नेपालमै बन्यो ४ हजार फिट उचाइमा २ जना बोकेर उड्ने ‘पारामोटर’, सिन्धुलीमा सफल उडान
जेठ १५, २०८३ १५:५४
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर राजु थापाले दुई जना यात्रु बोकेर आकाशमा उड्न सक्ने ‘पारामोटर’ को सफल परीक्षण गरेका छन् । सन् २०२० देखि डिजाइनिङको काम सुरु गरिएको यो स्वदेशी प्रविधिको पारामोटरले हालै सिन्धुलीको मरिन खोला नजिकै सफल उडान भरेको हो ।
थापाका अनुसार १४ जेठमा गरिएको परीक्षणका क्रममा दुई जना व्यक्ति बसेर करिब एक घण्टासम्म सफलतापूर्वक आकाशमा उडान भरिएको थियो । यसअघि एक जना मात्र बस्न मिल्ने पारामोटर बनाएका थापाले त्यसलाई थप परिष्कृत गर्दै दुई सिटे बनाएका हुन् ।
यो पारामोटरमा अगाडि एउटा र पछाडि दुई गरी तीन ओटा पाङ्ग्रा राखिएको छ । यसको पछाडिको भागमा पङ्खा र तल्लो भागमा ३६ हर्सपावरको 'इटालियन इन्जिन' जडान गरिएको छ ।
ड्रोन जस्तो सिधै माथि नगई यो पारामोटर सानो जहाज जस्तै रनवेमा गुडेर उड्ने (टेकअफ) र अवतरण (ल्यान्डिङ) गर्छ । यसका लागि कम्तीमा १५ मिटर समथर जमिन आवश्यक पर्ने थापाले बताए ।
पेट्रोलबाट चल्ने यस पारामोटरमा १४ लिटरको इन्धन ट्याङ्की रहेको छ । एक पटक फुल ट्याङ्की इन्धन भरेपछि यसले चारदेखि पाँच घण्टासम्म लगातार उडान भर्न सक्ने थापाको दाबी छ ।
“७५ केजी तौल भएको यो यन्त्रले आफ्नो तौलभन्दा तीन गुणा बढी अर्थात् २५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता राख्दछ,” थापाले टेकपानासँग भने, “पाइलटबाहेक नै १२० केजीभन्दा धेरै सामान बोक्न सक्ने भएकाले सामाग्री ढुवानीका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ ।”
यसको औसत गति प्रतिघण्टा ५० किलोमिटर छ भने आकाशमा ३,५०० देखि ४,००० फिटको उचाइसम्म पुग्न सक्छ ।
पारामोटरमा केही समस्या आएमा वा इन्जिन फेल भएमा तत्कालै प्यारासुट खुलेर सुरक्षित तरिकाले अवतरण हुने थापाले बताए । “यसको माथिल्लो भागमा प्यारासुट राखिएको हुन्छ । इन्जिन फेल हुने लगायतका केही समस्या देखिएमा तत्कालै प्यारासुट खुल्छ,” उनले भने । यस्तै, यात्रालाई सुरक्षित बनाउन हेल्मेट र सिट बेल्ट अनिवार्य गरिएको छ ।
यो पारामोटर तयार पार्न करिब २० लाख रुपैयाँ खर्च भएको उनले सुनाए । “विदेशबाट यस्तै क्षमताको पारामोटर आयात गर्दा ३५ देखि ४० लाख रुपैयाँसम्म पर्छ,” उनले भने, “नेपालमै निर्माण गर्दा यसको लागत झण्डै आधा कम भएको छ ।”
थापाले थपे, “इन्जिन, टायर र सिट जस्ता केही पार्टपुर्जाहरू विदेशबाट आयात गरिए पनि यसको समग्र स्ट्रक्चर र डिजाइन नेपालमै तयार पारिएको हो ।”
परीक्षण सफल भइसकेकाले अब पारामोटरलाई व्यावसायिक रूपमा अगाडि बढाउने थापाको योजना छ । उनले भने, “नेपालको साहसी पर्यटनमा यसको राम्रो सम्भावना देखिएको छ । समथर भूभाग र पहाडी क्षेत्रमा पनि यसको प्रयोग गर्न सकिन्छ । विशेषगरी पर्यटकीय क्षेत्रमा यसको व्यावसायिक विस्तार गर्ने योजना बनाएको छु ।”
हाल ‘फ्लाइङ नेपाल’ नामको कम्पनी खोलेर व्यावसायिक यात्राका लागि नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिने प्रक्रियामा छन् उनी । “दुई जना प्यासेन्जर क्षमता भएको पारामोटर अहिले नेपालमा एउटा मात्र छ । हामी यसको व्यावसायिक सञ्चालनको अनुमति लिएर तराई र पहाडी क्षेत्रमा नै यसको प्रयोग बढाउने गरी उत्पादन बढाउन र पाइलटहरूलाई तालिम दिने केन्द्रको स्थापना गर्न चाहन्छौँ ।”
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ २१:१८
