काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसको प्रकोपको समयमा अहिले अस्पतालहरुले सामना गरिरहेको सबैभन्दा ठूलो अभाव भनेको भेन्टिलेटरको हो । बिरामीहरुको श्वासप्रश्वास प्रणाली अवरुद्ध हुँदा भेन्टिलेटरले विरामीलाई कृतिम श्वासप्रश्वासमा मद्दत गर्छ ।
सामान्यतया यस्ता भेन्टिलेटरको मूल्य प्रति गोटा करिब ३० हजार डलर पर्छ । तर अहिलेको विश्व स्वास्थ्य संकटको समयमा भेन्टिलेटरको अभावले अबको निकट समयमा ठूलो आपत निम्त्याउने देखिन्छ । तर अहिले एउटा खुशीको खबर बाहिर आएको छ ।
एमआईटी अर्थात् अमेरिकास्थित म्यासाच्यूट्स इन्सटिच्यूट्स अफ टेक्नोलोजीका इन्जिनियर, फिजिशियन, कम्प्युटर वैज्ञानिक तथा अन्य केही जनशक्तिको एउटा स्वयम्सेवी टिमले भेन्टिलेटरको एउटा सस्तो, सुरक्षित, आपतकालिन प्रयोगका लागि विकल्प निर्माणको काम गर्दै छन् ।
यो चाँडै नै बनिसक्ने बताइएको छ । कोभिड-१९ को संक्रमण फैलिएपछि एउटा रेस्पोन्स टिमको रुपमा एमआईटी इभेन्ट नामको उक्त समूह १२ मार्चमा गठन भएको थियो ।
त्यसो त यो २.७५ मेडिकल डिभाइस डिजाइन परियोजना एक दशक अघि सुरु गरिएको थियो । तर बीचमा यो बन्द जस्तै अवस्थामा थियो । पछिल्लो समय कोभिड-१९ को महामारी फैलिएर अस्पतालमा उक्त उपकरणको अभाव हुन थालेपछि यो परियोजना पुनः सुरु हुन लागेको हो ।
भेन्टिलेटरको विश्व संकटको आंकल गर्दै यो टिम अहिले पुर्ण गतिमा उपकरण निर्माणको परियोजनामा फर्केको छ । यो उपकरण निर्माणका लागि एमआईटीका विद्यार्थीहरुले स्थानीय फिजिसियनहरुको डिजाइनबाट परामर्श लिइरहेका छन् ।
उनीहरुले एउटा साधारण भेन्टिलेटर बनाएका छन्, जसमा सय डलर मूल्यको पाटपूर्जाहरु प्रयोग भएका छन् । उक्त उपकरण निर्माणको डिजाइन र परीक्षणलाई समावेश गरेर विद्यार्थीहरुले पेपर पनि बनाई सकेका छन् ।
तपाईं हामीले अस्पतालमा सस्तो, साधारण भेन्टिलेरको विकल्प हातबाट सञ्चालन हुने प्लास्टिक पाउच ‘ब्याग–भल्भ रेस्विसिटेटर’ वा अम्बू ब्याग देख्दै आएका छौं । यस्ता ब्यागहरु अस्पतालमा प्रशस्त पाइन्छन् । दशकौं अघि यो पनि एमआईटीका विद्यार्थीहरुकै अन्वेषणको देन हो ।
अस्पतालको महंगो अनपोर्टेबल भेन्टिलेटरको राम्रो र सस्तो विकल्प हो त्यो । तर त्यसलाई मानव हातले म्यानुअल्ली चलाउनु पर्छ । श्वासप्रश्वासको समस्या भएको विरामीका लागि प्रयोग हुने त्यस्ता भेन्टिलेटरलाई थिचेर विमारीको फोक्सोमो एउटा ट्युवको माध्यमबाट हावा भर्नुपर्छ ।
