close

शिक्षामन्त्री श्रेष्ठले गिटहबमा राखेको कोडमा के छ ? कसरी गर्छ काम ?

बैशाख ११, २०८१ २०:४७

शिक्षामन्त्री श्रेष्ठले गिटहबमा राखेको कोडमा के छ ? कसरी गर्छ काम ?

मैले केही दिनअघि सामाजिक सञ्जालमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले गिटहब अकाउन्ट शेयर गरेको देखेको थिएँ । उक्त अकाउन्टबाट एउटा सोर्स कोड सार्वजनिक गरिएको थियो । त्यो कोडलाई ‘सेन्टर रेन्डमाइज्ड’ नाम दिइएको छ । 

यो सोर्स कोड खासमा विद्यार्थीको जाँचका लागि ‘एक्जाम सेन्टर’ (परीक्षा केन्द्र) तोक्ने कोड रहेछ । शिक्षामन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत ‘यो परिक्षा केन्द्र तोक्ने पाइलट प्रोजेक्ट हो' भनेकी छन् । यस कोडबाट सञ्चालन हुने सफ्टवेयरले सुरुवाती चरणमा काठमाडौंका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित रूपमा छान्ने उनको भनाइ छ । 

सफ्टवेयरले परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरू निरुत्साहित हुने र विद्यार्थीको हैरानी पनि कम हुने मन्त्री श्रेष्ठको दाबी छ । 

अहिले म्यानुअल्ली यो विद्यालय यो ठाउँमा छ, यसमा यति विद्यार्थी अट्छन् भन्ने हिसाब गरेर परीक्षा केन्द्र तोक्ने प्रवृत्ति छ । त्यसो हुँदा समय र जनशक्ति बढी खपत भइरहेको हुन्छ । त्यति सिस्टम्याटिक पनि हुँदैन । त्यसैले यो प्रविधिले समय समय र जनशक्ति खपत कम गराउने अपेक्षा गरिएको छ । 

आज म यहाँ यो कोड कसरी लेखिएको छ र यसले फरक-फरक परीक्षा केन्द्र छान्न कसरी काम गर्छ भन्ने विषयमा चर्चा गर्दैछु:  

के छ सोर्स कोडमा ?

यो सोर्स कोड पाइथन ल्याङ्ग्वेजमा लेखिएको छ । यस कोडले काठमाडौंका विभिन्न विद्यालयका लागि विभिन्न परीक्षा केन्द्र आफैले र्‍यान्डम्ली तयार पारेर दिन्छ । र, परीक्षा केन्द्र दुई किलोमिटरभित्रको रेन्जमा दिन्छ ।

यो सोर्स कोड अहिले कक्षा १२ का लागि राखिएको छ । यसको बारेमा विस्तृतमा भिडिओबाट पनि मैले व्याख्या गरेको छु । यसमा डेभलपरले कन्ट्रिब्युट गरिरहने हुनाले सधैं त्यही कोड नहुन सक्छ । यसको कोड परिवर्तन भए पनि लोजिक चाहिं त्यही हुन्छ ।

यो कोडलाई मेरो कम्प्युटरको भीएस कोडमा ल्याएर आएँ । सबै फाइलहरू सफ्टवेयरमा राखेँ । यसको सबै स्याम्पल डेटा यहाँ आइसकेको छ । यहाँ सीएस कोड, क्यापासिटी, स्कुलको नाम, ठेगाना, ल्याटिट्युड र लङ्जिच्युड राखिएको छ । यसरी सबै सेन्टरको डेटा राखिएको छ । 

त्यस्तै अर्को फाइलमा त्यहाँ कति विद्यार्थीहरूले परीक्षा दिंदै छन् उनीहरूको सङ्ख्या राखिएको छ । यो कोडलाई भीएस कोडमा रन गर्दा यसले एउटा अर्को फाइल दिन्छ । त्यो फाइलमा कुन विद्यालयको विद्यार्थी कुन परीक्षा केन्द्रमा पर्ने भयो भन्ने आउँछ ।

अब यहाँ काठमाडौंको बर्नहार्ट स्कुलका लागि परीक्षा केन्द्र ग्रिनफिल्ड नेसनल सेकेन्डरी स्कुल, ज्ञानोदय सेकेन्डरी स्कुल, रिचमन्ड एकेडेमी सेकेन्डरी स्कुल र एडमार्क एकेडेमी सेकेन्डरी स्कुल राखेको छ । कुन विद्यालयमा कति विद्यार्थी राख्ने भन्ने पछाडि लेखिएको छ । 

यी स्कुलहरू बर्नहार्ट स्कुलभन्दा ३०० मिटरदेखि १.१ किलोमिटर टाढा छन् । यसरी सबै विद्यालयका लागि उपयुक्त परीक्षा केन्द्रको सूची तयार भएको छ ।

त्यस्तै सबै विद्यालयको परीक्षा केन्द्र तोकिसकेपछि कुन विद्यालयमा कति सिट खाली छ भन्ने जानकारी पनि यहीँ देखिन्छ । यसमा एक पटक स्क्रिप्ट चलाएपछि सबै विद्यालयको परीक्षा केन्द्र तयार हुने भयो । 

यो कोडले कसरी लेखिएको छ, अनि कसरी काम गर्छ ?

