close

नेपालमा अनलाइन कक्षाः कति सम्भव ?

रन्जन कोइराला रन्जन कोइराला

बैशाख १४, २०७७ १४:४४

नेपालमा अनलाइन कक्षाः कति सम्भव ?

काठमाडौं । शुक्रबार नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एउटा सूचना जारी गर्‍यो । सूचना थियो, अनलाइन कक्षा सञ्चालनको ।

‘विद्युतीय माध्यमबाट कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ नै तयार पारेर टीयुले उक्त सूचना जारी गरेको छ । जसले त्रिविका सबै आंगिक क्याम्पस, स्कूल, विभाग तथा सम्बन्धन प्राप्त क्याम्पसलाई प्रयोगात्मक बाहेकका सबै कक्षा अनलाइनबाटै सञ्चालन गर्न बाटो खोलिदिएको छ ।

अनलाइन कक्षाको सन्दर्भमा त्रिविको यो अग्रसरता खासै नयाँ प्रयोग भने होइन । कोरोनाका कारण देश लकडाउनमा गएसँगै नेपालमा विभिन्न विश्वविद्यालय, क्याम्पस तथा विद्यालयमा डिजिटल तथा अनलाइन शिक्षाको अभ्यास र प्रयोग बढिरहेको छ ।

अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न प्रविधि नेपालकै कम्पनीहरुले समेत विकास गरेका छन् । विभिन्न शैक्षिक संस्थाले त्यस्ता स्थानीय प्रविधिको प्रयोग गर्दै पनि आएका छन् ।

काठमाडौं विश्वविद्यालयले यस अघि नै त्यस्तो प्रविधि प्रयोगमा ल्याइसकेको छ । पूर्वाञ्चल विश्वविद्यालयले पनि केही कक्षा अनलाइनबाटै सुरु गरिसकेको छ ।

यस्तोमा त्रिविले पनि यसलाई पछ्याउनु स्वभाविक पनि थियो । कोरोनभाइरसको महामारीबाट गुज्रिरहेको अवस्थामा ठूलो क्षति व्यहोरिरहेका शैक्षिक क्षेत्रमा यसले पक्कै पनि केही राहत दिनेछ ।

तर, यस अघि भने नेपालमा डिजिटल शिक्षाको प्रयोग त्यतिसाह्रो भएको देखिदैन । प्रयोग मै नआएको शिक्षालाई आत्मसाथ गर्न हामी कति तयार छौं भन्ने विषय आफैमा एउटा पेचिलो प्रश्न हो ।

त्यसैले त, त्रिविले सूचना जारी गरेसँगै सकारात्मक र नकारात्मक दुवै कोणबाट प्रश्नहरु उठ्न थालेका छन् । सकारात्मक यस अर्थमा कि नेपालकै सबैभन्दा पुरानो विश्वविद्यालयले प्रविधिको आत्मसाथ गर्‍यो र त्यसलाई औपचारिक मान्यता दिन तयार भयो ।

तर, सँगसँगै नकारात्मक प्रश्नहरु पनि खडा भएका छन् । के हामी पूर्वाधारको हिसाबले त्यसका लागि तयार छौं ? अनलाइन कक्षाको लागि सुरक्षा प्रणाली कति मजबूत छ ?

के सबै विद्यार्थी त्यसमा सहभागी हुन सक्लान् ? अझ त्यसभन्दा पनि महत्वपूर्ण कुरा के ब्ल्याक बोर्डमा चकले लेखेर पढाउँदै आएका शिक्षक तथा प्राध्यापकले एकाएक भिडियो कन्फ्रेन्समार्फत अन्तक्रियात्मक रुपमा पढाउन सक्छन् ?

यस हिसावले अनलाइन शिक्षाका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न पूर्वाधार र सिपसँगै जोडिएको छ । शुक्रबार सूचना प्रविधि विज्ञ राजिव सुब्बाले त्रिभुवन विश्वविद्यालय अन्तर्गत वातावरणीय विज्ञान विभागमा भिजिटिङ प्रध्यापकको रुपमा अनलाइन कक्षा सञ्चालन गर्दाको अनुभव सुनाए ।

‘यसअघि पनि मैले निजी विश्वविद्यालय तथा क्याम्पसमा यसरी नै कक्षा सञ्चालन गरिसकेको छु । सम्भव नहुने भन्ने होइन । तर, त्रिविको कक्षा चाहिँ अलि फरक रह्यो । कक्षमा रामेछापदेखि महेन्द्रनगरसम्मका विद्यार्थी जोडिएका थिए । बाहिर हुनेले मोबाइलमा र काठमाडौंमा हुनेले ल्यापटपबाट कक्षामा सहभागी भए ।’

रामेछापका विद्यार्थीको पृष्ठभूमिमा डाँडाकाडाँ देखिएका थिए । कोठामै बसेर पढ्नपर्ने विद्यार्थी डाँडाकाँडामा किन त ? वास्तवमा त्यहाँ मोबाइल नेटवर्कको समस्या थियो । घरमा अनलाइन कक्षामा सहभागी हुन पुग्ने क्षमताको नेटवर्क नभएपछि ती विद्यार्थी डाँडा चढेका थिए ।

