close

७० प्रतिशतले नाफा घटेपछि १४ हजार कर्मचारीलाई निकाल्दै नोकिया

टेकपाना टेकपाना

कात्तिक ३, २०८० १७:१५

७० प्रतिशतले नाफा घटेपछि १४ हजार कर्मचारीलाई निकाल्दै नोकिया

काठमाडौं । लगातार आम्दानी घट्न थालेपछि नोकियाले १४ हजार कर्मचारीको निकाल्ने भएकाे छ । तेस्रो त्रैमासिक आम्दानीमा गिरावट आएपछि लागत घटाउने योजनाका साथ बिहीवार कम्पनीका सीईओ पेक्का लन्मार्कले विज्ञप्ति निकाल्दै कर्मचारी कटौती गर्न लागेको घोषणा गरेका हुन् ।

फिनल्याण्डको दूरसञ्चार कम्पनी नोकियाले कर्मचारी कटौती गर्दा लागतको आधार घट्ने र चुनौतीपूर्ण बजारलाई सम्बोधन गर्न सकिने अपेक्षा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीका अनुसार कम्पनीले आफ्नो लागत आधारलाई कूल आधारमा २०२३ देखि ८०० मिलियन यूरो र २०२६ को अन्त्यमा एक अर्ब २० करोड युरोको बीचमा घटाउने लक्ष्य राखेको छ ।

यसको अर्थ उक्त समयमा कम्पनीमा भएका कूल ८६ हजार कर्मचारीबाट घटाएर ७२ हजारदेखि ७७ हजार पुर्‍याउनेछ । नोकियाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तेस्रो त्रैमासिकमा कम्पनीको कूल बिक्री गत वर्षको तुलनामा २० प्रतिशतले घटेको थियो । यसलाई रकममा हेर्ने हो भने चार अर्ब ९८ करोड युरो हुन जान्छ । त्यस्तै बिक्री घट्दा सोही अवधीमा कम्पनीको नाफा ६९ प्रतिशत अर्थात् १३ करोड ४० लाख युरोले घटेको छ ।

सीएनबीसीका अनुसार गत वर्ष नोकियाको प्रतिद्वन्द्वी एरिक्सनले खर्च कटौती गर्नका लागि साढे आठ हजार कर्मचारी निकाल्ने घोषणा गरेको थियो । विश्वव्यापी रूपमा बढ्दै गएको आर्थिक मन्दी र मोबाइल अपरेटरहरूले गरेको पूर्वाधार खर्च कटौतीबाट विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्माताहरू मध्येको एक नोकिया पनि प्रभावित छ । 

नोकियाले सबैभन्दा बढी आम्दानी मोबाइल नेटवर्कको व्यवसायबाट कमाउँछ । त्यसमा पनि कम्पनीको आम्दानी यो वर्ष २४ प्रतिशतले घटेको सीएनबीसीले उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८० १७:१५