close

ह्वावेमाथिको प्रतिबन्धको फाइदा उठाउँदै ओप्पो

टेकपाना टेकपाना

जेठ ८, २०७७ १९:५७

ह्वावेमाथिको प्रतिबन्धको फाइदा उठाउँदै ओप्पो

काठमाडौं । आफ्नो नयाँ ह्याण्डसेट फोनमा गूगल एप र सर्भिसहरु राख्न नपाउँदा चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले अन्तर्राष्ट्रिय बजारमा ठूलो चुनाैतीको सामना गरिरहेको छ । तर यसले ह्वावेका चिनियाँ प्रतिस्पर्धी कम्पनीहरुलाई भने विदेशी ग्राहकहरुमाझ सेवा विस्तार गर्न प्रशस्त ठाउँ खाली भने गरिदिएको छ । 

यसैबीच भीभोको भगिनी ब्राण्ड ओप्पोले सोमबार नयाँ घोषणा गरेको छ । ओप्पोले मोबाइल क्यारियर युरोपेली बजारमा आफ्ना स्मार्टफोन पुर्‍याउन भोडाफोनसँग साझेदारी गरेको छ । 

दुई कम्पनीले यही मेमा त्यस्तो सम्झाैता गरेका हुन । जस अन्तर्गत ओप्पोका पोर्टफोलियो एड्भान्स फाइभजी ह्याण्डसेट तथा भ्याल्यु फर मनी मोडेलहरु वेलायत, जर्मन, नेदरल्याण्ड, स्पेन, पोर्चुगल, रोमानिया र टर्की जस्ता युरोपेली मुलुकहरुमा बिक्री हुनेछन् ।  

अमेरिकी प्रतिबन्धपछि गत वर्ष भोडाफोनले वेलायतको फाइभजी नेटवर्कबाट ह्वावेलाई हटाएको थियो । अब भोडाफोनले फाइभजीमा जान चाहने प्रयोगकर्ताहरुका लागि युरोपेली मुलुकमा ओप्पोका मोबाइल फोनहरु पुर्‍याउनेछ ।

कोभिड १९ का कारण युरोपमा स्टोरहरु बन्द भएको अवस्थामा यो साझेदारीले अब संयुक्त रुपमा अनलाइन बिक्रीको माध्यम पनि पहिल्याउँदैछ ।

ओप्पो ह्वावेपछिको चीनकै ठूलो स्मार्टफोन निर्माणकर्ता ब्राण्ड हो । २०१८ को मध्यतिर युरोपेली बजारमा प्रवेश गरेयता कम्पनीको बिक्री युरोपभर उकालो लागिरहेको छ । 

ओप्पोले गत वर्ष युरोपमा व्यवसायीक रुपमा पहिलोपटक फाइभजी फोन उपलब्ध गराउन थालेको थियो । हाल युरोपमा यो फोनले दुई प्रतिशत बजार ओगट्दै उक्त महादेशमा १५औं स्थानमा रहेको छ ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३