आखिर जेजसो रुपमा भए पनि विद्यार्थीले सहाभागीता जनाए र कक्षा सञ्चालन भयो । त्योभन्दा पनि अनलाइन कक्षा आजको आवश्यक्ता भएको त्रिविले आत्मसाथ गर्‍यो । यसप्रति सुब्बा खुशी प्रकट गर्छन् ।

फोटो : सूचना प्रविधि विज्ञ राजिव सुब्बाकाे फेसबुक वालबाट ।

तर, के सुब्बाको कक्षामा सहभागी रामेछापका ती विद्यार्थी जस्तै डाँडामा चढेर भएपनी कक्षामा सहभागी हुन सक्ने सम्भावना हाम्रो देशका सबै स्थानमा छ ? नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विज्ञ आनन्दराज खनाल अनलाइन कक्षा सञ्चालनका लागि दुई वटा आधारभूत आवश्यक औँल्याउँछन् ।

पहिलो पूर्वाधार । जसमा सबै शिक्षक र विद्यार्थीको पहुँचमा ब्रोडब्याण्ड इन्टरनेट हुनुपर्‍यो । ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्न आवश्यक डिभाइसप पनि विद्यार्थीसँग हुनु पर्‍यो ।

दोस्रो क्षमता अर्थात सीप । अनलाइनबाट कक्षा सञ्चालन गर्न र त्यसमा सहभागी हुन सीप आवश्यक छ । त्यसैले अनलाइन कक्षा सञ्चालनका लागि यी दुवै पूर्व शर्त हुने खनालको तर्क छ ।

नेपालको परिवेशमा न शैक्षिक संस्थासँग यो तहको क्षमता छ न त सबै विद्यार्थीसँग ब्रोडब्याण्ड इन्टरनेट र आवश्यक उपकरणको पहुँच । ‘यसको अर्थ गर्नै नसकिने भन्ने पनि होइन्,’ खनाल भन्छन्, ‘प्रविधिले हरेक कुरालाई सम्भव बनाउँछ । तर, त्यसको प्रयोग गर्ने क्षमता हामी राख्छौं कि राख्दैनौ भन्ने हो ।’

यसमा सुब्बाको भनाई पनि उस्तै छ । उनी भन्छन्, ‘खाममा किताब राखेर पढाइने दूर शिक्षा सम्भव थियो भने मोबाइलबाट हुने शिक्षा सम्भव नहुने भन्ने हुँदैन । प्रविधिलाई बुझ्न सकेको खण्डमा सम्भव छ । त्यसैले अब राज्य नै यसको प्रवर्द्धनमा लाग्नुपर्छ ।’

भिडियो मार्फत सञ्चालन हुने कक्षा प्राविधकले अन्तरक्रियात्मक बनाउन सम्भव छ । खनाल भन्छन्, ‘तर, शिक्षकले कक्षालाई प्रविधिको प्रयोग गरी अन्तरक्रियात्मक बनाउन सक्छन् कि सक्दैनन् भन्ने चाहिँ हो । भिडियोमा बोलेको भरमा मात्रै कक्षा अन्तक्रियात्मक हुने होइन । विभिन्न स्लाइड, भिडियो, अडियो, फोटो बनाएर उक्त सामग्रीलाई स्क्रिनमा डिस्प्ले गर्न सक्नेसम्मको क्षमता आवश्यक पर्छ । के त्यो क्षमता हामीसँग छ ?’

कतै कक्षा सञ्चालन गर्दागर्दै लाइन गयो, अथवा इन्टरनेट कनेक्सन काटिय भने त्यसको विकल्प छनोट गरी तुरुन्तै कक्षालाई निन्तरता दिनसक्ने क्षमता पनि आवश्यक पर्छ । त्यसका लागि कि त विद्यार्थी र शिक्षक दुवैलाई सुरुमै त्यही अनुसारको तालिमको व्यवस्था गर्नसक्नु पर्‍यो ।

अझ त्यसभन्दा पनि महत्वपूर्ण कुरा सुरक्षाको छ । अनलाइनमार्फत कक्षा सञ्चालन गर्दा प्रयोग हुने प्रविधि कति सुरक्षित छ त ? यदि जूमका प्रयोगकर्ताको जानकारी ह्याक गरी ह्याकरले उपलब्ध गराए जस्तै हाम्रा विद्यार्थीको जानकारी चोरी भएमा के गर्ने ?

