close

इजी ट्याक्सी एप प्रयोग गर्दा ट्याक्सी चालकलाई कोरोना बीमा निःशूल्क

टेकपाना टेकपाना

असार २८, २०७७ ९:५

इजी ट्याक्सी एप प्रयोग गर्दा ट्याक्सी चालकलाई कोरोना बीमा निःशूल्क

काठमाडौं । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोना बीमा गरिदिने भएको छ । कोरोना महामारीलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमाको व्यवस्था गरेको हो ।

यस योजनाअन्तर्गत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरेको हुनुपर्नेछ भने आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आवद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ ।
यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्छन भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् ।

यो एपमा चालक तथा यात्रुलाई सुरक्षित अनुभूति गराउन म्यानुअल दर्ताको व्यवस्था गरिएको छ । कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुराको जानकारी यात्रुको मोबाइल एपमै प्राप्त हुनेछ । साथै ट्याक्सी चालकले पनि यात्रुलाई कुन स्थानबाट कहाँ पुर्‍याउने भन्ने विषय समेत सहजै दर्ता गर्न सक्नेछन् ।

यसबाट चालक तथा यात्रु दुवै सुरक्षित हुनुका साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफू चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।

यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । त्यसका लागि आवश्यक विवरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ ।

अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै ट्याक्सी सेवालाई सहजरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने कम्पनीको भनाई छ । इजी ट्याक्सी नेपालका अध्यक्ष संजीत पौडेलले देशभर जारी लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमाको अफर ल्याइएको बताए ।

‘भर्खरै सीमित संख्यामा ट्याक्सी चल्न थालेका छन् र यात्रुहरुलाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ,’ उनले भने, ‘कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कसँग सेवा दिनसक्ने वातावरण बन्नेछ ।’

यसका साथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत मिलाएको छ । जसअन्तर्गत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७०० रुपैयाँदेखि ८,७६५ रुपैयाँसम्मको छूट उपलब्ध गराउने छ ।

यसैबीच ट्याक्सीको बीमा अवधि सकिएका वा सकिन लागेका ट्याक्सी व्यवसायीहरुले ट्याक्सी बीमा नवीकरण गराउन इजी ट्याक्सी नेपाल एपको कार्यालय तिनकुने सुविधानगरमा सम्पर्क गर्न सक्नेछन् । ट्याक्सी व्यवसायलाई व्यवस्थित, मर्यादित, भरपर्दो तथा सुरक्षित तरिकाले संचालन गर्दै आएको इजी ट्याक्सीको एप गूगलको प्ले स्टोर तथा एप्पल एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३