वाइम्याक्सको फ्रिक्वेन्सी र भारतीय टेलिफोन सेवा प्रदायक कम्पनीको फ्रिक्वेन्सी जुध्दा टेलिकमले तराईमा आफ्नो वाइम्याक्स सेवा बन्द गरेको हो ।

टेलिकमका अनुसार भारतीय फ्रिक्वेन्सीसँग वाइम्याक्सको फ्रिक्वेन्सी जुध्दा तराई क्षेत्रका वाइम्याक्स सेवा बन्द भइसेकेको छ । टेलिकमका सह–प्रवक्ता कृष्ण प्रसाद भण्डारीले भने, ‘भारतीय फ्रिक्वेन्सीसँग वाइम्याक्सको फ्रिक्वेन्सी जुधेका कारणले तराईका जिल्लामा सेवा नै बन्द भइसकेको छ ।’ उनका अनुसार हाल वाइम्याक्स सेवा पहाडका केहि जिल्लामा मात्रै सञ्चालनमा छ ।

फ्रिक्वेन्सी व्यवस्थापनको लागि क्रस बोर्डर समन्वय संयन्त्र निमार्ण हुन नसक्दा भारतीय फ्रिक्वेन्सीसँग वाइम्याक्सको फ्रिक्वेन्सी जुध्दा तराई क्षेत्रका वाइम्याक्स सेवा बन्द भइसेकेको छ ।

कुनै समय देशका हरेक जिल्लामा वाइम्याक्स सेवाको विस्तार भएको थियो । भण्डारीका अनुसार २०७३ कात्तिक ७ गते हुम्ला जिल्लामा सेवा विस्तार गरेसँगै यो सेवा देशका हरेक जिल्लामा पुगेको थियो । तर पछिल्लो सयमा तराई क्षेत्रमा भारतीय सेवा प्रदायक कम्पनीको फ्रिक्वेन्सीसँग नेपाल टेलिकको फ्रिक्वेन्सी जुध्दा सेवा अवरुद्ध भएको हो । क्रस बोर्डर समन्वय संयन्त्र नहुँदा यस्तो अवस्था सिर्जना भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्याल अर्यालका अनुसार फ्रिक्वेन्सी व्यवस्थापनको लागि क्रस बोर्डर समन्वय संयन्त्र निमार्ण हुन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । क्रस बोर्डरमा फ्रिक्वेन्सी समन्वयको विषय अन्य देशले लागु गरेको भएपनि नेपालले भने त्यस्तो किसिमको कुनै संयन्त्र निर्माण गरेर लागु गर्न नसकेको अर्यालले जानकारी दिए ।

नेपाल टेलिकमको वाइम्याक्सको फ्रिक्वेन्सी भारतीय फ्रिक्वेन्सीसँग जुधेपछि प्राधिकरणले समन्वयको लागि छललफल अगाडी बढाएको थियो । यद्यपि छलफलबाट अहिलेसम्म कुनै निष्कर्ष भने आउन सकेको छैन । ‘अन्य मुलुकमा सीमा क्षेत्रमा एक अर्कासँग डाटा सेयरिङ गर्ने, पावर लेबल घटबढ गर्ने, अर्कोको क्षेत्रमा फ्रिक्वेन्सी जान नदिने गरी टावर निर्माण गरिएको हुन्छ’ अर्यालले भने ‘यो विषयमा सार्क स्तरमा समेत छलफल भएको हो, तर लागु भएको अवस्था भने छैन ।’

क्रस बोर्डर फ्रिक्वेन्सी व्यवस्थापनको अभावले गर्दा सेवा नै बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको नेपालको सन्दर्भमा यो पहिलो घटना भएको प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल बताउँछन् । ‘तर, फ्रिक्वेन्सी जुध्नुमात्रै वाइम्याक्स सेवा बन्द हुनुको कारण होइन’ उनको दाबी छ । पछिल्लो समय वाइम्याक्स प्रविधिमा कुनै किसिमको विकास नहुनु, फोरजी सेवाले प्राथामिकता पाउनु, वाइम्याक्स चल्ने फ्रिक्वेन्सीमा फोरजी सेवालाई विस्तार गर्न सकिनुले पनि वाइम्याक्स सेवा विस्तारै कम हुँदै गएको उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३