त्यसका लागि के विश्वविद्यालय तयार छन् त भन्ने अघिकै प्रश्न नै चुनौतीको विषय भएको खनालको बुझाई छ । खनालले उठाएको सुरक्षा विषय पनि जायज नै छ । किन भने, केही समय अघिमात्रै ह्याकरले त्रिविका प्रध्यापकहरुको जानकारी सार्वजनिक गरेकाे थियो । त्यतिमात्रै नभएर विश्वविद्यालयको वेबसाइटमा वेबसाइट सुरक्षाको लागि राखिने एचटीटीपीएसको प्रमाणीकता आधिकारीक समेत भएको छैन ।

खनालले उठाएका प्रश्नको जवाफ विश्वविद्यालयहरु आफै पनि खोजिरहेका छन् । पूर्वाञ्चल विश्वविद्यालय (पीयू) की रजिस्टार प्रमिला थापा आफूहरुले मास्टर र एमफिलका केही कक्षा अनलाइनमार्फत सञ्चालन गरिरहेको बताइन् । उनले भनिन्, ‘शुक्रबार सबै संकायले सम्भव भएसम्म प्रयोगात्मक बाहेकका कक्षा सञ्चान गर्न सूचना समेत जारी गरिसकेका छौं ।’

तर, प्रविधिको हिसाबले पूर्णरुपमा तयार नभएकै कारण समस्या आइरहेको उनी बताउँछिन् । ‘एक्कासी यस्तो अवस्था सिर्जना भएको छ । जसले शिक्षक तथा विद्यार्थी दुवै आत्मसाथ गर्ने अवस्थामा देखिएका छैनन्,’ उनी भन्छिन्, ‘सबै विद्यार्थी सुगमा छैनन् । कोही गाउँमा छन्, जहाँ राम्रो इन्टरनेट छैन, आवश्यक उपकरण छैनन् ।’

उनीहरुलाई कसरी जोड्ने भन्ने चुनौती देखा परेकाे थापा बताउँछिन् । यस्तो चुनौतीलाई राजिव सुब्बा पनि स्वीकार गर्छन् । उनी भन्छन्, ‘चुनौती गाउँमा भएका विद्यार्थीलाई कसरी जोड्न भन्ने नै हो । यसका लागि अबका दिनमा सरकारले ध्यान दिनुपर्छ । दूरसञ्चार सेवाप्रदायकले मोबाइल इन्टरनेट, त्यसमा पनि फोरजीलाई जतिसक्दो छिटो विस्तार गर्न आवश्यक छ ।’

यसका लागि फोरजी सेवा गाउँगाउँसम्म पुर्‍याउनु पर्नेछ । विद्यार्थीको हकमा सेवाप्रदायकले थोरै मूल्यमा डेटा प्लान उपलब्ध गराउने नीति सरकाले लिनु पर्‍यो । यदि कुनै विद्यार्थीले आफ्नो विद्यार्थी परिचयपत्र देखाउँछ भने उसलाई सहुलियतमा डेडा उपलब्ध गराउने व्यवस्था गर्ने हो भने तिन घण्टाको कक्षा सञ्चालनको लागि कुनै समस्या नभएको सुब्बा बताउँछन् ।

‘यही बेला हो, दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गर्नुपर्ने,’ सुब्बा भन्छन्, ‘विद्यार्थीलाई कुनै भार नपरोस भनेर प्राधिकरणले कोषको रकम खर्च गरेर विद्यार्थीलाई सहुलियत प्रदान गर्न सक्नुपर्ने हो ।’

तर, सुब्बाले प्रयोगकाा लागि औल्याएको ग्रामीण दूरसञ्चार विकास कोषको रकममा सरकारले आँखा गाडिसकेको छ । मन्त्रीपरिषदबाट निर्णय गराएरै कोषमा रहेको १६ अर्ब रुपैंया सरकारको खातामा तान्ने तयारी अन्तिम चरणमा छ ।

गाउँगाउँमा इन्टरनेट पुर्‍याउने उद्देश्यका साथ स्थापना गरिएको उक्त कोषको रकम सरकाले नै राजश्व लक्ष प्राप्त गर्ने नाममा दूरुपयोग गर्दैछ । इन्टरनेटसँग अर्को माध्यम अर्थात प्रयोग गर्ने डिभाइसको समेत चुनौती छ ।

सरकारले विद्यार्थीका हकमा सहुलियत दरमा ल्याटपट किन्न सकिने व्यवस्थापन गरिदिन सक्छ । कतिपय देशमा सरकाले यस्तो सेवा उपलब्ध गराइरहेका पनि छन् । अर्को रेडियो प्रयोग गरेर पनि कक्षाको जानकारी दिन सकिन्छ ।

कक्षामा भएको पढाईलाई कुनै एउटा समयमा रेडियोमा दिने अर्को विकल्प हुनसक्छ । त्यसका लागि सामुदायिक रेडियोलाई सुदुपयोग गर्न सकिन्छ । तत्कालको अवस्थामा अनलाइन कक्षामा सहभागी हुन नसक्नेलाई कक्षामा पढाइएका विषयमा पछि पहुँच दिने सुविधा त छ ?

यदि त्यसको विकल्प तयार पार्ने हो भने उनीहरुले आफूलाई पायक परेको समयमा लगईन गरेर उक्त कक्षा हेर्न सक्छन् । यसमा कक्षामा प्रत्यक्ष सहभागी गराउन नसकिने भन्ने हुनसक्छ । यदि अनलाइन जोडिन नसक्नेलाई ईमेल अथवा रेडियोमार्फत जोड्ने हो भने अनलाइन कक्षा सञ्चालन गर्न सम्भव छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३