close

कर नतिरी ल्याएका माेबाइल नचल्ने प्रक्रिया कहाँ पुग्याे ?

टेकपाना टेकपाना

असोज २४, २०७६ ११:३५

कर नतिरी ल्याएका माेबाइल नचल्ने प्रक्रिया कहाँ पुग्याे ?

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोनको अवैध आयातलाई नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ को कार्यान्वयनको अध्ययन तथा निरीक्षणका लागि परामर्शदाता छनोट थालेको छ । प्राधिकरणले चार वटा कम्पनीलाई सर्ट लिस्टमा राख्दै परामर्शदाता छनौट प्रक्रिया अगाडि बढाएको ह‍ो ।

एमडीएमएस सिस्टम जडानको लागि यश अघि छनोट भएको कम्पनीले जडान गरेको सिस्टम तोके बमोजिम भए नभएको अध्ययनका लागि प्राधिकरणले परामर्शदाताबाट आशय माग गरेको थियो । त्यसमा पाँच वटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएका मध्य पहिलो चरणमा चार कम्पनीको सुची प्राधिकरणले सार्वजनकि गरेको हो ।

सार्वजनिक भएको कम्पनीको सुचीमा टर्कीको टीटीजी इन्टरनेशनल कम्युनीकेसन प्राली, युकेको लौरएशिया एशोसियट्स लिमिटेड, टर्कीको एडेनन बिलिजिम र अमेरिकाको ईएमआई टेक्नोलोजी रहेका छन् । यसअघि प्राधिकरणले एमडीएमएस जडान र सञ्चालन गर्न कम्पनी छनोट गरिसकेको छ ।

अवैध रूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण लागि न्युमेरा (एम) एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि इन्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनी छनोट भएको थियो ।

उक्त कम्पनीसँग प्राधिकरणले ७० लाख ६६ हजार आठ सय ८८ अमेरिकी डलर अर्थात करिब ७९ करोड १४ लाख ९१ हजार रुपैयाँमा एमडीएमएस जडानका लागि सम्झौता गरिसकेको छ । यस कम्पनीले एमडीएमएसको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण, सञ्चालन प्रणाली जडान गर्नेछ । उक्त प्रणालीमा नेपालभर सञ्चालनमा रहेका मोबाइल फोनको आईएमईआई दर्ता, सम्पूर्ण मोबाइल अपरेटरको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइस दर्तालगायत कार्य हुनेछ ।

अबको चार महिना पछि सञ्चालन हुने गरि प्राधिकरण र मलेसियन कम्पनीबिच दुई महिना अघि सम्झौता भएको थियो । हाल उक्त कम्पनी एमडीएमएस डिजाइनको क्रममा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मलेसियन कम्पनीले सञ्चालनमा ल्याउने एमडीएमएस सिस्टम तोके बमोजिम भए नभएको अध्ययनका लागि तेस्रो पक्षको रुपमा परामर्शदाता कम्पनी छनोट गर्ने काम अघी बढाइएको हो ।

हाल छनोट भएको चार कम्पनीसँग अब आर्थिक र प्राविधिक प्रस्ताव माग गरेर एउटा कम्पनी छोट गरिने प्राधिकरणले जनाएको छ । त्यसको अवधि एक महिना हुनेछ । उनिहरुको पठाएको आर्थिक र प्राविधिक प्रस्तावको अध्ययन गरि एक कम्पनीलाई परामर्शदातको रुपमा छनोट गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३