यो काम गर्नका लागि एकदमै दक्षता र सीप चाहिन्छ । त्यो प्लास्टिक पाउचलाई कुन समयमा कसरी र कति थिचेर हावा भर्ने भन्ने कुरा जोकसैलाई ज्ञान हुँदैन । यसकारण यो ‘ब्याग–भल्भ रेस्विसिटेटर’ यो संकटको घडिमा प्रभावकारी ठानिएन ।
अब एमआईटीको यो नयाँ टिमले आफूले तयार पारेको नयाँ मेसिनलाई परीक्षण गरी यसलाई स्तरिकृत गर्दैछ । टिमले प्लास्टिक पाउचलाई थिच्ने तथा हावा छोड्ने सिस्टमलाई मेकानिल प्रणालीमा ढाल्ने तयारी गर्दैछ ।
एउटा मान्छेले यो मेसिनमा धेरै लामो समयसम्म सही प्रक्रियाले म्यानुअल्लीरुपमा काम गर्न सम्भव हुँदैन । यसकारण ब्यागलाई क्षति नपुग्ने र नियन्त्रणात्मक तरिकाले यो काम सम्पन्न गर्न अटोमेसन तथा मेकानिकल सिस्टमका साथ यो भेन्टिलेटरलाई रिफाइन गर्न अहिले एमआईटीको टिम अहोरात्र खटिएको छ ।
तर व्यक्तिको जीनवसँग जोडिएको यो संवेदनशिल उपकरणलाई आवश्यक क्लिनिकल ज्ञान तथा विज्ञता बिना कसैले पनि सञ्चालन गर्न सक्दैनन् । दुई हप्ताको अवधिमा एउटा भेन्टिलेसनमा राखिएको विरामीलाई सपोर्ट गर्न १० लाख साइकलको आवश्यकता पर्छ ।
भेन्टिलेटरहरु प्रिसिजन उपकरण भएको हुँदा यसलाई फल्ट टोलरेन्ट कोडहरुको आवश्यकता पनि पर्छ । यसकारण उपकरणको संवेदनशिलतालाई ध्यानमा राख्दै गलत सूचना फैलिन नदिन तथा यसको प्रयोगमा आवश्यक प्रशिक्षण तथा निरीक्षणलाई समेटेर सम्पूर्ण कुराहरु उक्त टिमले आफ्नो वेबसाइटमा निःशूल्क रुपमा राखेको छ ।
टिमले यी कुराहरु ती वर्गलाई लक्षितगर्दै राखेको हो, जसमा यो भेन्टिलेर उत्पादन गर्ने क्षमता त छ । तर आवश्यक क्लिनिकल ज्ञान र यसबारे विज्ञता छैन ।
‘हामी यसको डिजाइन तथा गाइडलाइन तयार गर्दैछाैं । यसमा क्लिनिकल, मेकानिकल, इलेक्ट्रिकल कन्ट्रोल तथा टेस्टिङ जस्ता कुराहरु समावेश हुनेछन्,’ टिमका एकजना सदस्यले भनेका छन्, ‘हामी सक्षम क्लिनिकल इन्जिनियरिङ टिमलाई उनीहरुकै स्थानीय संसाधनाट काम गर्न प्रेरित गर्छौं । प्रमुख फिचर र सुरक्षित जानकारीहरुलाई पालना गरेर बनाइएका जुनसुकै टिमको इन्पुटलाई पनि हामी स्वागत गर्छाै ।’
अनुसन्धाकर्ताहरुका अनुसार यो कुनै आफै गरेर सक्नुपर्ने किसिमको परियोजना भने होइन । यसमा अमेरिकी खाद्य तथा औषधी प्रशासनको निर्देशिका र स्पेशिफिकेसनहरुको पालना गर्नुपर्छ ।
यो भेन्टिलेटर नयाँ टिमले सय डलरमा बनाउनु पर्नेछ । यसका लागि एमआईटीले आफ्नो वेबसाइटमा फ्री अनलाइन गाइडलाइन तथा स्पेसिफिकेसन उपलब्ध गराउनेछ ।