यदि तपाई डेभलपर हुनुहुन्छ भने यो स्क्रिप्ट सामान्य नै हो । कोडमा सबैभन्दा पहिले कति दूरीसम्मको स्कुल छान्ने भन्ने थ्रेसहोल्ड राखिएको छ । त्यसमा प्रिफर्ड डिस्टेन्स थ्रेसहोल्ड दुई र एब्सुलुट डिस्टेन्स थ्रेसहोल्ड सात राखिएको छ ।

न्यूनतम् १० जना विद्यार्थी राख्नुपर्ने भनिएको छ । यहाँ प्रेफ कटअफ-फोर राखिएको छ । यो भनेको प्रेफ स्कोर कटअफभन्दा कम छ भने उक्त विद्यालयका लागि परीक्षा केन्द्र नतोक्न भनिएको छ ।

त्यसका लागि यहाँ प्रेफ टीएसभी फाइल छ । किन नतोक्ने भन्ने कारण त्यहाँ राखिएको छ । विवादास्पद इतिहास भएको वा एउटै व्यवस्थापन छ भने नतोक्ने भनिएको छ ।

त्यस्तै स्कुल सेन्टर डट पीवाई फाइलमा म्याथ सम्बन्धी काम गर्नका लागि मोड्युल इम्पोर्ट गरिएको छ । सीएसभी फाइलको काम गर्नका लागि सीएसभी छ । र्‍यान्डम्ली भ्यालु जेनेरेट गर्नका लागि र्‍यान्डम युज गरिएको छ । अब आर्गुमेन्ट पाथ पनि छ । त्यो भनेको तपाईंले कमान्ड लाइनबाट आर्गुमेन्ट लिएर त्यसलाई पास गर्ने काम गर्नका लागि कोड दिइएको छ । यी सबै काम गर्नका लागि तल फङ्सन राखिएको छ । 

यसमा ह्याभर्साइन डिस्टेन्स भन्ने छ । यो भनेको प्रत्येक स्कुलमा ल्याटिट्युड र लङ्गिच्युड छ । यो सेन्टरको पनि ल्याटिट्युड र लङ्गिच्युड छ । अघि भनेको जस्तै एउटा विद्यालयको सेन्टर दुई किलोमिटरभित्र राख्दैछौं । ह्याभर्साइन डिस्टेन्स भन्ने एउटा फर्मुला हो । त्यसलाई विभिन्न ठाउँको ल्याटिट्युड र लङ्गिच्युड दिनुभयो भने ती ठाउँबीचको दूरी कति छ भन्ने हिसाब दिन्छ । त्यसैका लागि एउटा फङ्सन बनाइएको छ । 

यसले ल्याटिट्युड र लङ्गिच्युड लिन्छ अनि त्यही अनुसार राखिएको फर्मुला प्रयोग गरेर दुई विन्दुबीचको दूरी कति छ त्यो राखिरहेको छ । अर्को सेन्ट्स विथइन डिस्टेन्स भनिएको छ । यसले फर्मुलाले दिएको दूरी र थ्रेसहोल्डमा राखिएको दूरी विश्लेषण गर्छ । अनि, थ्रेसहोल्ड दूरीमा पर्छ कि पर्दैन भन्ने उत्तर दिन्छ । 

यसबाट कुनै एउटा विद्यालयका लागि परीक्षा केन्द्र कुन कुन हुन सक्छन् र त्यसबाट कसलाई प्राथमिकता दिएर तयार पार्ने भन्ने उत्तर आउँछ । यसरी यो सोर्स कोडले सिस्टम्याटिक तरिकाले परीक्षा केन्द्र छान्न मद्दत गर्छ । 

यो मन्त्रालयले गरेको राम्रो पहल हो । सरकारले यो प्रोजेक्ट ओपन सोर्स गरिदिएको छ । जसले गर्दा यो जोकोहीले एक्सेस गर्न पाउँछ । यस्ता पहललाई निरन्तरता दिनुपर्छ भन्ने लाग्छ मलाई ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ २०:४७